१३ बैशाख, काठमाडौं । सरकारले हरेक वर्ष संविधान दिवस, दशैं र गणतन्त्र दिवसमा केही कैदीहरुको कैद मिनाहा गरी रिहा गर्छ । ०७३ सालको संविधान दिवस र दशैंमा यसरी क-कसलाई रिहा गरियो भनेर हामीले खोज्यौं ।

 

विवरण पत्ता लगाउन सहज भएन । अन्त्यमा हामीले सूचनाको हक प्रयोग गरेर गृह मन्त्रालयमा निवेदन दर्ता गर्‍यौं । त्यसपछि मन्त्रालयले अनौपचारिकरूपमै हामीलाई यो विवरण उपलब्ध गरायो ।

हामीले प्राप्त गरेको विवरणमा ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएको व्यक्तिसमेत ८ वर्षमै रिहा भएको भेटियो । उदाहरण हुन्, इलाम शान्तिपुर-६ का रणदीप गुरुङ ।

गुरुङलाई ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७० बैशाखमा २० वर्ष जेल सजायँ हुने फैसला गरेको थियो । २४ भदौ ०६५ मा जेल परेका गुरुङ कैदी पुर्जीमा उल्लेख भएअनुसार २०८५ भदौमा छुट्नुपर्ने थियो । तर, उनी ११ वर्ष ११ महिना २२ दिन बाँकी छँदै ३ असोज ०७३ मा इलाम कारागारबाट रिहा भए ।

गुरुङ अपवाद होइनन्, यस्तै गम्भीर अपराधको कसुरमा अदालतले तोकेको कैद अवधिको आधा समय पनि कारागार नबसी रिहा हुने १०१ जना भेटिएका छन् । उनीहरुको विवरण यस्तो छः

१. ज्वलन भन्ने हर्कमान राईः (आमचोक-६ इलाम) १० वर्ष ९ महिना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २ जेठ २०७३ मा बीस वर्ष कैद हुने फैसला । कैदी पुर्जीमा उल्लेख भए अनुसार हर्कमान २०८४ असारमा छुट्नुपर्ने थियो तर २०७३ असोजमा संविधान दिवसका अवसरमा पाँचथर जेलबाट रिहा ।

२. रणदीप गुरुङः (शान्तिपुर-६ इलाम) ११ वर्ष ११ महिना २२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्चले २०७० वैशाखमा २० वर्ष जेल सजाय तोकेको । २०६५ भदौ २४ गते जेल परेका गुरुङ कैदी पुर्जीमा उल्लेख भएअनुसार २०८५ भदौमा छुट्नुपर्ने थियो । तर ८ वर्ष बसेर २०७३ असोजमा इलाम कारागारबाट रिहा ।

३. धनकुमार राईः (इरौटार-७ इलाम)- ११ वर्ष ९ महिना १८ दिन बाँकी छँदै रिहा । सर्वोच्च अदालतबाट २०६७ चैतमा ज्यान मुद्दामा २० वर्ष कैद सजायको फैसला । ८ वर्ष २ महिना १ दिन जेल बसेर २०७३ असोजमा रिहा । कैदी पुर्जी अनुसार उनी २०८५ साल असारसम्म थुनामा बस्नुपर्ने थियो ।

४. झोला विकः (पत्थरकोट-८ सर्लाही) ११ वर्ष १० महिना ४ दिन बाँकी छँदै रिहा । २०७१ माघमा ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद हुने फैसला सुनाएको । तर ८ वर्ष १ महिना बसेपछि २०७३ असोजमा इलाम जेलबाट रिहा ।

५. सुमित्रा खवासः (हरैचा-८ मोरङ) ११ वर्ष ११ महिना २४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७३ जेठमा २० वर्ष कैद सजायँको फैसला । २०६५ भदौमा जेल परेको, कैदी पुर्जी अनुसार २०८५ भदौमा छुट्नुपर्ने तर ८ वर्ष ६ दिन जेल बसेर २०७३ असोजमा झापा कारागारबाट रिहा ।

६. सञ्जय चौधरीः (मेचीनगर नपा-१ झापा) ११ वर्ष १० महिना १ दिन बाँकी छँदै रिहा । २०७३ भदौमा सर्वोर्च्च अदालतले खुनडाँका मुद्दामा २० वर्ष जेल सजाय हुने फैसला सुनाएको । २०६५ साउनमा जेल परेका चौधरी ८ वर्ष १ महिना जेल बसेर २०७३ असोजमा झापा कारगारबाट छुटे ।

७. इन्द्रे भन्ने अंकित उराउः (मे.न.पा-२ झापा) ११ वर्ष ११ महिना ४ दिन बाँकी छँदै रिहा । खुनडाँका मुद्दामा २०७३ भदौमा सर्वोच्च अदालतले २० वर्ष कैद सजाय सुनाएको । २०६५ भदौदेखि जेल बसेका उराउ ८ वर्ष जेल बसेर रिहा ।

८. सुवास राईः (इटहरी-५ सुनसरी)- ११ वर्ष १० महिना १५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ साउनमा २० वर्ष कैद सजायँ सुनाइएको । तर, ८ वर्ष १ महिना जेल बसेर २०७३ असोजमा संखुवासभा कारागारबाट रिहा ।

९. रमेश सार्कीः (मूर्तिढुंगा-७ धनकुटा) ११ वर्ष ११ महिना ९ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद हुने फैसला गरेको । २०६५ भदौबाट जेल बसेका सार्की ८ वर्ष २१ दिनमा मोरङ कारागारबाट रिहा ।

१०. दिपेश थापा क्षेत्रीः (ललितपुर उमनपा-१४) १० वर्ष ११ महिना १३ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०६७ चैतमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०६४ भदौमा जेल परेका थापा २०८४ भदौमा छुट्नुपर्ने थियो । तर ९ वर्ष जेल बसेर २०७३ असोजमा मोरङबाट रिहा ।

११. झरीलाल चौधरीः (खनार-२ सुनसरी) १० वर्ष ५ महिना २२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७२ भदौमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । २०६३ फागुनबाट जेल बसेका चौधरी ९ वर्ष ६ महिना जेल बसेर मोरङबाट रिहा ।

१२. अनिल शेर्पाः (कटहरी-२ मोरङ) १० वर्ष ११ महिना २२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत विराटनगरले २०६९ वैशाखमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ९ वर्ष जेल बसेर २०७३ असोजमा मोरङ कारागारबाट रिहा ।

१३. रन्जु भन्ने सञ्जय दासः (विराटनगर-१५) ११ वर्ष ११ महिना २७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत विराटनगरले २०६९ भदौमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०६५ साउनमा जेल परेका दासको २०८५ सालमा मात्रै कैद भुक्तान हुन्थ्यो । तर उनी ८ वर्ष १ महिना जेल बसेर २०७३ असोजमा मोरङ कारागारबाट रिहा भए ।

१४. देवीमाया बास्कोटाः (डागीहाट-५ मोरङ) ११ वर्ष ११ महिना १२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७१ कात्तिकमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । ८ वर्ष जेल बसेर २०७३ असोजमा मोरङ कारागारबाट रिहा ।

१५. हीराबहादुर विकः (भकिम्ली-६ म्याग्दी) ११ वर्ष १ महिना ८ दिन बाँकीछँदै रिहा । ज्यान मुद्दामा २०६८ असारमा सर्वोच्च अदालतले सर्वस्वसहित २० वर्ष कैद गर्ने फैसला गरेको । २०६४ कात्तिकमा जेल परेका बिक ८ वर्ष १० महिनापछि २०७३ असोजमा छुटे ।

१६.पृथ्वी राई ‘कालुरामः (डाँडागाउँ-३ खोटाङ) ११ वर्ष ८ महिना ३ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान तथा जबरजस्ती चोरी मुद्दामा सर्वोच्च अदालतले २०७२ असारमा सर्वस्वसहित २० वर्ष कैद गर्ने फैसला गरेको । ८ वर्ष ३ महिना जेल बसरे रिहा ।

१७. अमृत धामीः (भरौल-३ सुनसरी) १० वर्ष ५ महिना १४ दिन बाँकी छँदै रिहा । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले २०७१ माघमा सर्वस्वसहित जन्मकैदको सजाय तोकेको । तर ९ वर्ष ६ महिना जेल बसेर २०७३ असोजमा रिहा ।

