९ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा धेरैको चासो काठमाडौं महानगरमा केन्द्रित भएको छ । स्वाभाविक पनि हो, यो एउटा स्थानीय तह मात्र होइन, देशको राजधानी र देशकै पहिलो महानगर पनि हो । महानगरको मेयरमा कस्ता उम्मेदवार आउँछ भन्ने मात्र होइन, उसले महानगरको विकासको कस्तो गुरुयोजना अघि सार्छ भन्ने पनि प्रश्न छ ।
केही समय पहिले काठमाडौं उपत्यकाको विकासका लागि यहाँका सांसदहरु मिलेर ‘लिभेबल काठमाडौं’को अवधारणा अघि सारेका थिए । यसको अगुवा थिए, कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापा ।

बेलाबेला काठमाडौंको मेयरका प्रमुख दाबेदार भनेरसमेत चर्चा गरिएका थापाले परिकल्पना गरेको ‘लिभेबल काठमाडौं’ कस्तो हुनेछ ? के यो सम्भव छ ? प्रस्तुत छ, थापासँग राजकुमार श्रेष्ठले गरेको कुराकानीका आधारमा तयार पारिएको आलेखः

यो सुरुवात गर्नेबेला मैले भन्थें, जुन अहिले पनि भन्छु, म काठमाडौं प्रसुती गृहमा जन्मिएको हुँ । बुबा सरकारी कर्मचारी हुनुभएकाले प्रारम्भिक बाल्यकाल सिन्धुपाल्चोकमा वित्यो । त्यसपछि रातो पुलमा हुर्किएँ जहाँ मेरो घर छ । मेरो टोलमा मात्र ७ वटा फुटबल खेल्ने चौर थियो । हाम्रो काम भनेको कुन चौरमा कहिले फुटबल खेल्ने भन्ने हुन्थ्यो । धोवी खोलामा पौडी खेल्न जान्थ्यौं । आमाले कान समातोर ल्याएको, हामी भागेको अहिले पनि याद आउँछ । हामी भण्डारखालमा पिकनिक जान्थ्यौं ।

त्यसबेला पनि काठमाडौंमा बत्ति जाँदैनथ्यो । बत्ति जाँदा लुकामारी खेल्थ्यौं । हाम्रो घरमा साइकल थियो, कसैकसैको घरमा मोटरसाइकल हुन्थ्यो । तर, अहिले जस्तो हाम्रो घरमा टेलिभिजन थिएन, अलिपछि टेलिफोन आयो ।

अहिले त्यही उमेरका मेरा दुईवटी छोरी छन् । यसो पछाडि फर्किएर हेर्दै गर्दा त्यो बेला काठमाडौं नगर थियो, अहिले महानगर भएको छ । त्यो रातोपुलकै घरमा हुर्किएको म बढी भाग्यमानी कि मेरी दुई छोरी ? अहिले हाम्रो घरमा मोटरसाइकल, गाडी छ, टेलिफोन छ, कोठैपिच्छे टीभी छ, हातहातमा फोन छ । टोलमा प्रायः सबैका घरमा मोटरसाइकल गाडी छन् । हामी महानगरका बासिन्दा भयौं । छोरीहरुलाई खाली चौरमा घुमाउन कहिले कमलपोखरी त कहिले कहाँ लैजान्छु । कहिले पैसा तिरेर घुमाउने ठाउँमा लैजान्छु ।

अहिले मैले हाम्रो घर वरिपरि चौर थियो, हामी धोवीखोलामा पौडी खेल्थ्यो भन्दा एकादेशको कथा जस्तै हुन्छ । उनीहरु कल्पना पनि गर्न सक्दैनन् । के यो विकास हो त ? हामी सही बाटोमा छौं त ? छैनौं ।

मैले चुनावका बेलामा पनि भन्थेँ कि यदि काठमाडौं महानगरले हिँडेको बाटो वरिपरिको गाउँ/नगरले पछ्याउने भन्यो भने हामी डिजास्टरतिर जान्छौं । त्यसैले अब एक दिन रोकिऔं । हामीले कहाँकहाँ गल्ती गर्‍यौं, फर्किएर हेरौं । त्यसपछि फेरि सुरु गरौं । तर, अहिले जे भइरहेको छ, यतिकै जाने हो भने हामी बर्बादी बाहेक अन्त पुग्दैनौं ।

