काठमाडौं,चैत १७ l जलवायु परिवर्तन न्यूनिकरण सगरमाथा अभियान–२०१७ को आरोहण दलबाट भूमिरा गुरुङ सगरमाथा चढ्ने भएकी छिन्। जलवायु परिवर्तनले विश्वमै नकारात्मक असर पारेपछि आक्रान्त बनेको समाजलाई न्यूनिकरण गर्न सबैले लागि पर्नु पर्ने सन्देशसहित कीर्तिमान कायम गर्ने संखुवासभाकी भूमिरा गुरुङ सगरमाथा चढ्न लागेकी हुन्। उनी गुरुङ समुदायको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्ने दोस्रो महिला आरोही हुन्।

आरोहण अन्तिम तयारी पुरा भएको गुरुङ पर्यटन व्यवसायी संघ, नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। भूमिराले हिमाल जलवायु परिवर्तनको असरबारे विश्वजगतलाई ध्यानाकर्षण गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने सोच बनाएको बताइन्। ‘यो आरोहण सन्देशमुलक र जनचेतनामुलक होस् भन्ने मेरो चाहाना हो,’ उनले भनिन्।

वातवरण परिर्वतनको चुनौतीलाई न्यूनिकरणको सन्देश सगरमाथामा पु¥याउने मात्र अभियान नभएर त्यसपछि पनि अभियानमा निरन्तर लागि परेको उनले बताइन्। ‘यो मेरो सुनौलो अवसरको हो। अभियान जलवायु परिवर्तनसम्बन्धि सन्देश प्रवाह गर्ने पहिलो खुट्किला हुनेछ,‘उनी भन्छिन्– जीवनका हरेक क्षण यसै क्षेत्रमा काम गर्न चाहेको छु।’

कार्यक्रममा नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष टिकाराम गुरुङले भूमिरा केवल सगरमाथा चढेर खुशी बाँड्नेमात्रै नभएर नयाँ लक्ष्य र उद्देश्यका साथ अघि बढेकोले सबैले सहयोग गर्नुपर्ने बताए। संघकी अध्यक्ष कमला गुरुङले एक जना गुरुङ महिला आरोही भएको र सिंगो मुलुककै प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्ने लक्ष्यका साथ अघि बढेकी भूमिराको लागि संस्थागत र समुदायगत रुपमा आफुहरुले सहयोग र सहकार्य गरिरहेको बताइन्। उनले सबैलाई अभियानमा सहयोग गर्न अनुरोध गरिन्।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सदस्य राजेन्द्र सापकोटा, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलगायतले आर्थिक तथा अन्य हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

@Annapurnapost

LEAVE A REPLY