१८. रामबहादुर बस्नेतः (शिवपुर-७ कपिलवस्तु) ११ वर्ष ५ महिना १५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६३ भदौमा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको । तर ८ वर्ष ६ महिना जेल बसेर २०७३ असोजमा रिहा ।

१९. चन्द्र विश्वकर्माः (साँवा-५ ताप्लेजुङ) ११ वर्ष ७ महिना ६ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०६९ असारमा २० वर्ष कैद हुने फैसला । तर, ८ वर्ष ४ महिना जेल बसेर रिहा ।

२०. शेष बाजुदिन मिया अन्सारीः (भारत मोतिहारी) १० वर्ष २ महिना ११ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत हेटौंडाले २० वर्ष कैद गर्ने फैसला । तर ९ वर्ष ९ महिना जेल बसेर रिहा ।

२१. मजरुद्दिन मियाँ ‘पतरकाः (रामनगर, सुनसरी) ११ वर्ष ९ महिना ७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६१ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला । २०८५ असारमा छुट्नुपर्ने तर ८ वर्ष २ महिना जेल बसेर २०७३ असोजमा रिहा ।

२२. तेजलाल बुढाः (गाम-९ रोल्पा) १० वर्ष ११ महिना २ दिन बाँकीछँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६७ पुसमा २० वर्ष कैद गर्ने फैसला । तर ९ वर्ष २८ दिन जेल बसेर २०७३ असोजमा रिहा ।

२३. देवबहादुर राई ‘सुनुवारः (नामाडी-९ रामेछाप) ११ वर्ष १० महिना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतबाट २० वर्ष कैद गर्ने फैसला । तर, ८ वर्ष १ महिना जेल बसेर २०७३ असोजमा रिहा ।

२४. निरज खातीः (हरिपुर-१ धनुषा) ११ वर्ष १० महिना ११ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ कात्तिकमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष १ महिना जेल बसेर २०७३ असोजमा रिहा ।

२५. विनोद थापाः (खोटाङ-१ इन्द्रायणी पोखरी) ११ वर्ष ९ महिना २३ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०६२ पुसमा २० वर्ष कैद हुने ठहर । तर, ८ वर्ष २ महिना जेल बसेर २०७३ असोजमा खोटाङ कारागारबाट रिहा ।

२६. रमेशकुमार श्रेष्ठः (दियाले-३ ओखलढुंगा) ११ वर्ष १० महिना १५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ मंसीरमा २० वर्ष कैद गर्ने फैसला । तर ८ वर्ष १ महिना जेल बसेर रिहा ।

२७. मोहन तिम्सिनाः (तोपगाछी-२ झापा) ११ वर्ष ११ महिना २३ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा मोरङ जिल्ला अदालतले २० वर्ष कैद सजाय गरेको । ०६५ भदौमा कैद परेका तिम्सिना २०७३ असोजमा रिहा ।

२८. जगदीशप्रसाद भगतः (रामपुर जमुना-९ सप्तरी) १० वर्ष ८ महिना ८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६८ चैतमा सप्तरी जिल्ला अदालतले २० वर्ष कैद तोकेको, २०८४ सालमा छुट्नुपर्ने २०७३ मै रिहा ।

२९. बमबहादुर भन्ने रामनारायण साहः (ठेलिया-३ सप्तरी) ११ वर्ष २ महिना ८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७१ असारमा सप्तरी जिल्ला अदालतले २० वर्ष कैद हुने फैसला गरेको । २०६४ मंसीरमा जेल परेका साह ३०७३ मै छुटे ।

३०. किशोर भन्ने रामकिशोर मुखियाः (धनुषा सिंग्याही मडान-८) ११ वर्ष ९ महिना बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६७ वैशाखमा पुनरावेदन अदालत जनकपुरले २० वर्ष कैद गर्ने फैसला गरेको । २०६५ मा जेल परेका मुखिया २०७३ असोजमै छुटे ।

३१.तेन्जिङ शेर्पाः (संखुवासभा मकालु-९) ११ वर्ष ८ महिना १७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६८ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर शेर्पा २०७३ असोजमा रामेछापबाट छुटे ।

३२. ढकने सार्कीः (ओखलढुंगा गाविस-९) ११ वर्ष ९ महिना ५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६८ मंसीरमा पुनरावेदन अदालत राजविराजले २० वर्ष कैद गर्ने फैसला गरेको तर उनी २०७३ असोजमा रामेछापबाट रिहा ।