जसरी हामी बाटो विस्तार गरिरहेका छौं, गाडी भित्र्याइरहेका छौं र यसलाई नै हामी विकास भनिरहेका छौं, जसका निम्ति हामी प्रतिस्पर्धा गरिरहेका छौं, यसले जसरी मैले बताएँ, मेरो बाल्यकाल जुन बार्बाद गर्‍यौं, यो झन त्यतातिर जान्छ । हामीले लिभेवल काठमाडौं सुरु गर्दा समान्यतया दिमागमा सही थियो ।

यो सन्दर्भमा ६ वटा विषयलाई एक ठाउँमा राखेर हेर्नुपर्छ । र, मेरो मूल आशय थियो- काठमाडौं एउटा डेभलपमेन्ट युनिट हो । यसको डेभलपमेन्टको एउटा एप्रोच हुनुपर्छ । कम्तिमा पनि २० वर्षको काठमाडौंको परिकल्पना गरौं ।

अहिले बनिसकेको संरचनालाई २० वर्षभित्र चाहेको जस्तो कसरी बनाउने कटअप प्वाइन्ट राखौं र जुन संरचना बनेकै छैन, त्यसलाई चाहे अनुसार बनाऔं । जस्तो, फुटपाथ विनाको बाटो हुँदैन भन्ने भयो भने नयाँ बनाउने बाटोमा अनिवार्य फुटपाथ बनाउँछौं । बनिसकेको बाटोमा निश्चित वर्षभित्र फुटपाथ थप्छौं, थप्छौं भनेपछि एउटा समयपछि सबै बाटोमा फुटपाथ हुन्छ । तर, यसरी नै बनाउने जाने हो भने जहिले पनि अहिले जस्तै हुन्छ ।

पहिलोः हामी के कुरामा प्रष्ट हुनुपर्छ भने काठमाडौं एउटा लिभिङ म्युजियम जस्तै हो । यो आफैंमा एउटा प्राचिन सभ्यता हो, जुन कुरा नयाँ बनेका कुनै पनि शहरसँग तुलना नै हुँदैन, चाहे त्यो जति नै भब्य होस् । यसको इतिहास, परम्परा, सम्भता काठमाडौंको मुटु हो ।

अहिले पनि संसारमा हेर्न मन लाग्ने र हेरिने शहरहरु मध्ये काठमाडौं पनि हो । हामीले त्यो पर्यटकको आँखाबाट काठमाडौंलाई हेर्नुपर्छ । चौडा सडक, ठूलो घर यो त उसले संसारभर देख्छ । जति प्रतिस्पर्धा गरेपनि हामीले कहिल्यै भ्याउँदैनौं । उसले काठमाडौंको त्यो पौराणिकता, सम्भता हेर्न चाहेको हो । तर, हामी महानगरबासी पनि हो । समय अनुसार हाम्रो आफ्नो आवश्यकता छ । त्यसैले काठमाडौंको विकासको कुरा गर्दा यसको ब्यालेन्स खोज्नुपर्छ । आफ्नो मौलिकता नगुमाइकन, अझै जोगाएर मात्र आधुनिकतासँग सन्तुलन खोज्ने हो । काठमाडौंको डेभलोपमेन्ट एप्रोच यो भन्नसाथ वाटो विस्तार गर्ने कि नगर्ने भन्ने हेर्ने नयाँ चश्मा दिन्छ । जताततै ठूलो बाटो बनाउनुपर्छ, भब्य सीसैसीसा भएको घर बनाउनुपर्छ भन्ने सोच दिँदैन ।

दोस्रोः काठमाडौंको राजधानी मात्र होइन, पहिलो महानगर हो र यसमा सिंगो नेपाल अटाएको छ । म कहिले काँही ठट्टा गरेर भन्छु तर, सिरियस कुरा पनि हो कि काठमाडौं महानगर भनेको कस्तो हो भने देशभरीको नगरपालिकाको मेयरले काठमाडौंको मेयरलाई भेट्न आउँछ । देशभरका मेयरले आफ्नो नगरबासीका लागि काम गर्छ । तर, उसको परिवार काठमाडौं महानगरबासी हुन्छ ।

त्यसैले परिवारको समस्याका लागि काठमाडौंको मेयरलाई भेट्नुपर्छ । यसका धेरै कारणहरु छन्, त्यता नजाऔं तर, काठमाडौंमा सिंगो नेपाल अठाएको छ ।

बहुसांस्कृतिक नेपाल काठमाडौंमा प्रतिविम्बित हुन्छ, यसले सबैलाई ठाउँ दिएको छ र यो नयाँ पनि होइन । तर, यति हुँदाहुँदै पनि काठमाडौंका केही कुरा लोकल छन् । मठमन्दिर जस्ता मूर्त कुरा मात्र होइन, केही कुरा छन् जुन काठमाडौंको मात्र युनिक हो ।

