काठमाडौं, चैत १७ – दुई दशक भन्दा धेरै समय हाँस्य व्यङ्ग्य क्षेत्रमा बिताएका कलाकार जितु नेपाल देशका प्रतिभावान र प्रतिष्ठित हाँस्यकलाकारका रुपमा परिचित छन् । दर्शक हँसाउनमा माहिर जितुले पहिलो पटक म्युजिक भिडियोमा पनि फड्को मारेका छन् । यो कुरा सुन्दा तपाईंलाई अचम्म पनि लाग्न सक्छ । युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेलले आफ्नो गीतमा खेलिदिनु पर्‍यो भन्ने आग्रह अनुसार जितु नेपाल जीवनकै पहिलो म्युजिक भिडियो खेल्न तयार भएका हुन् । जितुले राजा राजेन्द्र पोखरेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाई भएका कारण उनको गीतमा खेल्न तयार भएको हामीलाई बताए ।

एकाएक म्युजिक भिडियोमा तपाईंको आकर्षण किन बढ्यो ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मेरो आकर्षण बढेको हैन  । मलाई पहिले देखि नै म्युजिक भिडयोहरुमा खेल्ने अफर त आएको थियो । तर मैलै गरेको थिईनँ । यसमा भने आकर्षण भन्दा पनि साथी भाईलाई सहयोग गरौँ भन्ने हेतुले काम गरेको हुँ ।  मलाई एकदमै मन पर्ने हाँस्यकलाकारमा पर्छन् राजा राजेन्द्र । त्यसमाथि पनि उनी राम्रो गायक पनि हुन् । उनले राम्रो गीत गाएका रैछन् । अनि उनले एउटा पिकनिकको कन्सेप्ट छ दाई तपाईं पनि आई दिनु पर्‍यो अतिथिको रुपमा भनेको भएर म आएको हुँ ।’

राजा राजेन्द्र पोख्रेलको ‘लाई देऊ न पिरतीको चश्मा पियारी’ बोलको गीतमा जितुले दुई नयाँ मोडलसँग स्क्रिन सेयर गरेका छन् ।  गीत फास्ट बिटको भएका कारण नाच्नु पर्ने भएकाले नाची सकेपछि उनले भने, ‘यो काम हाम्रो लागि होइन रहेछ । हरेक मान्छेको लागि फरक फरक कामहरु हुन्छन् । नाच्नको लागि हिरो हिरोइनहरु, मोडलहरु छन् । हामी चाहिँ हँसाउनका लागि हो । तर हँसाउँदा हँसाउँदै पनि यसो रहरले यता आको तर नसकिने रहेछ । नाच्दा खेरी खुट्टाको तालै मिलाउन नसकिने रहेछ ।’

सिनेमा र कार्यक्रमहरुमा कहिले काहीँ नाचेको भएपनि प्राविधिक रुपमा  गीतको तालअनुसार नाच्न निकै कठिन भएको जितुले बताए । म्युजिक भिडियोमा बल्लतल्ल नाचेका जितुले नाच्न भन्दा हँसाउन सजिलो भएको भन्दै आफूलाई कहिल्यै पनि नाचेर खान्छु जस्तो नलागेको खुलाए । ‘सुरु देखि नै नृत्यमा रुची राखेर सिकेको भए त सकिन्थ्यो होला । तर अहिले भने नाच्न अलि गाह्रै लाग्ने रहेछ । मेरो कलाकारिता प्रवेश पनि हाँस्य कार्यक्रमबाटै भयो ।  सुरुदेखि नै प्रहसन गर्ने र सिरियलहरुमा कमेडी रोलहरु गर्ने तिर नै लागेँ । तर म बीचमा बागबजारमा रहेको ‘नेपाल आर्टस डान्स सेन्टर’मा मैलै नाचेको छु । म नृत्यको पारखी हो मलाई एकदमै नृत्य गर्न मन लाग्छ तर मरिकाटे मिल्दैन’, जितुले थपे ।

पहिलो पटक म्युजिक भिडियो खेल्दा खुट्टा भाँचियो

जितु नेपाल उर्फ मुन्द्रले यो भन्दा पहिले पनि एकपटक एउटा म्युजिक भिडियोमा काम गरेका थिए । पहिलो म्युजिक भिडियोमा काम गर्दा उनको खुट्टा भाँचिएको थियो । जीतु नेपालको  मुन्द्रे क्यारेक्टर हिट भएको समयमा उनलाई एक जनाले आफ्नो गीतमा खेल्न अनुरोध गरे । मुन्द्रेले पनि उनको प्रस्तावालाई स्विकार गरेर म्युजिक भिडियो खेल्न तयार भए । बबरमहल र माईतीघरमा गीतको आधा सुटिङ भयो । अनि निर्माताहरुले रेडियो अडियोको कौशीबाट काठमाडौंको पनि एक सिन लिने चाहना व्यक्त गरे । जितुले निर्माताहरुलाई रेडियो अडियोको कौशीमा ल्याएर गीतको शुटिङ सुरु भयो ।

रेडियो अडियोको कौशीमा पानीका ट्याङकी राख्नको लागि  दुईवटा स्ट्याण्ड राखिएको थियो जसको बीचमा केही खाली थियो । जितुले तीनै स्ट्याण्डमा दुईवटा खुट्टा राखेर नाच्न थाले । उनी नाच्दा नाच्दै अचानक उनको एउटा खुट्टा चिप्लिएर स्ट्याण्डको बीचमा पर्यो र प्याट्टै भाँचीयो ।त्यसपछि जितु झण्डै ६ महिना खुट्टा प्लास्टर गरेर बसे । यस बारेमा जितु अगाडि थप्छन् , ‘त्यसपछि त्यो गीत कता पुग्यो । बनाउनी कता पुगे मलाई पनि थाहा छैन । त्यो हिसाबले मैले जीवनमा गरेको एक मात्र म्युजिक भिडियो भनेकै राजाराजेन्द्र भाइको नै हो । सायद यसपछि अन्यमा पनि म खेल्दिन होला ।’

@ उज्यालो र forseenetwork.com

LEAVE A REPLY