३३. शिवबहादुर भन्ने शिवकुमार वाईवाः (मकवानपुर निबुवाटार उर्लेनी-४) ११ वर्ष १० महिना १७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर २०७३ असोजमा रामेछापबाट रिहा ।

३४. गंगाबहादुर सुनुवारः (ओखलढुंगा दोलु-५) ११ वर्ष १० महिना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । तर २०७३ असोजमा रिहा ।

३५.दलबहादुर भन्ने अजय तामाङः (भक्तपुर सिपाडोल-४ नैचल) ११ वर्ष ११ महिना २९ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७२ मंसीरमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा ।

३६. पूर्णबहादुर तामाङः (भक्तपुर सिपाडोल-४) ११ वर्ष ११ महिना २४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ मंसीरमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा ।

३७. अर्जुन सुनुवारः (रामेछाप दुरागाउँ-१) ११ वर्ष १० महिना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा ।

३८. सिङ्गी तामाङः (सिन्धुपाल्चोक भोताङ्ग-२) १० वर्ष ६ महिना ५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६८ भदौमा सर्वोच्च अदालतले २० वर्ष कैद हुने फैसला गरेको । २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा)

३९. दिलीप पुलामी मगरः (काठमाडौं-१६) ११ वर्ष ११ महिना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको, २०७३ पुसमा रिहा ।

४०. सुमन पन्तः (नुवाकोट थानसिं-२, हाल काठमाडौं-१६) ११ वर्ष ११ महिना १८ दिन बाँकी छँदै रिहा । २०६९ पुसमा सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकेको, २०७३ असोजमा रिहा ।

४१. शर्मिला पौडेल भन्ने शर्मिला विकः (बाँके खासखुस्मा-६) ११ वर्ष ९ महिना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोज ३ गते जगन्नाथ देवलबाट रिहा ।

४२. रविन श्रेष्ठः (दोलखा भुषाफेदी-८) ११ वर्ष ११ महिना २९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा डिल्लीबजार कारागारबाट रिहा ।

४३. अनुप सुनुवारः (जिल्ला नखुलेको) ११ वर्ष १० महिना २ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७० फागुनमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खुजेलबाट रिहा ।

४४. रामबहादुर तमाङः (जिल्ला नखुुलेको) ११ वर्ष ८ महिना १७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७२ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खु जेलबाट रिहा ।

४५. शिवबहादुर अच्छामीः (जिल्ला नखुलेको) ११ वर्ष १० महिना ३ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७३ असारमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा रिहा ।

४६. भैरुङ्ग भन्ने सुमन तामाङः (जिल्ला नखुलेको) ११ वर्ष १० महिना १८ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । ८ वर्ष बसेर नख्खु जेलबाट रिहा ।

४७. कालु तामाङः (जिल्ला नखुलेको) ११ वर्ष ९ महिना ७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ साउनमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा नख्खु जेलबाट रिहा ।

४८. मन्दिप पाण्डेः (जिल्ला नखुलेको) ११ वर्ष २ महिना २५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०७० वैशाखमा २० वर्ष कैद तोकेको । तर २०७३ असोजमा रिहा ।

४९. सरोज ब्लोनः (जिल्ला नखुलेको) ११ वर्ष २ महिना २५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०७० वैशाखमा २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खु जेलबाट रिहा ।

५०. शंकर भन्ने रामबहादुर घर्तीः (पाल्पा) १० वर्ष ६ महिना २२ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६४ असारमा जिल्ला अदालत पाल्पाले २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खु जेलबाट रिहा ।

५१. एल.बी भन्ने लालबहादुर गुरुङः (जिल्ला नखुलेको) ११ वर्ष, ९ महिना ७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद ठहर भएका गुरुङ २०८५ सालमा छुट्नुपर्ने । तर २०७३ असोजमा नख्खु जेलबाट रिहा ।

५२. रविन दास भन्ने रवीन्द्र दासः (महोत्तरी) ११ वर्ष ९ महिना ४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०६८ मंसीरमा २० वर्ष कैद गरेको ८ वर्षपछि पर्साबाट रिहा ।

