२० बैशाख, काठमाडौ । मंगलबार दिउँसो सभागृहमा साना पार्टीहरुले धमाधम काठमाडौं महानगरका लागि उम्मेद्वारी दर्ता गरिरहेका थिए । ठूलो पार्टी एमालेको चालचुल थिएन । धेरैले अनुमान लगाइरहेका थिए कि पार्टीभित्रको विवादका कारण एमालेले उम्मेदवार तय गर्न सकेन । तर, एमाले संसदीय दलको कार्यालयमा केपी ओलीसँग कमल थापा र दीपक बोहोराले वार्ता गरिरहेको धेरैले थाहा पाएनन् ।

अन्ततः काठमाडौं महानगरपालिकामा एमाले र राप्रपावीच चुनावी तालमेल भयो । एउटा महानगरका लागि भएको यो तालमेलको राजनीतिक तरंगचाँहि देश विदेशसम्म पुगेको छ । सोसियल मिडियाको बजारमा यतिबेला चर्चा छ भने यही ‘गाई-सूर्य गठबन्धन’ कै चर्चा छ ।

एमाले र राप्रपावीचको चुनावी गठबन्धन कुनै सीमित स्थानको राजनीतिक नाफा-नोक्सानीका लागि गरिएको जोड घटाउमात्रै हो कि यसको अन्तर्यमा कुनै राजनीतिक अर्थ पनि लुकेको छ ? यसबारे बहस गर्नु सान्दर्भिकमात्रै होइन, आवश्यक पनि भएको छ ।

तर, एमाले-राप्रपावीच गठबन्धनका विषयमा विश्लेषण गर्नुभन्दा पहिले केही ‘भेदिएका’ दिमागहरुको शल्यक्रिया गरौं ।

स्वार्थप्रेरित तर्कहरु

यतिबेला सोसियल मिडियामा विशेष गरी माओवादीका कार्यकर्ता र उसका शुभचिन्तकहरुले एमाले राप्रपा गठबन्धनको चर्को विरोध गरेको देखिन्छ ।

एमाले राजावादीसँग मिलेको र गणतन्त्रविरोधी शक्तिसँग गठजोड गरेको भन्ने प्रकारका तर्कहरु माओवादी र कांग्रेस नजिकका मानिसहरुले निकै जोडतोडका साथ प्रचार गरिरहेका छन् । तर, उनीहरुको तर्क दलीय गुटगत स्वार्थबाट प्रेरित छ । चुनावका बेला अर्कोलाई खुइल्याउनका लागि गरिने यस्ता तर्कहरुले बहसलाई विषयान्तर गरिदिन सक्छ ।

कमल थापा र केपी ओलीवीच चुनावी तालमेल हुँदा अपवित्र भयो भन्नेहरुले माओवादी-कांग्रेसको सरकारमा कमल थापा उपप्रधानमन्त्री थिए भन्ने पनि सम्झनुपर्ने हुन्छ । साथै संविधान निर्माणमा राप्रपाले खेलेको भूमिका, संविधानको रक्षामा गरेको लविङ र पछिल्लो समयमा संघीयतालाई अनिच्छापूर्वक नै भए पनि गरिएको समर्थनलाई भुल्न मिल्दैन । आफूसित मिल्दा राप्रपा चोखो हुने, अरुसँग मिल्दा अववित्र हुने भन्ने माओवादी वा कांग्रेस कार्यकर्ताको तर्कमा दम छैन, भ्रममात्रै छ ।

नेपालका अधिकांश पत्रकारहरु पनि कुनै न कुनै पार्टीका कार्यकर्ता छन् । अरुबेलै दलीय रंग देखिने पत्रकारमा चुनाव लागेका बेला झनै व्यवसायिकताविरोधी र असन्तुलित छाँटा चढेको छ । यस्तो बेलामा ‘भेदिए’का व्यक्तिहरुबाट स्वतन्त्र र सन्तुलित विचार प्रष्फुटन हुन निकै मुस्किल पर्छ ।

निर्वाचनका बेलामा औपचारिक वा अनौपचारिक कुनै पनि मिडियाको प्रयोग गरेर कुनै दल विशेष वा व्यक्ति विशेषलाई खुइल्याउनु निर्वाचन आचारसंहिता विपरीत कुरो हो । यो मानव सभ्यताको पनि अनुकूल चरित्र होइन । त्यसैले यहाँ राप्रपा र एमालेवीचको गठबन्धनको चर्चा गर्दा सकेसम्म तटस्थभावले विश्लेषण गर्ने प्रयास गरिएको छ ।