यहाँको जात्रा, चाडपर्व होला, गाजाबाजा होला । यो हरायो भने काठमाडौं केही नै बाँकी रहँदैन । यो काठमाडौंको सम्पत्ति हो । अरुलाई त यसले स्वीकार गरेको हो । त्यसैले काठमाडौंको विकास भन्दा मल्टिकल्चरल भर्सेस लोकल होइन, लोकल प्लस हो । यहाँको युनिक कुरालाई केन्द्रमा राखेर हेर्नुपर्छ ।

तेस्रोः अहिले जता पनिे स्मार्ट सिटी, स्मार्ट सिटी बनाउने भनेको सुन्छौं । हो, काठमाडौं स्मार्ट हुनुपर्छ । स्मार्टको आफ्नो विश्वव्यापी परिभाषा छ, इण्डिकेटरहरु छन् । तर, काठमाडौं स्मार्ट मात्र भएन हुँदैन, स्मार्टसँगै काठमाडौं सेफ र सस्टेनेबल पनि हुनुपर्छ । जब स्मार्ट बनाउने भन्ने एङ्गलबाट मात्र सोचिन्छ, यसले मात्र डोमिनेट गर्न थाल्छ हामीले अर्को एङ्गल गुमाउँछौं ।

तर, सेफसँगै सस्टेनेबलिटी पनि भयो भने अर्को दिशा दिन्छ । यो अभियान सुरु गर्दा सार्वजनिक जमिन पहिला जस्तो जताततै बाँड्न हुँदैन भन्यौं । सरकारी निकायले लिएर जाँदा पनि भोगाधिकार हुने जग्गा दिनु हुँदैन । लिज कानुन बनाउनुपर्छ भनेर लबिङ गर्‍यो र लिज कानुन बन्यो । यो किनभने काठमाडौंमा सार्वजनिक जग्गा छ र एकदमै धेरै माग हुन्छ । तत्कालको माग राम्रो लाग्छ, क्रियापुत्री भवन बनाउनुपर्‍यो, क्लब भवन बनाउनुपर्‍यो, बसपार्क बनाउनुपर्‍यो भन्दा आहो कस्तो राम्रो कुरा भन्छौं । अहिले टावर बनाउनुपर्‍यो भन्छौं ।

स्मार्टको एङ्गलले मात्र हेर्‍यौं । तर, जब तपाई सस्टेनेबलिटी एङ्गलले हेर्नुपर्छ, यहाँ भूकम्प आयो वा कुनै प्राकृतिक विपत आयो भने खुला ठाउँ चाहिन्छ कि चाहिँदैन होला ? यो एङ्गल पनि सँगसँगै आएपछि बल्ल पोलिसी डिसिजन हुन्छ । त्यसैले स्मार्ट, सेफ र सस्टेनेबलिटी तीनवटैको डाइमेनसनलाई राखेर काठमाडौंका पोलिसी डिसिजन गर्ने भन्यो भने मात्र सही हुन्छ । नत्र एकांकी निर्णयहरु आउँछ ।

जस्तो जुन ठाउँमा बसेर म अहिले कुरा गरिरहेको छु (स्वास्थ्य मन्त्रालय) यो पूरै धाप अर्थात पानी जम्ने ठाउँ हो । अहिले यहाँ सरकारी भवनहरु बने । किन ? सरकारी जग्गा हो, कृषि विकास बैंक बनाउनु पर्‍यो, स्वास्थ्य मन्त्रालय बनाउनुपर्‍यो । यत्रो प्राइम प्रोपर्टी छ, कहाँ नबनाउनु भन्यो बनाइयो । यदि स्थायित्वको कोणबाट हेरेको भए जमिनमुनि पानी चाहिन्छ, ‘इकोलोजिकल ब्यालेन्स’ का लागि पनि यो वेटल्याण्ड जोगाउनपर्छ भनेर निर्माण कार्य गर्न दिइँदैन थियो । त्यसैले योजना बनाउने ठाउँमा ‘सस्टेनिबिलिटी’को ‘एङ्गल’ बाट हेर्नुपर्छ ।