५३. अनिल थापाः (रामेछाप) ११ वर्ष १० महिना २ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७० फागुनमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्साबाट रिहा ।

५४. पदमबहादुर राईः (इलाम) ११ वर्ष १ महिना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्साबाट रिहा ।

५५. श्यामबाबु महतोः (पर्सा) ११ वर्ष १० दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ असोजमा सर्वोच्च अदालतले २१ वर्ष कैद गर्ने फैसला गरेको । तर, २०६२ चैतमा जेल परेर १० वर्षपछि पर्साबाट रिहा ।

५६. सुनिता घिसिङः (मकवानपुर) ११ वर्ष ११ महिना १७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६७ चैतमा २० वर्ष कैद तोकेको, तर ८ वर्ष जेल बसेर २०७३ असोजमा रिहा ।

५७. कल्पनादेवी रायः (सर्लाही) १० वर्ष ७ महिना ६ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७० चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको तर ९ वर्ष जेल बसेर २०७३ असोजमा रिहा ।

५८. भोला सहनी भन्ने मिश्री सहनीः (बारा) ११ वर्ष १० महिना १३ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ माघमा पुनरावेदन अदालतले २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्सा जेलबाट रिहा ।

५९. जितेन्द्र महतो कोइरीः (पर्सा) ११ वर्ष २ महिना १५ दिन बाँकी छँदै रिहा । पुनरावेदन अदालतबाट २०६९ माघमा २० वर्ष कैद हुने फैसला । तर २०७३ असोजमा रिहा ।

६०. तपसी महतोः (कहार बारा) ११ वर्ष १ महिना २६ दिन बाँकी छँदै रिहा । २०६७ चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्सा कारागारबाट रिहा ।

६१. राजदेव महतोः (धानुक, बारा) ११ वर्ष ३ महिना २१ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७१ वैशाखमा सर्वोच्च अदालतले २१ वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्साबाट रिहा ।

६२. रफिक अन्सारीः (भारत) ११ वर्ष ९ महिना १९ दिन बाँकी छँदै रिहा । विष खुवाई ज्यान मारेको अभियोगमा २०७१ चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्सा कारागारबाट रिहा ।

६३. जिता चौधरीः (बारा) ११ वर्ष ११ महिना ८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा बारा जिल्ला अदालतले २०६६ असारमा २० वर्ष कैद तोकेको । २०८५ सालमा रिहा हुनुपर्नेमा ८ वर्ष जेल बसेर पर्साबाट २०७३ असोजमा रिहा ।

६४. रत्नबहादुर थिङः (मकवानपुर) १३ वर्ष ७ महिना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका गरी ज्यान लिएको मुद्दामा २०६८ माघमा सर्वोच्च अदालतले २४ वर्ष कैद तोकेकोमा १० वर्ष बसेर २०७३ असोजमा पर्सा कारागारबाट रिहा ।

६५. झलकमान भन्ने उत्तरकुमार थिङः (ठेगाना नखुलेको) १३ वर्ष ७ महिना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका ज्यान मुद्दामा २०६८ माघमा सर्वोच्च अदालतले २४ वर्ष कैद तोकेकोमा १० वर्ष जेल बसेर पर्सा कारागारबाट रिहा ।

६६. बलबहादुर दोङः (निबुवाटार-५ मकवानपुर) ११ वर्ष १० महिना १० दिन बाँकी छँदै रिहा । ज्यान मारेको अभियोगमा मकवानपुर जिल्ला अदालतले २०६६ कात्तिकमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा भीमफेदी कारागारबाट रिहा ।

६७. रामएकवाल महतोः (पर्सा वसडिलवा-५) ११ वर्ष ६ महिना २० दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७३ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर रौतहट कारागारबाट रिहा ।

६८. पुष्पराज पुर्जाः (शक्तिखोर-७ चितवन) ११ वर्ष ११ महिना २४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६७ चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला तर ८ वर्ष जेल बसेर कास्की कारागारबाट रिहा ।

६९. फुर्वा शेर्पाः (घोर्थली-२ सिन्धुपाल्चोक) १० वर्ष ८ महिना १९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ मंसीरमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ९ वर्ष जेल बसेर कास्की कारागारबाट रिहा ।