विगतमा हामीले कमल थापा र उनको दलका बारेमा समाचार र विचार सम्प्रेषण गर्दा कतिपय एमाले पृष्ठभूमिका बुजु्रकहरुले हामीलाई प्रश्न गर्थे- ‘कमल थापाजस्तो राजावादी शक्तिलाई किन स्पेस दिएको ? तपाईहरु गणतन्त्रवादी हो कि हैन ?’ हामी उनीहरुलाई जवाफ दिन्थ्यौं- हामी गणतन्त्रवादी हौं, त्यसैले त देशको चौथो शक्तिलाई मिडियामा स्थान दिएका हौं ।’

आखिर राजनीति कुम्हालेको चक्रजस्तै हुँदोरहेछ, हामीसँग कमल थापाको विरोध गर्ने उनै एमालेका मानिसहरु अहिले गाई चिन्हमा भोट हाल्नुपर्ने ठाउँमा आइपुगेका छन् ।

त्यसैले हामीले के बुझ्नुपर्छ भने स्वार्थप्रेरित तर्कहरुको आयु धेरै हुँदैन, परिस्थिति र परिवेश फेरिँदा त्यस्ता तर्काधारहरु पनि स्खलित हुन्छन् । अहिले एमाले-राप्रपावीचको ‘सर्जिकल’ गठबन्धनले धेरैजना स्थार्थी तर्कशास्त्रीहरुको ‘बिजनेश’ चौपट बनाइदिएको छ । र, यो नै गाई-सूर्य गठबन्धनको ‘सौन्दर्यशास्त्र’ पनि हो । भलै, यो ‘सौन्दर्य-दृष्टि’ वर्गीय धरातलमा अडेको छ ।
तर्कशास्त्रको मनोविज्ञानमा आधारित ‘प्राशंगिक कुरो’ गरिसकेपछि अब गाई-सूर्य गठबन्धनको राजनीतिक विश्लेषणतिर प्रवेश गरौंः

यो व्यापार हो कि प्रणय ?

देशमा पहिलो दल बन्ने रणनीतिमा रहेको एमालेले काठमाडौं महानगरमा एक्लै जित्ने आँट नगरी राप्रपाको साथ खोज्नु उसको मनोवैज्ञानिक पराजय हो भने राप्रपाको मानसिक जित ।

विवाह र व्यापार फरक-फरक धन्दा हुन् । व्यापारमा पनि क्रेता र बिक्रेतावीच दुईपक्षीय सम्बन्ध हुन्छ । तर, उनीहरुको नाता लेनदेन र नाफा नोक्सानमा मात्रै सीमित हुन्छ । प्रणयसूत्रको सम्बन्धचाहिँ एकअर्काप्रति समर्पण र विलयको प्रक्रियासम्म जान्छ ।

सामाजिक-नैतिक मानकहरुलाई भत्काएर राखिने प्रणय-सम्बन्धलाई समाजशास्त्र र नीतिशास्त्रमा अराजक एवं अनैतिक सहवासका रुपमा लिइन्छ । त्यस्तो सम्बन्ध लेनदेनमा समेत आधारित भएमा त्यो वेश्यावृत्ति बन्न पुग्छ भने लेनदिन विनै लहसिएको सम्बन्धलाई अनैतिक गठबन्धनका रुपमा हेरिन्छ ।

व्यापारमा पनि केही नैतिक मापकहरु त हुन्छन् । तर, व्यापारी र उपभोक्तावीचको सम्बन्ध तीनवटा कुरामा मात्रै टिकेको हुन्छ- नाफा, नाफा र फेरि पनि नाफा । भलै यसमा चर्को मूल्यवृद्धि, कालोबजारी, खोटो मुद्राको प्रयोग आदि अनैतिकता बर्जित हुन्छ ।

समाजशास्त्र र नीतिशास्त्रमा मात्रै होइन, राजनीतिशास्त्रमा पनि एउटा थ्यौरी छ- गेम थ्यौरी । राजनीतिमा आफूले जित्नका लागि अपनाइने जायज खेलभित्र विभिन्न दलवीचको गठबन्धन पनि पर्छ । चुनावी गठबन्धन र सहकार्य पनि एउटा यस्तै जायज राजनीतिक खेल हो ।

