पोखरा २४ चैत्र । लमजुङको क्होला सोथर गाउँपालिका वडा नं ६ पसगाउँमा अवस्थित श्री पसगाउँ ठाँटी माध्यमिक विद्यालयमा पसगाउँ जन्मघर भई हाल बेलायत निवासी दिलमाया गुरुङ र गिलुङ लमजुङ जन्मघरभई हाल बेलायत निवासी नन्दप्रसाद गुरुङबाट ६ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
बेलायतमा तमु धीं लण्डन इकाई आमा समितिका महासचिव समेत रहनु भएका दिलमाया गुरुङ र श्रीमान नन्दप्रसाद गुरुङको पहलमा बेलायतको एल.एस.सी. कम्पनीमा निवेदन पेश गरि उक्त कम्पनी मार्फत प्राप्त भएको सहयोग रकम मार्फत आफूहरुले विद्यालयमा सहयोग गरेको सहयोगदाता दिलमाया गुरुङले जानकारी दिनुभयो ।
भुकम्पबाट प्रभावित ठाँटी माध्यमिक विद्यालयमा विद्यार्थीहरु पालमुनि बसेर अध्ययन गरिरहेको फोटो विभिन्न सामाजिक सञ्जालहरुमा देखेपछि आप्mनो गाउँठाउँमा केहि गर्नुपर्छ भन्ने साेंचले गुरुङ दम्पत्तिले बेलायतमा रकम संकलनका लागि पहल शुरुभएको थियो । उक्त सहयोग रकम विद्यालयमै आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङलाई गुरुङ दम्पत्तिले हस्तान्तरण गर्नुभयो । उक्त अक्षयकोषको रकमबाट प्राप्त हुने व्याजले विद्यालयलाई आवश्यक पर्ने विभिन्न काममा खर्च गरिने भएको छ ।
सो अवसरमा सहयोगदाता दिलमाया गुरुङले आफू जता रहेता पनि जन्मभूमि प्रतिको माया र कर्तव्यबाट टाढा भएर बस्न नसक्ने भन्दै आगामी दिनमा पनि आप्mनो तर्फबाट सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अक्षयकोषको रकम ग्रहण गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङले परदेशबाट आफनो गाउँघरलाई सम्झेर विद्यालयमा सहयोग गरेको भन्दै सहयोगी दाताहरुलाई आभार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सहयोगदाता गुरुङ दम्पत्तिबाट आगामी तीन वर्षको लागि विद्यालयको कक्षा १० को बोर्ड परिक्षामा प्रथम हुने विद्यार्थीलाई १० हजार नगद तथा समग्र विद्यालयमै उत्कृष्ट अंक ल्याउन सफल जेहेन्दार एक जना विद्यार्थीलाई वार्षिक नगद १३ हजार पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । उक्त विद्यालयमा लमजुङकै कमा गाउँबाट आई छात्रबासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पनि उहाँहरुले सहयोग स्वरुप नगद ५ हजार रुपैय प्रदान गर्नुभएको छ । सोही कार्यक्रमा उहाँहरुले विद्यालयलाई २ थान फुटबल र प्रत्येक विद्यार्थीलाई एक थान कलम र मिठाई समेत वितरण गर्नुभएको थियो भने पसगाउँकै शान्तिदिप आमा समुहलाई नगद ५ हजार, दुधपोखरी युवा क्लव पसगाउँलाई ५ हजार तथा गाउँकै शिशु स्याहार केन्द्रलाई नगदर ५ हजार रुपैया सहयोग गरेको कार्यक्रममा सहभागी ठाँटी माा.वि.का भु.पू. विद्यार्थी शिव गुरुङले जानकारी दिनुभएको छ ।
यसैबीच पसगाउँमा आजदेखि १६ वर्षमुनिका महिलाहरुको फुटबल प्रतियोगित शुरुभएको छ । दिपज्योती रोधी परिवार पसगाउँको आयोजनामा शुरु भएको प्रतियोगितामा लमजुङका ग्रामिण भेगहरु कुमुलुङ, घाम्राङ, सिङदी, तामु, कमा लगायतका स्थानबाट १२ टिमको सहभागिता रहेको छ । पर्सिसम्म चल्ने प्रतियोगितामा प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार नगद ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार बेलायत निवासी समाजसेवी दिलमाया गुरुङ र नन्दप्रसाद गुरुङले प्रायोजन गर्नुभएको छ ।

LEAVE A REPLY