७०. मिलन भन्ने लालबहादुर बिकः (पीपलडाँडा-३ पाल्पा) ११ वर्ष ७ महिना २९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ असोजमा २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर कास्की कारागारबाट रिहा ।

७१. प्रेमबहादुर परियारः (पोखरी भर्‍याङ-५ तनहुँ) ११ वर्ष ९ महिना १४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७२ माघमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर रिहा ।

७२. फुच्चे भन्ने रमेश नाउँः (भगवानपुर-३ रुपन्देही) ११ वर्ष ९ महिना ७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत बुटवलले २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर रूपन्देही कारागारबाट रिहा ।

७३. निर्मल पौडेलः (खुर्कोट-२ पर्वत) १० वर्ष १ महिना २० दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा जिल्ला अदालत पर्वतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ९ वर्ष १० महिना बसेर पाल्पा कारागारबाट रिहा ।

७४. संगीता रैदासः (सोराहा-४ कपिलवस्तु) १२ वर्ष बाँकी छँदै रिहा । ज्यान मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर पाल्पा कारागारबाट रिहा ।

७५. अन्तिम गिरी भन्ने टीकाराम दर्जीः (राखु भगवती-४ म्याग्दी) ११ वर्ष ९ महिना २९ दिन बाँकी छँदै रिहा । सर्वोच्च अदालतले २०६८ फागुनमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष जेल बसेर म्याग्दी कारागारबाट रिहा ।

७६. मोतिलाल बिकः (निसी-७ बाग्लुङ) ११ वर्ष ११ महिना २ दिन बाँकी छँदै रिहा । २०७२ फागुनमा ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा बाग्लुङ कारागारबाट रिहा ।

७७. दीपक धितालः (डाँडागाउँ-८ सल्यान) ११ वर्ष ८ महिना २७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७० साल माघमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको तर ८ वर्षपछि तुलसीपुर कारागारबाट रिहा ।

७८. तारा भन्ने नारायण वलीः (दाङ) ११ वर्ष ७ महिना ७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६२ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०७३ असोजमा तुलसीपुर कारागारबाट रिहा ।

७९. झकवीर पुनः (डाँडागाउँ-९ रुकुम) ११ वर्ष ८ महिना २४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६७ साउनमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर तुलसीपुर कारागारबाट रिहा ।

८०. अनु भन्ने भीमबहादुर थापाः (पोखरा उ.म.न.पा-९ कास्की) ११ वर्ष, ११ महिना ६ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७२ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा तुलसीपुर कारागारबाट रिहा ।

८१. कुमार चपाईंः (दशरथपुर-५ सुर्खेत) ११ वर्ष ४ महिना १४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत सुर्खेतबाट २०६७ सालमा २० वर्ष कैद हुने फैसला भएको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा बर्दिया कारागारबाट रिहा ।

८२. छविलाल चमारः (सिद्धार्थनगर हरिजन, भारत) ११ वर्ष ८ महिना २९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७३ जेठमा २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर बर्दिया कारागारबाट रिहा ।

८३. मन्दिरादेवी विष्टः (बेलापुर-८ डडेलधुरा) ११ वर्ष ५ महिना २७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६९ फागुनमा २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा कैलाली कारागारबाट रिहा ।

८४. मदनराज भट्टः (छतिवन-४ डोटी) ११ वर्ष ३ महिना २५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ पुसमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्षपछि २०७३ असोजमा कैलाली कारागारबाट रिहा ।

८५. असिना भन्ने जयलाल बुढाः (मालिकाठाटा-६, जुम्ला) ११ वर्ष ९ महिना ६ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७१ चैतमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा कैलाली कारागारबाट रिहा ।

८६. मन्तु भन्ने मन्तादेवी धामीः (अछाम) ११ वर्ष १० महिना १७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा अछाम जिल्ला अदालतबाट २० वर्ष कैद हुने फैसला । २०६५ मा जेल परेका धामी ८ वर्षपछि २०७३ असोजमा अछाम कारागारबाट रिहा ।

८७. काजीमान लिम्बूः (७९ वर्ष, लिङ्खिम-३ ताप्लेजुङ) १४ वर्ष ११ महिना २४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गरे पनि ज्येष्ठ नागरिक भनेर ५ वर्षपछि ताप्लेजुङ कारागारबाट रिहा ।