चौथोः विकासको केन्द्रमा कसलाई राख्ने ? मेरो विचारमा पहिला जनता त्यसपछि समुदाय । जनता र समुदाय केन्द्रमा हुन्छ भने भएपछि मानौं, तपाईले काठमाडौंमा सडक बनाउने योजना बनाउनुभयो । सडक बनाउँदा मेरो पहिलो कुरा जनता आउनुपर्छ । जनता भनेपछि ए कोही अपाङ्गता भएको हुन्छन्, केटाकेटी हुन्छ, बुढाबुढी पनि हुन्छ भन्ने आउँछ र त्यस अनुसार नै संरचना बन्छ ।

अर्को काठमाडौंमा गुठीको अभ्यास छ । यदि विकासको केन्द्रमा जनतासँगै समुदाय हुन्छ भनेपछि आधुनिकताको नाममा त्यसलाई मार्नेतिर लाग्दैन ।

पाँचौंः काठमाडौंले गर्नैपर्ने कुरा भनेको महानगरको विकास जनताको सहभागिता । हामी सामान्यतया के भन्छौं भने गाउँतिर जनसहभागिता धेरै हुन्छ, शहरमा मतलव हुँदैन । म भन्छु गलत । महानगरको विकासमा नागरिकको धेरै सहभागिता भएन भने स्रोत साधनका हिसावले पनि सकिँदैन र दिगोपना पनि हुँदैन । जनताको सहभागिता कतिसम्म हुनुपर्छ भने मेरो घर अगाडिको बाटो सफा गर्ने दायित्व मेरो हो, कुनै महानगरले आएर गर्ने होइन भन्नेदेखि मेरो वडामा आउने स्रोत केकेमा खर्च गर्ने भनेर तोक्नेसम्म्म हुनुपर्छ ।

मैले के कल्पना गर्छु भने भोलि जो काठमाडौंको मेयर भएर आउँछ, उसको नगरसभा हुन्छ । तर, काठमाडौंमा विश्वसनीयता भएका विभिन्न क्षेत्रका व्यक्तिहरु, जसले मदत गर्न सक्छ, उनीहरुको छायाँ सभा बनाउनुपर्छ, जसमा अनररी मेयर कसैलाई तोकौं ।

उदाहरणका लागि कर्ण शाक्य काठमाडौंको मेयर हुनुभयो । प्रत्येक वडामा पनि यस्तै तोकौं र यो वर्ष काठमाडौंको बजेट यति अर्ब छ, योजना बनाउनुस् भनेर दिऊँ । मेयर जितेर आएको मान्छे त राजनीतिक हुन्छ, उसका त्यस्तै प्राथमिकता हुन्छ, आग्रहहरु हुन्छ । तर, तपाईले जनताको सहभागितामा योजनाहरु बनाउनुभयो भने २ अर्ब वा ५ अर्ब पुगेन भने पनि कसरी जुटाउन उसले भन्छ । योजना बनाउनेदेखि कार्यान्वयन गर्नेसम्म, पुरस्कारदेखि दण्ड पाउनेसम्म जनतको सहभागिता गर्ने फरम बन्नुपर्छ ।

मलाई अहिले पनि याद छ, मैले दुई पटक स्थानीय चुनावमा भोट हान्न पाएँ । म ३३ नम्बर वडाका बासिन्दा र दुबै पटक मेरो पार्टी जितेको हो । तर, हाम्रो सहभागिता भनेको भोट हाल्ने बाहेक केही भएन । हामीले खोजेको यस्तो हुँदै होइन ।

यसो गर्नलाई के हुनुपर्छ ? भन्दा खुला सरकारको अवधारणा लागू गर्नुपर्छ, यसमा योजना बनाउनेदेखि कहाँकहाँ खर्च भयो भन्ने सबै खुला र पारदर्शी हुनुपर्छ । अहिले हाम्रो सरकार ओपन गभर्मेन्ट होइन । काठमाडौं महानगरपालिकाले म पहिलो खुला सरकार हो, मेरो प्रत्येक कुरा थाहा हुन्छ र मानिसको सहभागिता पनि हुन्छ भन्ने स्थापित गर्न सक्नुपर्छ । यसले मात्र जनसहभागिता बढाउँछ ।

यसका साथै अहिलेको संविधानले स्थानीय तहलाई एकदमै धेरै अधिकार दिन्छ । तर, डर के छ भने वडाले महानगरले कति दिन्छ भनेर कुरेर बस्ने, महानगर अहिले उपलब्ध भएको स्रोत साधन जुटाएर बाँड्ने र जनतालाई पनि म यो फि्र गर्छु, यो दिन्छु भनेर बाँड्ने तिर मात्र गयो भने बर्बाद हुन्छ । अहिलेको नगरपालिकाहरु भनेको त तपाईलाई अधिकार दियो, स्रोत कसले कति बढी जुटाउन सक्छ भन्ने हो । पहिला भएका मेयरहरुसँग मैले कुरा गर्दा, काठमाडौंमा मात्र अहिले भएको भन्दा दशौं गुण बढी स्रोत जम्मा गर्न सकिन्छ । उपाय सामान्य छ, खुला सरकार हुनुपर्छ ।

म अहिले वडा नम्बर ३० को बासिन्दा । मेरो वडा कार्यालय ज्ञानेश्वरमा छ । पानीको कार्यालय बानेश्वरमा छ, ढलको कार्यालय कहाँ छ थाहा छैन, विजुलीको कार्यालय चावहिलतिर छ । मेरो कार्यालय नै कार्यालय छ । विजुली विगि्रयो चाबहिल जाउ, पानी विगि्रयो बानेश्वर जाउ, यस्तो पनि हुन्छ कहिँ ? मेरो सबै पब्लिक युटिलिटीको एउटा सेन्टर हुनुपर्छ । मेरो वडा नम्बर ३० बासिन्दा भएपछि त्यो वडाबाहेक अरु कसैलाई पनि चिन्दिनँ । मैले पानीको विल पनि त्यही तिर्छु, विजुलीको विल पनि त्यही तिर्छु । पानी बनाउन परे पनि त्यही भन्छु, विजलुी बनाउनु परेपनि त्यही भन्छु ।

महानगरपालिकाले त्यो गर्न सक्छ त ? सक्छ । विस्तारै भोलि सबै उसको हातमा जाला तर, अहिले नै पनि त्यो युटिलिटिजहरु उसले जोसँग लिने हो, उसँग किन्नुपर्छ र एक्लैले महानगरका जनतालाई सर्भिस दिनुपर्छ । म महानगरको बासिन्दा भएपछि महानगरबाहेक अरु कसैलाई पनि चिन्दिनँ । अब बल्ल कर लागू गर्‍यो भने छल्न पनि सक्दैन । किनकी स्थानीय सरकारलाई थाहा हुन्छ कि मेरो घरमा कोही भाडामा बस्छ कि बस्दैन ? किनभने मैले पानीको सुविधा लिँदै गर्दा मेरो घरमा यति जना भाडामा बस्छन्, त्यसैले यति पानी चाहिन्छ भनेर सुविधा लिएको हुन्छु । अनि बल्ल स्थानीय करहरु उठ्छ । मैले तिरेको पैसा कहाँ खर्च हुन्छ भनेपनि मानिसहरु तिर्न पनि तयार हुन्छ ।

अर्को कुरा, काठमाडौंको सबै साना सडक महानगरपालिकाले बनाउँछ । ठूलठूला सडक केन्द्रीय सरकारले बनाउँछ । अब महानगरपालिकाले के भन्न सक्नुपर्छ भने महानगरभित्र सडक बनाउने काम मेरो हो, तिम्रो बिजनेश होइन । तिमीले पैसा मलाई दिने हो, मैले बनाउने हो । तिमीलाई के तिर्नु पर्ने हो, त्यो पनि मैले तिर्छु । बल्ल न उसले एउटा स्टान्डर्ड राख्न सक्छ । तर, यहाँ त सडक भत्काउने, उपत्यका विकास प्राधिकरण, बनाउने सडक विभाग छ ।

त्यसैले लिभेवल काठमाडौंको अवधारणा अघि सार्दा हामीले भनेका छौं-काठाडौंको सडक, पानी, ढल, विजुली, फोहोर र एयर क्वालिटी केन्द्रीय मन्त्रालयले हेर्ने होइन । जस्तो विजुली अहिले महानगरले हेर्दैन, नेपाल विद्युत प्राधिकरणले हेर्छ । तर, अबे प्राधिकरणले महानगर मात्र चिन्नुपर्छ र नागरिकले महानगर मात्र चिन्नुपर्छ । ट्रान्समिटर पडि्कयो भनेर म प्राधिकरण होइन, महानगर जानुपर्छ ।

यो अब काठमाडौं महानगरपालिका एक्लैले गरेर सक्दैन । मैले त काठमाडौं, भक्तपुर र ललितपुरलाई सिंगो एउटा इकाई बनाऔं भनेको हो । काठमाडौं जिल्लालाई मात्र भएपनि बनाऔं भनेको सकिएन, ११ वटा त नगरपालिका नै बन्यो । एउटा ठाउँसम्म एउटा नियम, त्यहाँबाट अर्को नियम हुन सक्दैन । त्यसैले काठमाडौं महानगरले समन्वय गरेर भक्तपुर र ललितपुरलाई पनि संगै ल्याउने र काउन्सिल जस्तो बनाएर काठमाडौंको विकासमा एउटा योजना हुन्छ र आ-आफ्नो भागको काम आआफैं गर्छौं भन्नुपर्छ ।

