खोटाङ, वैशाख २० – अहेवको करार पदमा जागिर लगाइदिने नाममा परीक्षार्थीबाट रकम लिएको आरोपमा जिल्ला अस्पताल खोटाङका नासु केदारनाथ खनाललाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ ।
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले खोटाङका लागि खुलाएको अहेवको अस्थायी करार कोटामा जागिर लगाइदिन्छु भन्दै दर्जनौं परीक्षार्थीबाट रकम असुलेको आरोपमा वैशाख १७ गते पक्राउ परेका नासु खनाललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले मंगलबार इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पठाएको हो ।
परीक्षार्थीबाट रकम लिएको मौखिक तथा लिखित उजुरी परेपछि अनुसन्धानमा तानिएका नासु खनाललाई प्रारम्भिक अनुसन्धानपछि कर्मचारी र सुरक्षाकर्मीसहित इटहरी पठाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनु भयो ।
जागिर सुनिश्चितताका लागि घुस खुवाए पनि जागिरमा नाम ननिस्किएपछि असन्तुष्ट परिक्षार्थीले आवाज उठाउँदा नासु खनालले रकम असुलेको खुलेको हो । नासु खनालले १३ परीक्षार्थीबाट प्रतिव्यक्ती २० हजारदेखि ५० हजार रुपैयाँसम्म असुलेको उजुरीमा उल्लेख छ ।
खनालमार्फत पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाका एक नासुको हातमा रकम पुगेको श्रोतको दाबी छ । पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गएको माघमा खोटाङका लागि ३० जना अहेवको अस्थायी करार कोटा खुलाएको थियो ।

LEAVE A REPLY