तर, दलहरुवीच हुने गठबन्धनलाई हेर्ने द्ुईवटा दृष्टिकोण छन्ः एउटा-सिद्धान्त मिल्ने दलवीच हुने गठबन्धन, जसलाई ‘पवित्र गठबन्धन’ भन्ने गरिएको छ । र, अर्को सिद्धान्तै नमिल्ने दलसँग गरिने ‘तरबार चोर र घिऊ चोर’को जस्तो गठबन्धन, जसलाई ‘अपवित्र वा असैद्धान्तिक’ गठबन्धन भन्ने गरिएको छ ।

यी दुई गठबन्धनमध्ये कुनचाँहि ठीक र कुन बेठिक भन्ने लक्ष्मण रेखा वा चिनियाँ पर्खाल छैन । ‘मोरल पोलिटिक्स’ मा विश्वास गर्नेहरुले पहिलो प्रकारको गठबन्धन गर्छन् । तर, ‘व्यवहारिक राजनीति’ गर्नेहरुले दोस्रो प्रकारको लेनदेनलाई पनि राजनीतिमा जायज मान्छन् ।

अब यहाँनेर प्रश्न उठ्छ: एमाले-राप्रपा गठबन्धन व्यापारिक लेनदेनजस्तै विशुद्ध नाफा-नोक्सानमा आधारित क्षणिक सहकार्यमात्रै हो ? या सजातीय जोडीको प्रणयका लागि थालिएको फूलमाला -इंगेजमेन्ट) हो ?

यहाँ गठबन्धन संस्कृतिका दृष्टिकोणले हेर्दा अर्को प्रश्न पनि उठाउन सकिन्छ कि एमाले-राप्रपा गठबन्धन पवित्र गठबन्धन हो या अपवित्र ? केपी ओली र कमल थापा ‘मोरल पोलिटिक्स’ गर्छन् या ‘व्यवहारिक पोलिटिक्स ? ओली र थापाका लागि राजनीति आस्था हो या बिजनेश ?

गाई-सूर्य गठबन्धनको सैद्धान्तिक पहेली खोतल्ने हो भने यी राजनीतिशास्त्रीय एवं विचारधारात्मक प्रश्नहरुको उत्तर खोज्नुपर्ने हुन्छ ।

यद्यपि हामीले ध्यान दिनुपर्ने कुरा के छ भने अहिलेको पुँजीवादी युगको राजनीति बीसौं शताब्दीको जस्तो ‘मोरालिटी’ मा मात्रै टिकेको छैन । आस्थाको राजनीति विस्तारै व्यापारीकरणतिर ढल्कँदो छ । नेपाली राजनीति पनि यसबाट अछुतो छैन । कांग्रेस-माओवादी लसपस पनि यसैको अर्को बलियो दसी प्रमाण हो ।

एमाले र राप्रपा दुबैले अहिलेको चुनावी गठबन्धनलाई तात्कालिक नाफा-घाटाको जोडघटाउ मात्रै हो भनेको अवस्थामा चाहिँ यसबारे लामो बहस जरुरी नहोला तर, यो सम्बन्ध सजातीय सम्बन्ध विस्तारको थालनी नै हो भनेचाहिँ अझै लामो बहसको खाँचो पर्न सक्छ ।

ओली र थापाको चरित्र-चित्रण

अब गाई-सूर्य गठबन्धनका सर्जक, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाको चरित्र-चित्रण गरौं, जसले यी दुई दलको गठबन्धनलाई भित्रैबाट बुझ्न सहयोग गर्छ ।

केपी ओली र कमल थापा दुबै नेताहरु नेपाली राजनीतिका चर्चित व्यक्तित्व हुन् । उनीहरुलाई जनताको ठूलो जमातले व्यवहारिक राजनीतिका खेलाडीसमेत मान्दै आएको छ । व्यवहारिक राजनीतिमात्रै होइन, कमल थापा राजतन्त्र र हिन्दुराष्ट्रको सिद्धान्तबाट ओतप्रोत छन् । एमाले नेता ओलीलाई धेरैले ‘अडान भएका नेता’ समेत भन्ने गर्छन् ।

ओली र थापावीच केही समानताहरु छन् ।

आफ्नो उर्जाशील समय राजनीतिमा खर्च गरेका यी दुबै नेताहरुसँग फरक-फरक मोर्चामा रहेर नेपाली राजनीतिको निकै लामो अनुभव छ ।

दुबैलाई एकापसमा नजिक ल्याउने चिज हो राष्ट्रवाद । ओली र थापा दुबै आफूलाई राष्ट्रवादी भन्न रुचाउँछन् । र, यो नारामा उनीहरुको भोट बैंक लगभग एउटै हो ।

