काठमाडौं, चैत २९ – निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि चाहिने सबै कुराको बन्दोबस्त अन्तिम चरणमा पुगेको जनाएको छ । अहिलेसम्म ६० जिल्लाको मतपत्र र २३ जिल्लाको मतदाता परिचयपत्र साथै ४० जिल्लाको मतदाता नामावली छापिसकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

चुनावका लागि चाहिने स्टेशनरी सामाग्रीसहित केही मतपेटिका बुधबार चीनबाट नेपाल आइपुग्ने भएको छ । चुनावको लागि चाहिनेमध्ये चीनबाट ल्याउन लागिएको ३० हजार मतपेटिकाको पहिलो खेप बुधबार आइपुग्ने जानकारी पाएको पनि प्रवक्ता शर्माले बताउनुभयो । बिहीबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ ।

त्यस्तै वैशाख १२ गते सम्ममा सबै निर्वाचन अधिकृतको कार्यालय खोलेर त्यहीबाट काम सुरु गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले सकेसम्म कम खर्चमा चुनाव सम्पन्न गर्न चुनावमा खटिने सरकारी कर्मचारीलाई निर्देशन दिएको छ ।

वैशाख ३१ गतेका लागि तोकिएको चुनावमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको प्रशिक्षणमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले चुनावमा वैदेशिक सहयोगको निर्भरतालाई कम गर्न तथा आन्तरिक खर्च व्यवस्थापनलाई  मितव्ययी बनाउन निर्देशन दिनुभएको हो । सरकारले स्थानीय चुनावका लागि १० अर्ब २९ करोड ६३ लाख ७६ हजार रुपैयाँ बजेट निकासा गरेको छ ।

@Ujyaaloonline

LEAVE A REPLY