लहान, भदौ १२ l तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा आउँदो असोज २ गते हुने स्थानीय तहचुनावको मिति नजिकिँदै गर्दा सिरहामा दलका नेता कार्यकर्ता आआफ्ना चुनावी नारासहित गाउँगाउँ पस्न थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्तिलगायत दलले जिल्लाव्यापी रूपमा प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् । सिरहा सदरमुकामसहित मुख्य बजारका चोकहरु अहिले विभिन्न दलका झण्डाले सिंगारिएको छ । दलका कार्यकर्ता मोटरसाइकलमा दलको झण्डा बाँधेर जनताका दैलादैलामा पुग्न व्यस्त छन् ।

चुनावी प्रचार प्रसारसँगै कांग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारको छनोट, अगुवा कार्यकर्ताको प्रशिक्षण तथा नियमित बैठक र छलफललगायत गतिविधि भइहेको कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।

त्यस्तै एमाले सिरहाले लहान नगरपालिका–१९ सोनामति मझौरा, भदैयालगायतमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक प्रशिक्षण, पार्टी प्रवेशलगायत चुनावी गतिविधि सञ्चालन गरेको एमाले सिरहाका कार्यकर्ता पनि गाउँगाउँमा पुग्न थालेका छन् । एमालेले लहान नगरपालिकाका प्रमुखमा माओवादी केन्द्रबाट आफूमा प्रवेश गर्नुभएका पूर्वनगरप्रमुख मुनी साहलाई उठाउने तयारी गरेको छ ।

यस्तै संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रले सिरहाको गोलबजार नगरपालिका–८ लबटोली जगतपुर, मुक्सारलगायतमा गाउँस्तरीय भेला सम्पन्न गरेको छ । निर्वाचनलाई लक्ष्य गरी पार्टी प्रशिक्षण, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने आकांक्षीहरुको सूची तयारी तथा बैठक र छलफल नियमित रुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ ।

निर्वाचनको आन्तरिक तयारीमा जुटेको समाजवादी फोरमले पनि कतिपय स्थानीय तहमा उम्मेदवार तय गरिसकेको तथा बाँकी रहेका स्थानीय तहमा छिट्टै उम्मेवार तय गर्ने सो पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले बताउनुभयो।

यस्तै निर्वाचनमा जाने औपचारिक निर्णय गरिसकेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता पनि चुनावी नारासहित गाउँगाउँ पुग्न थालेका छन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी दलहरु गाउँगाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चाले समेत व्यापकता पाएको छ ।

सिरहामा सात नगरपालिका र १० गाउँपालिका रहेका १५८ वडाबाट कम्तीमा ३१६ महिलासहित ८२४ जनप्रतिनिधि चुनिनेछन् । तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा ४२६ मतदान केन्द्र र २१९ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । @रासस

LEAVE A REPLY