पोखरा, ३१ साउन । तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटे तमु धिं नेपालको आयोजनामा मंगलवार पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । पोखरा १ बगर टुडिखेलबाट शुरु भएको प्रतियोगितात्मक ट्होटें र्यालीमा फूलवारी तमु समाज प्रथम हुदै पुरस्कृत भएको छ । प्रथम भएको फूलवारी तमु समाजले १५ हजार, ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत भएको हो । यस भन्दा अघि सबै भन्दा बढी करिब १२ पटक फूलवारी तमु समाज सर्वोत्कृष्ठ हुदै पुरस्कृत भइसकेको छ ।

प्रतियोगितामा दुधपोखरी तमु समाज दोश्रो, चिउली पार्चे तमु समाज तेश्रो हुदै क्रमश १० र ५ हजार रुपैयासहित ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत बन्यो । यसरी नै युवा सहभागीतामा जोगीमणी तमु समाज उत्कृष्ठ हुदै ५ हजार रुपैयासहित पुरस्कृत भयो । यसैगरी बगर तमु समाज, सुर्यमुखी तमु समाज र सिमपानी तमु समाजले सान्त्वना स्थान हासिल गर्दै जनही तीन हजार रुपैयासहित पुरस्कृत भयो ।

यसरी नै घाँटु र झोडासहित सहभागी कोल्माबहाकोट तमु समाज र आँधीखोला तमु समाजलाई जनही दुई हजार रुपैयासहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको नतिजाको घोषणा मूल्यांकन समितिका संयोजक तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी तमुले गर्नुभएको थियो । समितिको सदस्यहरुमा डा.दीर्घमान तमु, सुमे श्रीप्रसाद तमु र श्रीजंग तमु रहनु भएको थियो ।

विजेता समाजहरुलाई विशेष अतिथी कास्कीका प्रमुख जिल्ला अध्यक्ष तारानाथ अधिकारी, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी तमु लगायतले पुरस्कृत गर्नुभएको थियो ।
प्रथम पुरस्कार आरएमसी पोखरा, दोश्रो पुरस्कार माउण्टेन ओभरल्याण्ड टुर्स एण्ड ट्राभल्स, तेश्रो पुरस्कार सँस्कृतिकर्मी बुद्धिमान धम्पु, युवा सहभागीता पुरस्कार गुरुङ चलचित्र मुर्बै मुसारा र सान्त्वना पुरस्कार पोखरा १० मिलन मार्गका राजु गुरुङ, बालविद्या मन्दिर बोर्डिङ स्कुल र स्टार्स स्टुडियोकी जसु तमुले प्रायोजन गर्नुभएको साँस्कृतिक संयोजक मेनकाजी तमुले जानकारी दिनुभयो ।

यसैविच ट्होटे समारोहमा सगरमाथा आरोही तमु चेलीहरु संखुवासभाकी भुमिका तमु र गोरखा गुम्दाकी नानुमाया तमुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

LEAVE A REPLY