काठमाडौं, साउन २५ l इपिएस भाषा परीक्षा सञ्चालनका लागि सिबिटी हल निर्माणको काम सुरु भएको छ । २०७६ साल असार मसान्तमा सक्ने गरि ललितपुरको भैंसेपाटीमा छ तले भवनको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र कोरियाली राजदूत पार्कयोङ सिकले बुधबार सिलन्यास गर्नु भएको हो ।

१० करोड ५० लाख रुपैयाँमा सात तले भवन नेपालको लागतमा तयार हुने भएको हो । कम्प्युटरमा आधारित परीक्षा सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन भने कोरिया सरकारले गर्ने छ । यसका लागि पनि झण्डै १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

छतले भवनका प्रत्येक तलामा ३५ वटा कम्प्युटर रहने छन् । सन् २०२० देखि एक सिफ्टमा २ सय १० जनाले एकै साथ परीक्षा दिन सक्नेछन् । परीक्षा एक घण्टा १० मिनेटको हुनेछ । परीक्षा सकेको केहिबेरमै उनीहरुले आफ्नो प्राप्तांक हेर्न पाउने छन् ।

तर उतिर्ण भएको हो वा हैन भनेर थाहा पाउनका लागि भने केहि दिन कुर्नु पर्ने हुन्छ । सबैभन्दा बढि अंक ल्याउने परीक्षार्थी पास हुने भएकाले नतिजा आउन समय लाग्ने इपिएक कोरिया शाखाका सुचना अधिकारी सोभाकर भण्डारीले जानकारी दिनुभयो ।

अहिले भने कोरिया जाने कामदारले ‘पेपरवेस प्रणाली’ अन्तरगत नै परीक्षा दिइरहेका छन् ।

कृषि क्षेत्रका कामदारले दुःख नपाउन : श्रममन्त्री

भवनको सिलन्यास गर्दै श्रा तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कोरियामा कृषि क्षेत्रमा कार्यरत कामदारले दुख पाइरहेको जानकारी आएकाले तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराउनु भएको छ । कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपालीले ८ घण्टाभन्दा बढि काम गर्नु परेको, अतिरिक्त समय काम गरेवापत ज्याला नपाएको, जोखिम खालका काम गर्नु परेको लगायत गुनासा आएकोले श्रम ऐन अनुसार व्यवस्था गर्न आगह गर्नु भएको छ ।

नेपालले समयमै भवन तयार गर्ने भन्दै प्राविधिक उपकरणको व्यवस्था पनि समयमै गरिदिन कोरियालाई आग्रह गर्नुभएको छ । कोरिया सरकारसँग सम्झौता गरेर नेपाल सरकारले नै कोरियामा रोजगारीका लागि नेपाली पठाउँदै आएको छ । इपिएस भाषा परीक्षा उत्तिर्ण गरेर कोरिया पुग्ने नेपालीको संख्या झण्डै ४७ हजार पुगेको छ ।

LEAVE A REPLY