भक्तपुर, ८ भदौ  l नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्बलले महासंघका पदाधिकारीको सम्मानमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अबदेखि महासंको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिनुभयो ।

अध्यक्ष आचार्यले भन्नुभयो, ‘पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन् ।’ उहाँले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताउनुभयो ।

महासंघका उपाध्यक्ष दिलीप थापामगरले महासंघलाई कुनै पार्टी र व्यक्तिको घर होइन पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गर्नुभयो ।

महासंघका महासचिव रमेश विष्टले महासंघले पत्रकार र सञ्चारमाध्यम दुवै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताउनुभयो । उहाँले साना लगानीका सञ्चारमाध्यमलाई सक्षम बनाएर अगाडि बढ्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष पुष्कराराज बुढाथोकी, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले महासंघले गैरपत्रकार प्रवेश गर्ने ढोका बन्द गर्दै श्रमजीवी पत्रकारको हकहितमा लागनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY