काठमाडौं, चैत्र १८ l चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उच्च पदस्थ अधिकारीको कमिसन मोहका कारण वीर अस्पतालमा रेडियोथेरापीमा प्रयोग हुने कमसल उपकरण किन्ने खेल सुरु भएको छ।  न्याम्सका पदाधिकारीले किन्न खोजेकोे रेडियोथेरापीमा प्रयोग हुने ‘कोबाल्ट’ उपकरणलाई अस्पतालको बोलपत्र मूल्यांकन र प्राविधिक समितिले अस्वीकार गरेको छ । अस्पतालले निर्धारण गरेको आवश्यक शर्त तथा मापदण्डहरु (स्पेसिफिकेसन) पूरा गर्न नसकेको भन्दै दुवै समितिले बोलपत्र अस्वीकार गरिदिएका हुन् ।

अस्पतालले कोबाल्ट–६० मेसिन किन्न गत कात्तिक २६ गते दोस्रोपल्ट बोलपत्र आह्वान गरेको थियो।  दोस्रो पटक आव्हान गरेको अन्तराष्ट्रिय स्तरको बोलपत्रमा दुईवटा कम्पनीले मात्र प्रस्ताव दर्ता गरेका थिए। जसमध्ये बायोमेड इन्टरनेसनल प्रालिले ११ करोड ६० लाख रुपैयाँ (सात करोड २५ लाख भारु)को भारतमा निर्मित उपकरण र लाइफ लाइन ट्रेड इन्टरनेशनल प्रालिले चेक गणतन्त्रमा निर्मित ११ करोड ९४ लाख (१० लाख ८६ हजार युरो) प्रस्ताब गरेका छन् ।

यसरी प्रस्ताव गर्ने दुबै कम्पनीले कोबाल्ट–६० मेसिनका लागि अस्पतालले निर्धारण गरेको आवश्यक शर्त तथा मापदण्डहरु (स्पेसिफिकेसन) पूरा गर्न सकेका छैनन् । अस्पतालले कोबाल्ट मेसिन अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रसन (एफडीए)ले मान्यता दिएको र मेसिनका अन्य प्राविधिक शर्तहरु पूरा गरेको हुनुपर्ने ‘स्पेसिफिकेसन’ बनाएको थियो। स्रोतका अनुसार स्पेसिफिकेसन क्यानडामा निर्मित आधुनिक मेसिनका लागि तयार पारिएको थियो । तर क्यानडामा निर्मित कोबाल्ट उपकरण सप्लाई गर्ने नेपालको प्रतिनिधिले बोलपत्रमा सहभागी भएनन् ।

टेण्डर हालेका अन्य दुबै कम्पनीले एफडिए मापदण्ड र अन्य शर्त पूरा नगरेपछि बोलपत्र मूल्यांकन समितिले उक्त बोलपत्र अस्विकृत गर्ने प्रतिवेदन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति र वीर अस्पतालका निर्देशकलाई बुझाएको थियो। डा. विवेक आचार्यको संयोजकत्वमा गठित बोलपत्र मूल्याङ्कन समितिले गत माघ १७ गते उक्त प्रतिवेदन बुझाएको हो ।

यसैगरी डा. आरती शाहको संयोजकत्वमा गठित प्राविधिक समितिले पनि बोलपत्र प्रस्ताव गर्ने दुबै कम्पनीले स्पेसिफिकेसन अनुसार शर्तहरु पूरा नगरेका कारण प्राविधिक रुपमा दुबै कम्पनीका उपकरण उपयुक्त नरहेको प्रतिबेदन उपकुलपति र निर्देशकलाई दिएको छ।

तर, न्याम्सका उपकुलपति डा. गणेश गुरुङले कुनै पनि हालतमा उपकरण खरिद गर्ने भन्दै पुनः मूल्यांकन गर्न बोलपत्र मूल्याकंन र प्राविधिक समितिलाई पत्राचार गरेका छन् । तर, विज्ञहरु भने मापदण्ड अनुसारकै मेसिन किन्नुपर्ने र त्यसका लागि पुनः बोलपत्र आह्वान गर्नुपर्ने पक्षमा छन् । स्रोतका अनुसार डा. गुरुङ बायोमेड इन्टरनेसनलले हालेको भारतीय कम्पनीको कोबाल्ट मेसिन खरिद गर्नुपर्ने पक्षमा छन् ।

‘बोलपत्र परेन भनेर प्राविधिक हिसाबले अनुपयुक्त भनिएको मेसिन किन्नु सरासर गलत हो,’ अस्पतालका एक चिकित्सकले भने, ‘कमिसनको लोभमा बिरामीमाथि जोखिम हुने खालको मेसिन किन्नु हुँदैन ।’ अमेरिकाको एफडीए मान्यता प्राप्त उपकरण गुणस्तरीय र बिरामीको सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको हुनाले सोही मापदण्ड पूरा गरेका उपकरण खरिद गर्नुपर्ने बताए।

उपकुलपति डा. गुरुङले पुनः मूल्यांकनका लागि पत्र पठाइएको स्वीकार गर्दैै भने, ‘यो विषयमा अहिले केही निर्णय भएको छैन । हामी प्रक्रियामै छौं । प्राविधिक समितिले पुनः मूल्यांकन गर्दा प्रक्रिया अघि बढाउन निर्देशन दिएमा मात्र हामी अगाडि बढ्छौं।’

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले कोबाल्ट खरिद गर्ने बोलपत्र हालेका दुबै कम्पनीले तोकिएका शर्त पूरा नगरेको भन्ने बाहेक आफूलाई अन्य जानकारी नरहेको बताए। अस्पतालमा यसअघि एफडीए मापदण्ड पूरा भएको क्यानेडियन कम्पनीको मेसिन चलाइएको थियो। उक्त उपकरण झण्डै २५ वर्षसम्म सुचारु रहेको थियो। उक्त मेसिन समयमा नै मर्मतसम्भार नगरेका कारण अहिले सेवा दिन नमिल्ने अवस्थामा आइपुगेको हो। अन्कोलोजी विभागमा रहेको पुरानो ‘कोबाल्ट मेसिन’को कोबाल्ट सोर्स र कम्प्रेसर काम नगर्ने अवस्थामा पुगेपछि बन्द गरिएको हो। कोबाल्ट मेसिन खरिद र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई १५ करोड बजेट बिनियोजन गरेको छ।

स्रोत:स्वास्थ्य खबरपत्रिका

LEAVE A REPLY