पोखरा, २२ साउन । क्षत्री समाज केन्द्रीय कार्यकारी परिषद्को राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ । भेलाले राष्ट्रिय संरचना अनुसारको अधिवेशन मंसिर महिनाभित्र, केन्द्रीय महाधिवशन पौष मसान्तभित्र गर्ने निर्णय गरेको छ ।

परिषद्ले नयाँ संविधान अनुसार ऐन नियम कानुन निर्माणमा समाजले लिएको माग मुद्दा सम्वोधन हुने गरी जनसंख्याको आधारमा पूर्ण समानुपातिक व्यवस्था लागू गर्ने, समाजभित्र कुनै पनि राजनैतिक दल विशेष नभई क्षत्रीहरुले सबै राजनैतिक दल भित्र दवावमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

देशलाई पूर्ण भ्रष्टाचार मुक्त समाजको लागि सबै जिल्ला, तहबाट दवावमूल कार्यक्रम गर्ने निर्णय भएको केन्द्रीय सचिव कृष्ण थापाले बताए । परिषद्लाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष प्रा.डा.चन्द्र बहादुर थापाले समाजलाई राजनैतिक दलले भोट हाल्यो वा हालेन भनेर हेरीरहँदा समाजले कुनै दल विशेष महत्व नदिएको र जसले माग मुद्दालाई सहयोग गर्छ उससँग सहकार्य हुन सक्ने बताए ।

निवर्तमान केन्द्रीय अध्यक्ष डा.दिल बहादुर क्षत्रीले समाजले सबै क्षत्रीलाई समेटी प्रभावकारी कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा सहभागी जिल्ला अध्यक्षहरुले जिल्लागत प्रतिवेदन राखेका थिए ।

कार्यक्रममा क्षत्री महिला समाजका केन्द्रीय अध्यक्ष पुष्पा के.सी. भण्डारी, सल्लाहकारहरु प्रेम बहादुर जिसी, समुन्द्र गोदार, केन्द्रीय उपाध्यक्ष योगेन्द्र कार्की, महासचिव राम बहादुर कार्की, कोषाध्यक्ष रिव बहादुर थापा, केन्द्रीय सचिव कृष्ण थापा, केन्द्रीय सदस्य हिमाल खड्का, उदय बहादुर बस्नेत लगायतले समाजले परिषद्द्वारा पारित निर्णयलाई कार्यान्व्यन गर्न लाग्नुपर्ने बताए ।

परिषद्मा समाजका केन्द्रीय पदाधिकारी, सदस्यहरु, भातृसंगठनका पदाधिकारी, जिल्ला तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । भेलाले संस्थागत तथा आर्थिक प्रतिवेदन समेत अनुमोदन गरेको छ ।

LEAVE A REPLY