काठमाडौं,२४ साउन  । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यो वर्षको हिउँदमा लोडसेडिङ नहुने बताएका छन् । लोडसेडिङ हुन नदिनको लागि उर्जा मन्त्रालयले आवश्यक तयारी गरिरहेको उनको दाबी छ ।

मंगलबार आयोजित पत्रकार भेटघाटमा मन्त्री शाहीले भने, ‘यो वर्षको हिउँदमा लोडसेडिङ हुन दिने छैन, मेरो प्रयास यस वर्षको हिउँदमा उद्योगमा समेत लोडसेडिङ हुन नदिने छ ।’

तर, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले अघि बढाएका कार्यक्रममा बाधा आइरहेका कारण हिउँदमा विद्युत व्यवस्थापन निकै चुनौतिपुर्ण रहेको उनले स्वीस्कार गरे ।

उनले आफु लोभ र मोहमा नफसी देशका लागि आवश्यक आयोजनाहरु अघि बढाउने बताएका छन् । ‘देश र जनताका लागि आवश्यक आयोजना छ भने राष्ट्रघाती भनेर पुत्ला जलाएपनि त्यो आयोजना अघि बढाउँछु ‘ मन्त्री शाहीले भने, ‘तर, जनताको हित गर्दैन भने म लोभ र मोहमा फसेर विदेशीलाई आयोजना सुम्पने छैन ।’

उनले आफ्नै कार्यकालमा कर्णाली बेसिनमा एक जलविद्युत आयोजनाको निर्माण थाल्ने बताएका छन् । कर्णाली अहिलेसम्म राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छैन । यसका लागि समेत आवश्यक पहल गर्ने उनको भनाइ छ ।

नेपालमा जलबिद्युत आयोजनाहरु स्वदेशी पुँजीमा मात्रै निर्माण गर्न असम्भव भएको शाही बताउँछन् । मन्त्री शाहीले भने, ‘बिदेशबाट नेपालमा लगानी गर्न आउने लगानीकर्तालाई रातो कार्पेट बिच्छाएर स्वागत गर्नेछु ।’

विद्युत बितरणमा आधुनिकिकरणको आवश्यकता भएको भन्दै मन्त्री शाहीले सम्पूर्ण विद्युतको सिस्टम डिजिटलाइजेशन सुरु गर्ने बताएका छन् । @Onlinekhabar.com

LEAVE A REPLY