केपी ओलीले संघीयतालाई समर्थन त गरेका छन्, तर उनलाई यो संघीयता खासै निको लागिरहेको छैन । कमल थापाको हकमा पनि ठ्याक्कै यस्तै हो । राप्रपावीचको एकतापछि कमल थापाले संघीयतालाई स्वीकार त गरेका छन्, तर उनलाई यो संघीयता मन परेको छैन ।

ओली र थापा दुबैलाई नेपाली कांग्रेस आफ्नो प्रतिस्पर्धी हो र यसलाई हराउन अनि कमजोर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ । उनीहरु दुबैजना कांग्रेसलाई साइजमा ल्याउन र आफू माथि पुग्न चाहन्छन् । यसमा दुबैको स्वार्थ मिल्छ ।

कांग्रेसलाई जस्तै गरी ओली र थापा माओवादीलाई पनि सानो बनाउन र खुम्च्याउन चाहन्छन् । माओवादी सानो भयो भने राप्रपा र एमाले दुबैलाई फाइदा पुग्छ भन्ने उनीहरुले देखेका छन् ।

केपी ओली देशभित्रका परम्परा र हिन्दु संस्कृतिको जगमा टेकेर परम्परामा टिकेको समृद्धि चाहने नेता हुन् । उनी पूर्वीय संस्कृतिलाई औधि नै माया गर्छन् । कमल थापाको त झनै यो घोषित नीति नै भइहाल्यो ।

वर्गीय प्रतिनिधित्वत्वको हिसाबले पनि राप्रपा र एमालेको कार्यथलो एउटै हो । उपल्लो वर्गबाट निम्न मध्यम वर्गसम्म फैलन खोज्ने कमल थापाको चाहना छ ।

केपी ओलीको पनि सुकुम्बासी, सर्वहारा हुँदै मध्यम वर्गमा पकड छ र अब उच्च वर्गसम्म, विगतको राजतन्त्रको जरासम्मै पुग्ने ध्येय छ । पूर्वराजावादीको भोट र नैतिक वल आफलूतिर तान्ने ओलीको चाहना छ । यी दुबै चाहनाको सेतु गाई-सूर्य गठबन्धन हुन सक्छ भन्ने दुबैको विश्वास देखिन्छ । केपी ओली र कमल थापा एउटा सिक्काका दुईवटा पाटाहरु होइनन्, बरु दुईवटा सिक्काका एकैखालका पाटाहरु हुन् ।

केपी-कमल दुबैका केही दुःख र वेदना पनि छन् ।

‘दाइको रुमाल भाउजूलाई मन पर्‍यो’ भन्ने रिमिक्स गीतले भनेजस्तै ओली र थापाको सम्बन्ध पनि ‘इलास्टिक’ जस्तै प्रतीत हुन्छ । यस्तो मनोदशा दुबैका लागि एक प्रकारको भवितव्य हो भन्दा पनि फरक पर्दैन ।

केपी ओली राष्ट्रवादी त बन्न चाहन्छन् तर राजतन्त्रसम्म तन्किन सक्दैनन् । पराम्परा र संस्कृतिको जगेर्ना गर्नेसम्म तन्किन त सक्छन्, तर हिन्दु राष्ट्रसम्म पुग्न सक्दैनन् । संविधानबाट धर्म निरपेक्षता हटाउनुपर्छ भन्न सक्दैनन् । संघीयताप्रति अरुची राख्छन्, तर विरोध गर्न सक्दैनन् ।

तथापि ओली गणतन्त्रवादी नै हुन्, तैपनि राजतन्त्रसँग साँठगाँठ गर्न खोजेको आरोप लागिरहन्छ । संघीयता, धर्मपिनरपेक्षता, समावेशिता र संघीयता मास्न खोजेको आरोप लागिरहन्छ ।

कमल थापा सिद्धान्तः राजतन्त्र र सनातन हिन्दु राष्ट्रका पक्षपाती हुन् । तर, उनलाई पनि हिन्दुराष्ट्रको नारा छाडेको आरोप लागिरहन्छ । राजतन्त्र छाडेको र गणतन्त्र मानेको आरोप लागिरहन्छ ।

राप्रपा- एमालेवीच गठबन्धन गर्दा जसरी एमालेमाथि राजावादीसँग मिलेको आरोप लाग्दैछ, राप्रपाको पंक्तिमा पनि गणतन्त्रवादी, धर्मनिरपेक्षतावादीसँग साँठगाँठ गरेको आरोप लागिरहेकै छ ।

