वल्र्ड क्रिकेट लिग च्यापियनसीप अन्तरगत केन्यासितको दोस्रो म्याचमा नेपालले १५६ रनको लक्ष्य पाएको छ । नेपाली बलरहरुको किफायती प्रदर्शनमा केन्या १५५ रनमा समेटियो ।

नेेपालका तर्फबाट शरद भेषावकरले सर्वाधिक ४ विकेट लिए भने मेहेबुब आलम र बसन्त रेग्मीले दुई-दुई विकेट लिए । यसैगरी सन्दिप लामिछाने र सागर पुनले एक-एक विकेट आफ्नो खातामा पारे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले खराब सुरुवात गरेको थियो । आजको खेलमा नेपालका अनुभवी बलर मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गरे । उनले सुरुमै दुई विकेट लिएर केन्यालाई दवावमा राखे । त्यसपछि उनले लगातार पाँच ओभर मेडन फ्याँक्दा केन्यालाई रनको खडेरी लागेको थियो ।

तर चौंथो विकेटका लागि ओबिया र करिमले ७९ रनको साझेदारी गर्दै केन्यालाई खेलमा फर्काए । तर स्पिनर सन्दिप लामिछानेले सो साझेदारी तोडेपछि केन्या पुन दवावमा आयो । त्यसपछि नेपाली स्पिनरहरुले खेल आफ्नो नियन्त्रणमा राखे ।

नेपालका पार्ट टाइम स्पिनर शरद भेषावकरले म्याचमा अप्रत्याशीत बलिङ गर्दै चार विकेट लिएका छन् । उनको सात ओभर बलिङ गर्दा २८ रन मात्र खर्चिए । नेपालका फास्ट बलर सोमपाल कामीको बलिङ भने सामान्य रह्यो । उनले पाँच ओभरमा २४ रन खर्चिए तर कुनै विकेट लिन सकेनन् ।

केन्याका लागि चौंथो नम्बरका ब्याट्सम्यान ओबुयाले सर्बाधिक ४८ रन बनाएका थिए । केन्याका ६२ रनमा पछिल्ला आठ विकेट गुमाएको थियो । १५७ रनको लक्ष्य आफैंमा ठूलो नभए पनि अघिल्लो म्याचमा नेपालको ब्याटिङलाई हेर्दा यो चुनौति पार गर्न सहज छैन ।

LEAVE A REPLY