काठमान्डौं, २७ चैत l चौधौं फेवा नव वर्ष महोत्सवको निम्ता बाँड्न काठमाण्डौं आएको पश्चिमान्चल होटल संघ पोखराको टोलिले शनिबार जाउँ है पोखरा कार्यक्रमका प्याकेजहरु सार्वजनिक गरेको छ ।

प्याकेज अन्तर्गत घुमघाम, शैक्षिक भ्रमण र मधुमास पोखरा समेटिएको संघका अध्यक्ष विकल तुलाचनले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रति ब्यक्ति वा जोडिका लागि तीन हजार रुपैयाँदेखि २१ हजार रुपैयाँ विचको मूल्यमा प्याकेज हेरि फेवा तालमा बोटिङ, बन्जी जम्प, अल्ट्रालाइट फ्लाइट, दृष्याबलोकन जस्ता विविध सुविधाहरु समेटिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै फेवा नव वर्ष महोत्सवका संयोजक तुलाचनले नेपाली संस्कृतिको जगेर्ना गर्दै फेवा तालको संरक्षण गर्ने उद्धेश्य महोत्सवले लिएको सुनाए ।पोखरा सबै मौसमका लागि भन्ने उद्धेश्य समेत राखिएको महोत्सवमा खानाका १५ र ब्यापारिक ४५ गरी पाँच दर्जन स्टल रहने उनले सुनाए । डुंगा दौड, पर्यटक दौड र एकल नृत्य जस्ता आकर्षण समेट्ने महोत्सवले पर्यटन, संस्कृती र खानालाई जोड दिने छ ।

यही चैत २९ देखि आगामी बैशाख २ गतेसम्म पोखराको कोमागाने पार्कमा आयोजना हुने महोत्सवमा स्थानीय र पर्यटक गरी एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।पोखरा आउने नेपाली पर्यटकको संख्या बढ्दै गएको र ५० प्रतिशत अकुपेन्सी तिनै पर्यटकको भएको संघले जनाएको छ ।

संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले पत्रकारहरुलाई स्वागत गरेका थिए । पत्रकार सम्मेलनको आयोजक होटल संघ नेपालका वरिष्ठ अधिकृत लब कार्की र कार्यक्रम संयोजक रमेश पनेरुको पनि उपस्थिती थियो । नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गर्ने महोत्सव गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गर्दै छ ।

LEAVE A REPLY