साथै अहिले काठमाडौंको विकास भनेकै बाटो विस्तार हो भने जस्तो भएको छ । प्रधानमन्त्रीदेखि प्रशासकसम्मले म हुँदा यति बाटो वास्तार गराएँ भनेर गर्व गर्छन् । म भन्छु, हामीलाई एकदमै गलत कुरा बताइयो । काठमाडौंमा दैनिक जति मोटरसाइकल र गाडी थपिन्छ र दैैनिक जति बाटो विस्तार हुन्छ, यसले दैनिक भित्रिने मोटरसाइकल पार्किङ गर्न पनि पुग्दैन ।

प्रदुषणको दृष्टिकोणबाट हेर्ने हो भने हामी इँटाको भट्टामा बसेको जस्तो अवस्था छ । गर्ने के हो त ? त्यसैले मैले अघि भनेको जस्तो काउन्सिलले एउटा घोषणा गर्नुपर्छ कि २०२५ पछि काठमाडौं उपत्यकामा इलेक्टि्रक गाडी गुडाउँछौं, पेट्रोल-डिजेलबाट चल्ने एउटा गाडी पनि गुड्न दिँदैनौं । जति पनि गाडी छन्, कि कर्भजन गर कि बाहिर लैजाऊ । २०२५ मा सकिँदैन भने २७ बनाऔं तर, ट्रान्जिसन प्लान बनाऔं । नगरपालिकाहरु मिलेर मास ट्राञ्जिटमा लगानी गरौं । एउटा ठाउँको मान्छे मोटरसाइकल चढेर अर्को ठाउँमा पुग्नुभन्दा तीन गुणा छिटो पब्लिक गाडीबाट पुग्छ भने मुर्ख हो र मोटरसाइकल किन्न ? बाध्यता र सहजताले पो हो त किनेको ।

सडकमा डेमोक्रेसी देखिनुपर्छ भनिन्छ । गाडी गुड्न ठाउँ छैन भने नबनाउ तर, सडक भनेको पहिला हिड्ने मानिसको लागि हो, त्यसमा पनि पहिलो प्राथमिकता बच्चाबच्ची, बुढाबुढीको लागि हो । त्यसपछि साङ्गोका लागि । त्यसपछि बल्ल, साइकल, सार्वजजिक सवारीका लागि हो । अनि मात्र निजी सवारी साधानका लागि हो । हाम्रो त सिंगो काठमाडौंमा त सडक विस्तारको विरोध गरेपनि समर्थन गरे पनि कम्प्रोमाइज फुटपाथमा गएर हुन्छ । जसले सडक विस्तार बराबर काठमाडौं विकास भनेर जसले बनाए, उनीहरुले हामीलाई झुक्काए । त्यो बेलादेखि म लडिरहेको छु, विभिन्न ठाउँको अध्ययनको निष्कर्ष बोकेर दौडिरहेको छु, कहिँ पनि सडक विस्तार गरेर ट्राफिक जामको समाधान भएको छैन, काठमाडौंमा पनि हुँदैन । अब काठमाडौंको नयाँ योजना भनेको थप सडक विस्तार गर्ने र फ्लाई ओभर बनाउने । हामी गलत बाटोमा छौं । त्यसलाई रोक्न काठमाडौं महानगर एक्लैले सक्दैन । महानगरमा मात्र इलेक्टि्रक भेइकल चलाउँछ भनेर महानगरका मानिस बाहिर जानु पर्दैन ? सिंगो उपत्यकालाई एउटा बनाउनुपर्छ ।

त्यसपछि महानगरले संविधानले भनेको दुई वटा कुरा छोड्नै हुँदैनः शिक्षा र स्वास्थ्य ।

स्वास्थ्य मन्त्रालयले जनता स्वास्थ्य केन्द्र भनेर महानगरसँग मिलेर १० ठाउँमा सुरु गरेका छौं । महानगरले तीन वर्षभित्र सबै गर्छु भनेको छ । यो कस्तो हो भने ३२ वटा वडामा जनता स्वास्थ्य केन्द्र रहन्छ, जसले वडाभरीका सबै डेटा हुन्छ, कुन समयमा कसले के जाँच गर्नु पर्नेदेखि हेल्थ प्रमोसनको सबै गतिविधि गर्छ । अर्थात नगरबासीको स्वास्थ्यको जिम्मा उसले दिन्छ ।

