१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अहित हुन नदिन प्रदेश नम्बर २ को स्थानीय चुनावमा एमालेले बहुमत ल्याउनुपर्ने तर्क गरेका छन् ।

काठमाडौंमा एमालेको प्रदेश नम्बर २ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्ने आँट नभएपछि सत्तारुढ दलहरुले मोर्चाबन्दी गरेको दावी समेत गरे ।

अध्यक्ष ओलीले आसन्न सबै निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दावी पनि पनि गरे । प्रदेश नम्बर २ मा एमालेविरुद्ध भ्रम फैलाइएको भन्दै त्यसलाई चिरेर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले एमालेसँग अरु दलले प्रतिष्पर्धा गर्नै नसक्ने दावीसमेत गरे । उनले भने, ‘एमाले हात्ती हो र हात्ती दुब्लाएर बाख्रा जस्तो हुन सक्दैन ।’

कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति हुनबाट कसैले पनि रोक्न नसक्ने दावी गरे ।

कार्यकर्ता भेलामा पार्टीका महासचिव इश्वर पोखरेलले प्रदेश नम्बर २ का सबै पार्टी नेता कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा जुटन पनि निर्देशन दिए ।

एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा करिव ६१ प्रतिशत स्थानमा आफ्नो पार्टी विजयी हुने प्रक्षेपण गर्दै आएको छ ।

@onlinekhabar.com

LEAVE A REPLY