काठमाडौं,१९ साउन  । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चुनावको मिति तोक्ने जिम्मा निर्वाचन आयोगलाई नै दिँदा उपयुक्त हुने बताएका छन् । उनले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा हुने पनि बताए ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक-२०७४ मा छलफल गर्न बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित मन्त्री शर्माले भने, ‘निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न पाउनुपर्छ भन्ने कुरा नराम्रो हैन, त्यो स्वभाविक कुरा हो ।’

विगतमा बनाएका ऐन कानुनहरुमा निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले मिति घोषणा गर्ने ब्यवस्था छ । तर आयोगले भने मिति घोषणा गर्ने जिम्मा आफूलाई दिन माग गर्दै आएको छ ।

छलफलमा सहभागी मन्त्री शर्माले संसदीय समितिको निष्कर्षलाई स्वीकार गरेर विधेयक अगाडि बढाउने कुरामा सरकार लचक रहेको बताए ।

उनले प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने मनसाय नरहेको पनि बताए । ‘निर्वाचन एकै चरणमा गर्ने हो, दुई चरणमा गर्ने मनसाय छैन,’ मन्त्री शर्माले भने, ‘मौसमी समस्या वा अन्य विशेष कारण नभएमा एकै चरणमा निर्वाचन गर्ने ब्यवस्था विधेयकमा गरेका छौं ।’

विधेयकमा समावेशी समानुपातिकको ब्यवस्था स्पष्ट उल्लेख गरेको जानकारी दिए । थ्रेसहोल्डसँग सम्वन्धित विषयमा आवश्यक छलफल गर्न आग्रह गर्दै मन्त्री शर्माले देशलाई घाटा हुने काम नगर्न र निर्वाचनलाई ब्यवस्थित गर्नेतिर सोच्न आग्रह गरे । @Onlinekhabar.com

LEAVE A REPLY