अर्को शिक्षा । केही दिनअघि न्यूयोर्कले आफ्नो नगरको सबै युनिभर्सिटीको शिक्षा निःशूल्क घोषणा गर्‍यो । अब सिटी कलेजमा पढ्न पैसा दिनुपर्दैन, त्यो हो महानगर भनेको । यहाँको महानगरले पनि सरकारी स्कुलहरुमा सस्तो र गुणस्तरीय शिक्षा दिनसक्नुपर्छ र यो सकिन्छ । काठमाडौंमा जस्तो प्रयोगहीन भएका स्कुलहरु अन्थ छैन । महानगरले त्यो लिन्छ र पल्लिक, प्राइभेट पार्टनरसिप अनुसार व्यवस्थापन निजी क्षेत्रलाई दिएर सस्तोमा शिक्षा दिन्छ ।

अहिले काठमाडौंबासीको सबैभन्दा धेरै खर्च शिक्षामा हुन्छ । यदि घर छेउमा सामुदायिक स्कुल छ र ४/५ सय मात्र फि छ र बच्चाले गजबको शिक्षा पाउँछ । घर छेउमा जनता स्वास्थ्य केन्द्र छ र १०० रुपैयाँ तिर्‍यो भने सबै चेकअप हुन्छ भने कसले जाँदैन । यसमा ठूलठूला स्कुल वा हप्टिपलमा जान पनि रोक्नु हुँदैछ, छनोट गर्न दिनुपर्छ । तर, महानगरले यो सुविधा दिएको छ भन्न पाउनुपर्छ । मेरो मतलब होइन भनेर महानगर हुँदैन ।

त्यसपछि छुटाउन नहुने भनेको अर्बन पोर अर्थात शहरको गरिबी । हुने पनि भाटभटेनीमा किन्न जाने र जसलाई विहान बेलुका कसरी छाक टार्ने भन्ने समस्या छ, उपनि त्यही भाटभटेनी जानु पर्ने भएपछि उसको जिविका कसरी चल्छ ? शहरिया गरीबका फरक-फरक समस्या छन् । त्यसैले काठमाडौं महानगरको सरकारले मेरो नगर यति प्रतिशत ‘अर्बन पोर’ मा पर्छ भनेर तय गर्ने र उनीहरु लक्षित कार्यक्रम बनाउनुपर्छ । तर, धेरैको सोचाइ महानगर भएपछि यहाँ गरिब नै छैनन् भन्ने छ । अनि महानगरको प्राथमिकता टाबर बनाउनेतिर जान्छ ।

अर्को चुनौती भनेको महानगर भनेको सैद्धान्तिक रुपमा स्थायी बासिन्दा, जसले भोट हाल्दैछन्, उनीहरुको मात्र हो । यथार्थमा त अहिले २ लाख ७० हजार जति भोटर छ तर, रियल जनसंख्या कति हो । कसैलाई थाहा छैन । कति हो कति हो ? म यहाँको स्थायी बासिन्दालाई मात्र पानी दिन्छु भन्न सक्दैन । उसको आधिकारिक जनसंख्या ३/४ लाख हुन्छ तर, सेवा १५/२० लाखलाई दिनुपर्छ । उसको अर्बन पोरको संख्या स्थायी बासिन्दा भन्दा अरु हुन्छ । तर, उसको ड्युटी हुन्छ किनकी उ भनेको सरकार हो ।
अर्को, भूकम्पले हामीलाई पढाएको भनेको विपद व्यवस्थापनको तयारी । मलाई अहिले पनि याद छ, भूकम्प आउनुअघि चाहे त्यो नक्सालको नारायणचौर होला, चाहे कमल पोखरीको कुरा होला, म पार्कपार्क भनेर कुदिहिडेँ र रामशरण महत अर्थमन्त्री हुँदा ६० करोड छुट्याउन लगाएँ । तर, १/२ करोडभन्दा बढी खर्च भएन किनकी भुइँचालो आएको थिएन र ओपन स्पेसको महत्व बुझिएन ।

भूकम्प आएपछि बल्ल मानिसहरुले खुला ठाउँ चाहिन्छ भन्ने महसुस गरे । तर, अहिले फेरि बिर्सिएको पाउँछु । काठमाडौं सबै हिसाबले एकदमै भल्नरेबल छ, वायु प्रदुषण नै हेर्नु भयो भने पनि त्यस्तै छ । अर्कोतिर यो संसारकै ‘वन अफ दि प्लेजेन्ट वेदर’ भएको ठाउँ पनि हो । जे पायो त्यही विकास गरेकाले त्यसको मजा लिन सकिरहेका छैनौं । त्यसैले काठमाडौं महानगरपालिकासँग नागरिकको यति भर हुनुपर्छ कि आपतविपत पर्दा पनि मेरो स्थानीय सरकार छ भन्न पाउनुपर्छ । त्यसको तयारी के ?

