पोखरा १९ बैशाख । स्थानीय निर्वाचनको पहिलो चरण अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता मंगलबार हुँदैछ । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ । देशभरका ७ सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते कास्की सहित ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । बाँकी स्थानीय तहमा दोस्रो चरणमा जेठ ३१ गते चुनाव हुनेछ ।

प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो तथा १, २, ५ र ७ मा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । कास्कीका ५ वटा स्थानीय तहमा उम्मेदवारी दर्ताका लागि दल र स्वतन्त्र उम्मेदवारहरुले अनुसूची फारम लगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । महानगरपालिका र गाउँपालिकाको  निर्वाचनका लागि अब मतदाता परिचयपत्र वाहेक सबै सामग्री आइसकेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । उम्मेद्वार मनोनयन गर्दा १ प्रस्तावक र १ समर्थक हुनुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रस्तावक र समर्थक सम्बन्धित वडा, गाउँपालिका र नगरपालिकाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति हुनुपर्ने छ ।

दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत अनिवार्य महिला उम्मेद्वार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने प्राबधान छ । दलको तर्फबाट उम्मेद्वार हुनेले सम्बन्धित दलले प्रदान गरेको औपचारिक पत्र पेश गर्नुपर्ने छ । यसका लागि दलहरूले उम्मेद्वारको सिफारिसमा दस्तखत गर्ने पार्टी अधिकारीको नाम, थर, पद र दस्तखतको नमुना आयोगमा बुझाइसकेका छन् । निर्वाचन अधिकृतले जाँच गरिसकेपछि रीत पुगेका मनोनयनपत्र अनुसार उम्मेद्वारको नामावली प्रकाशन गर्ने व्यवस्था छ । कुनै उम्मेद्वारले तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई नाम फिर्ता लिन सक्नेछन् ।

२१ वर्ष पूरा भएको नेपाली नागरिक, जसको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न पाउने भएका छन् । गैरनेपाली, पूर्ण सरकारी वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल र स्थानीय तहमा कार्यरत र स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेद्वार बन्न नपाउने व्यवस्था कानुनले गरेको छ ।

निर्वाचन आयोगका अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको र कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा बढी कैदको सजाय पाउने गरी अन्तिम फैसला भएको व्यक्तिलाई स्थानीय निकायको नेतृत्व गर्ने अधिकार रहने छैन ।

स्थानीय तहको निर्वाचनमा उम्मेद् वार हुन महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तिर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । वडाध्यक्ष र वडा सदस्यले क्रमश १ हजार र ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था रहेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए ।

LEAVE A REPLY