८८. झिनक मलाहाः (७३ वर्ष, सिंहखोर-६ कपिलवस्तु) ११ वर्ष ४ महिना बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरे पनि ज्येष्ठ नागरिक भएको भनेर ८ वर्ष जेल बसेपछि २०७३ असोजमा रिहा ।

८९. भैरे कामीः (७८ वर्ष, अछाम) १३ वर्ष १ महिना ६ दिन बाँकी छँदै रिहा । सर्वोच्च अदालतले ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने फैसला गरेको तर ६ वर्ष १० महिना जेल बसेपछि ज्येष्ठ नागरिक भनेर रिहा ।

९०. दलबहादुर घर्तीः (सिलुङ-३ स्याङ्जा) ९ वर्ष ७ महिना बाँकी छँदै रिहा । सर्वोच्च अदालतले २०६४ साउनमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद हुने फैसला गरेको । तर ११ वर्ष जेल बसेर २०७३ असोजमा रिहा ।

९१. आसधन राईः (पाथेका-६ खोटाङ) ९ वर्ष १५ महिना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले १८ वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष जेल बसेर खोटाङ कारागारबाट २०७३ असोजमा रिहा ।

९२. किशोर भन्ने प्रकाश राईः (पाथेका-६ खोटाङ) ९ वर्ष ३ महिना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद सजाय गर्ने फैसला गरेको । तर ८ वर्ष जेल बसेर खोटाङ कारागारबाट रिहा ।

९३. विनोद रौनियारः (पकली-३ सुनसरी) ९ वर्ष १० महिना १२ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २०६८ असारमा २० वर्ष कैद सजाय सुनाएको । १० वर्ष जेल बसेर सप्तरी कारागारबाट २०७३ असोजमा रिहा ।

९४. प्रभु थारूः (बर्दिया मोतिपुर-५) ९ वर्ष ११ महिना २ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत नेपालगञ्जले २०६७ असारमा २० वर्ष कैद सजाय हुने फैसला गरेको । तर जगन्नाथ देवल कारागारबाट २०७३ असोजमा रिहा ।

९५. सुजन तामाङः (थानकोट-१) ९ वर्ष ६ महिना २९ दिन बाँकी छँदै रिहा । डाँका मुद्दामा पुनरावदेन अदालत पाटनले १६ वर्ष कैद सजायँ हुने फैसला गरेको । ७ वर्ष जेल बसेर कारागार शाखा डिल्लीबजारबाट रिहा ।

९६. भीमसेन कँडेलः (ठेगाना नखुलेको) ९ वर्ष १० महिना १९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट २० वर्ष कैद हुने फैसला भएको । तर १० वर्ष जेल बसेपछि नख्खु कारागारबाट २०७३ असोजमा रिहा ।

९७. धनबहादुर थिङः (मकवानपुर) ९ वर्ष ७ महिना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका र कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०६८ मंसीरमा २० वर्ष कैद हुने फैसला । २०६३ वैशाखमा जेल परेका थिङ १० वर्षपछि पर्सा कारागारबाट रिहा ।

९८. टलकबहादुर भोम्जनः (मकवानपुर) ९ वर्ष ७ महिना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका र कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ मंसीरमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०६३ वैशाखमा जेल परेका भोम्जन १० वर्षपछि २०७३ असोजमा पर्साबाट रिहा ।

९९. चक्र विष्टः (ठेगाना नखुलेको)-९ वर्ष ७ महिना २८ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय भएको । २०६३ मा जेल परेका बिष्ट १० वर्ष ४ महिनापछि डडेल्धुरा कारागारबाट रिहा ।

१००. घनश्याम जोशीः (ठेगाना नखुलेको) ९ वर्ष १ महिना ५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०६३ मंसीरमा २० वर्ष कैद गर्ने फैसला गरेको । १० वर्ष जेल बसेर २०७३ असोजमा कञ्चनपुर कारागारबाट रिहा ।

१०१. निमा लामाः (तिब्बतियन) ९ वर्ष १ महिना बाँकी छँदै रिहा । पुनरावेदन अदालत हेटौंडाले २०७१ मंसीरमा १५ वर्ष कैद गर्ने फैसला गरेको । गैंडाको खाग बिक्रीमा संलग्न निमा ५ वर्ष ११ महिनापछि नख्खु कारागारबाट रिहा ।

कसरी गरिन्छ सजायँ मिनाहा ?