अन्त्यमा,

पहिलो भनेकै कुरा मेरो छोरीहरु हुर्कैँदै गर्दाले काठमाडौं महानगरको नागरिक हो भन्दै गर्दा एकदम ठूलो गौरव पनि गरोस् । काठमाडौंको लोकल संस्कृतिसँग आफूलाई जोडोस् र आफ्नो पहिचान र चाडपर्वसँग गौरव पनि गरोस् । र, एट द सेम टाइम काठमाडौंमा हामीले भनेको जस्तो मोर्डन सिटीमा पाउनु पर्ने सबै कुरा पाओस् । त्यसका लागि डेभलोपमेन्ट एप्रोच के हुनुपर्छ भने एउटा कपअफ प्वाइन्ट बनाऊ ।

जस्तो अहिले म दुई ठाउँमा काम गरिरहेको छु, एउटा नक्साल अर्को चाबहिल । नक्सालको बाटो विस्तार पनि नगर, चाबहिलको बाटो विस्तार पनि नगर, एकीकृत विकासको गुरुयोजना बनाउँदैछु ।

नक्सालको गुरुयोजना ठमेलमा आएको टुरिस्टलाई एक दिन नक्सालमा कसरी राख्ने भनेर सोचेमा आधारित छ । केशरमहलबाट हिँड्दै आउँछ, राजदरबार छ, अलि अगाडि गणतन्त्र पार्क बन्दैछ, दायाँपट्टी नारायण चौर छ, नागपोखरी, यति मात्र मानिसहरुलाई थाहा छ । तर, त्यहाँ मानदेवको पालादेखिको नारायण मन्दिरदेखि भगवान बहालसम्मका पोराणिक ठाउँहरु छन् । अब त्यहाँ बाटो विस्तार गर्ने ?

हामीले के भन्यौं भने भगवान बहालदेखि नागपोखरीसम्मको पुरानो नेवार वस्ती नभत्काउ, त्यहाँ हिड्ने बाटो मात्र बनाउ । कल्पना गरौं कि केशरमहलबाट निस्किएको टुरिस्ट नक्सालसम्म घुम्दैघुम्दै आइपुग्दा एक दिन विताउनुपर्छ । त्यसैले काठमाडौंलाई मोर्डन सिटी भनेर सिंगापुर जस्तो बनाऔं, स्विट्जरल्याण्ड जस्तो बनाऔं होइन, काठमाडौं जस्तो बनाऔं । म त मेरो वाला काठमाडौं सम्झन्छु । त्यसमा आधुनिक आधुनिक सहरमा पाइने सुखसुविधालाई जोड्नुपर्छ ।

तर, मलाई डर केमा छ भने अहिले पनि बहुसंख्यक मान्छे बाटो विस्तारलाई लिएर एकमदै विकास भयो भन्छन् र कतिपय उम्मेदवारहरु पनि हेर्छु, बाटो विस्तार गरेर आएको अनुभव छ भनेको सुन्छु । काठमाडौंमा विकास कहिले भो भन्दा फलानोको पालामा वाटो विस्तार भो भनेर सुन्छ । व्यक्तिको कुरा होइन तर, विकासको यो ओरिन्टेशन भयो भने हामीलाई गलत दिशातिर लिएर जान्छ ।

र, स्थानीय तहको निर्वाचनको सन्दर्भमा कुरा गर्दा यहाँ आउने मेयर भनेको म बाटो सफा गर्छु, ढल सफा गर्छु भनेर मात्र हुँदैन । उसले त कतिपय कुरामा केन्द्र सरकारसँग सहकार्य गर्ने मात्र होइन लड्न सक्नुपर्छ । अरु महानगरलाई विश्वासमा लिएर अघि भनेको जस्तो परिषद् बनाउने र उपत्यकाको विकासको योजना बनाउनसक्नुपर्छ ।

LEAVE A REPLY