गाई-सूर्य गठबन्धनसँगै दुबै दलमा सिद्धान्तनिष्टता र विचारधारात्मक मूल्य परित्याग गरेको गुनासो आइरहेकै छ । पुरानो सोचाइ भएका कतिपय एमाले कार्यकर्तालाई लाग्न सक्छ- गाई चिन्हमा त कससरी भोट हाल्नु हौ ? त्यस्तै राप्रपाको कार्यकर्तालाई लाग्न सक्छ, हिजो आफैंलाई मण्डले भन्ने कम्युनिष्टलाई त कसरी भोट हाल्नु ? यो दुबैतिरको दुःख हो । ओली र थापाको दुख हो ।

गाई-सूर्य गठबन्धनबारे निश्कर्षमा अहिले यति नै भन्न सकिन्छ- यो गठबन्धन केही अनौठो जस्तो भएता पनि निकै रोमाञ्चक छ । तर, महानगरको चुनावी गठबन्धनलाई नै लिएर एमालेलाई राजावादी भैसकेको देख्नु वा राप्रपालाई गणतन्त्रवादी भैसकेको निश्कर्ष निकाल्नु ‘भेदिएको’ दिमागहरुको स्वार्थप्रेरित टिप्पणी हो ।

देशमा पहिलो दल बन्ने रणनीतिमा रहेको एमालेले काठमाडौं महानगरमा एक्लै जित्ने आँट नगरी राप्रपाको साथ खोज्नु उसको मनोवैज्ञानिक पराजय हो भने राप्रपाको मानसिक जित ।

काठमाडौंको राजनीतिक जोड घटाउ

गाई-सूर्य गठबन्धनका विविध पक्षमाथि चर्चा गरिसकेपछि अब चर्चा गरौं काठमाडौं महानगरको राजनीतिक जोडघटाउ बारे चर्चा गरौं । (तर यो चर्चा तथ्यगत कम र ‘र्‍याण्डम’ बढी हो ।)

काठमाडौं महानगरमा एमाले र राप्रपावीच चुनावी तालमेल भइसकेपछि यो गठबन्धन बलियो हुन सक्ने धेरैले अनुमान गरेका छन् ।

जुन उद्देश्यले होस्, पवित्र होस् या अपवित्र नै किन नहोस्, राप्रपा- एमाले गठबन्धनले काठमाडौं महानगरमा कांग्रेसलाई तर्साएको छ । किनभने काठमाडौंको चुनावी गणितमा यसले निकै ठूलो प्रभाव पार्न सक्छ । तैपनि राप्रपा-एमाले गठबन्धनलाई कांग्रेसले एक्लै चुनौती नलदेला भन्न सकिने ठाउँ छैन । त्यसमा माओवादीसँग तालमेल भयो भने कांग्रेस सुरक्षित हुन सक्ने देखिन्छ । तर, कांग्रेस-माओवादीवीच भ्यागुताको धार्नी पुग्न गाह्रो छ ।

काठमाडौंको केही उदाहरण हेरौं-

गत संविधानसभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसको १५ हजार भोट झरेको थियो । तेस्रो भएको राप्रपाको ३७ सय भोट थियो भने चौथो बनेको एमालेले ३५ सय मत ल्याएको थियो । दुबै दलको जोड्दा कांग्रेसको आधा पनि हुँदैन ।

क्षेत्र नं ३ मा एमालेको १३ हजार कांग्रेसको १२ हजार मत हो । त्यहाँ राप्रपाको १८ सय मत थियो । माओवादीको ४८ सय मत थियो । यहाँ राप्रपा र एमाले मिल्दा कांग्रेस पछि पर्छ ।

क्षेत्र नम्बर ४ मा सूर्यको ९ हजार गाईको ३२ सय मत हो । त्यहाँ गगनले २२ हजा।र मत पाएका थिए । माओवादीको ६ हजार मत थियो । यहाँ राप्रपा र एमाले मिल्दा पनि कांग्रेस एक्लै बलियो देखिन्छ । तर, यो चुनाव क्षेत्रको धेरै भाग अहिले बूढानीलकण्ठ नगरपालिकामा पर्छ ।