गृहमन्त्रालयसँग एउटा तयारी फारमको ‘फरम्याट’ हुँदोरहेछ । त्यसमा ‘बाँकी कैद मिनाहा गर्ने प्रयोजनका लागि सो मितिमा तोकिएको घटीमा ४० प्रतिशत कैद भुक्तान गरेका र वृद्ध तथा निको नहुने रोगीको हकमा घटीमा २५ प्रतिशत कैद भुक्तान गरेका कैदीहरूको कैद मिनाहाको लागि जेलर तथा प्रजिअको सिफारिश सहितको विवरण’ भन्ने व्यहोरा उल्लेख हुँदोरहेछ ।

कैद मिनाहाको प्रक्रिया लामो हुँदोरहेछ । जेलर र प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री, मन्त्रिपरिषद्हुँदै राष्ट्रपतिसम्म पुगेर मात्रै यो प्रक्रिया पूरा हुन्छ ।

तर, ०७३ सालको संविधान दिवस र दशैंमा गरेर कुल ६४४ कैदीले छुट पाएपछि हामीलाई लाग्यो, जतिसुकै लामो भए पनि सजिलै यो प्रक्रिया पूरा गरिँदोरहेछ । आखिर के हो यसको रहस्य ?

गृहमन्त्रालयका अधिकारीहरूको औपचारिक भनाइमा सम्बन्धित जिल्लाको जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिशमा यो प्रक्रिया शुरू हुन्छ । जेलरले आफ्नो जेलमा रहेको कैदीको बाँकी कैद मिनाहाका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गर्छ ।

प्रमुख जिल्ला अधिकारीले कतिपय फाइल क्षेत्रीय प्रशासन कार्यालयमा पठाउँछन् भने कतिपय सीधै कारागार व्यवस्थापन विभागमा पठाउँछन् । प्रजिअ र जेलरले माफी दिनका लागि सिफारिश गरेको नाम कारागार व्यवस्थापन विभागले रुजु गर्छ । त्यसपछि त्यो फाइल गृह मन्त्रालय जान्छ ।

गृह प्रशासनको स्वीकृति पछि त्यो फाइल मन्त्रिपरिषदमा पेश हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि राष्ट्रपति कार्यालय पठाइन्छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीको भन्छन्- “राष्ट्रपतिबाट लालमोहर लागेपछि विभागले माफी मिनाहा पाउने कैदीहरूलाई जेलमुक्त गर्न सम्बन्धित कारागारहरूलाई पत्र पठाउँछ र उनीहरू रिहा हुन्छन् ।”

कानूनले अपराधको गम्भीरता हेरेर कैद सजायँको व्यवस्था गरेको हुन्छ । ज्यान मुद्दामा नियतवश ज्यान मार्ने कार्यमा संलग्न व्यक्तिलाई अपराधको गम्भीरता हेरी जन्मकैदसम्म हुने व्यवस्था छ । तर यस्ता सबैजसो कैदीहरू आधा पनि कैद नबसी रिहा हुँदा रहेछन् । यसरी आधा सजाय पनि नभोगिकन अपराधी रिहा गर्न जेलर, प्रजिअ, गृहमन्त्री, प्रधानमन्त्रीहुँदै राष्ट्रपति समेत संलग्न हुँदा रहेछन् ।

सर्वस्वसहित जन्मकैद भएको व्यक्ति ८ वर्षमै रिहा हुनु भनेको के हो ? पूर्वमहान्यायाधिवक्ता हरि फुँयाल भन्छन्, “किन बाँकी कैद मिनाहा गरिएको हो र फौजदारी दण्ड नीतिको कुन उद्देश्य प्राप्त गर्न यो काम गरिएको हो भन्ने स्पष्ट हुनुपर्छ ।”

उनले भने, “मेरो विचारमा जेलर, प्रजिअ र गृह प्रशासनको स्वविवेकमा भइरहेको यो कामले अपराध नियन्त्रणमा सहयोग पुर्‍याइरहेको छैन ।”

स्रोत- खोजपत्रकारिता केन्द्रको रिपोर्ट

LEAVE A REPLY