काठमाडौं, जेठ १० – काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीसँग फराकिलो अन्तर कायम गर्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका जोशीभन्दा एमालेका शाक्य १३ हजार ५ सय ४० मतले अगाडि हुनुहुन्छ । जोशीले ३१ हजार ७ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

भरतपुर नगरपालिकामा कांग्रेस – माओवादी केन्द्र  गठबन्धनकी रेणु दाहालले एमालेसँगको मत अन्तर घटाउँदै ल्याउनुभएको छ । बिहानसम्म एमालेका देवी ज्ञवालीभन्दा ३ हजार १  मतले पछि रहनुभएकी दाहाल, अहिले २ हजार ६ सय ६६ मतले मात्र पछि हुनुहुन्छ ।  पछिल्लो परिणाम अनुसार देवी ज्ञवालीले २८ हजार ६९ मत पाउनुभएको छ भने रेणु दाहालले २५ हजार ४ सय ३ मत ल्याउनुभएको छ ।

पोखरा लेखनाथ नगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका मानबहादुर जिसीले ३७ हजार ४ सय ५१  र नेपाली कांग्रेसका रामजी कुँवरले ३० हजार २ सय ७७ मत पाउनुभएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिकामा पनि एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार हैटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका हरिबहादुर महत ५ सय ७७ मतले अगाडि हुनुहुन्छ । महतले २२ हजार १ सय ९७ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २१ हजार ६ सय २० मत पाउनुभएको छ ।  @ujyaaloonline

LEAVE A REPLY