हाल उपमेयरमा उठेका राजारामले ०७० सालमा चुनाव लड्दा काठमाडौं क्षेत्र नं ५ बाट ४३ सय मत ल्याएका थिए । त्यहाँ कांग्रेसका नरहरी आचार्यको १५ हजार र एमाले महासचिव ईश्वर पोखरेलको १४ हजार मत थियो । यहाँ गाई-सूर्य तालमेलले कांग्रेसलाई पछि पार्ने देखिन्छ ।

कांग्रेसका भीमसेनदास प्रधानले चुनाव जितेको काठमाडौं क्षेत्र नम्बर ६ मा प्रत्यक्षतर्फको मत हेर्दा कांग्रेसको कांग्रेसको १४ हजार, एमालेका योगेश भट्टराईको १२ हजार र राप्रपाको २३ सय मत झरेको थियो । यहाँ गाई-सूर्य गठबन्धन हुँदा कांग्रेस पछि पर्न सक्छ । तर, यो क्षेत्रको पनि अधिकांश भाग महानगरपालिकामा पर्दैन ।

त्यस्तै ७ नम्बर क्षेत्रमा ०७० को चुनावमा प्रत्यक्षतर्फ सूर्यको १३ हजार र गाईको ४ हजार भोट थियो । रुखले १० हजार भोट पाएको थियो । गाई-सूर्य मिल्दा यहाँ पनि कांग्रेस पछि पर्ने देखिन्छ । तर, यो क्षेत्रको पनि अधिकांश भाग महानगरमा समेटिएको छैन ।

नविन्द्रराज जोशीले जितेको काठमाडौं क्षेत्र नम्बर ८ मा कांग्रेसले कांग्रेसले १३ हजार र एमाले ५ हजार मत ल्याएका थिए । राप्रपाको मत ४९ सय थियो । नविन्द्रराज जोशीकै दाजु कांग्रेसबाट मेयरमा उठेकाले यहाँबाट यसपटक गाई-सूर्य गठबन्धनसँग कांग्रेसले एक्लै प्रूतिस्पर्धा गर्न सक्ने देखिन्छ ।

त्यस्तै कांग्रेस ध्यानगोविन्द रञ्जितले जितेको काठमाडौं क्षेत्र नम्बर ९ मा कांग्रेसको १४ हजार एमालेको १३ हजार र राप्रपाको ४४ सय मत झरेको देखिन्छ । यसको पनि कतिपय भूभाग महानगरमा पर्दैन ।
काठमाडौं १० मा कांग्रेस २० हजार, एमाले १३ हजार र राप्रपा २ हजार भए पनि महानगरले नसमेटेको क्षेत्रको मतले महानगरको विश्लेषण गर्न सकिँदैन ।

तर, काठमाडौंको यो चुनावी ‘प्याट्रन’को चर्चाले महानगरको भावी परिणामलाई ठोस रुपमा व्यक्त गर्न सक्दैन । किनभने- जिल्लाका १० वटा चुनावक्षेत्र र महानगरपालिकाको मताधारको भूगोल फरक पर्छ । महानगरमा प्रायः रिङरोडभित्रको कोर बजार क्षेत्र पर्छ । चुनाव क्षेत्रमा महानगरका वडा र रिङरोड बाहिरका नगरपालिका एवं पहाड समेतलाई मिसाइएको छ ।

र, एउटा अनुमान के लगाउने गरिएको छ भने रिङरोडभित्र कांग्रेसको जनमत बढी छ र रिङरोड बाहिर कम्युनिष्टहरुहरुको ।

तैपनि काठमाडौं महानगरको चुनावी गणितको परीक्षण गर्ने हामीसँग ०७० को चुनावी डाटाबाहेक हरु आधार छैन ।

तर, के भन्न सकिन्छ भने केपी ओली प्रधानमन्त्री भइसकेपछि काठमाडौंबासीको विश्वास एमालेले आर्जन गरेको छ र कांग्रेसले केही ‘लुज’ गरेको छ । साथै अर्को पनि भनिन्छ कि काठमाडौंमा कांग्रेस सुतुमूर्गाजस्तै हो, कहाँबाट आउँछ, थाहै हुँदैन ।

र, यो पनि भनिन्छ कि काठमाडौंमा राजाको लिगेसी बोकेको जनमत पनि बलियो छ, जसको प्रतिनिधित्व राप्रपाले गर्छ ।

यति बनिरहँदा काठमाडौंमा कांग्रेस, एमाले र राप्रपा सँगै माओवादी पनि चुनावमा निर्णायक प्रभाव पार्ने शक्ति हो ।

LEAVE A REPLY