पोखरा, १५ कार्तिक l मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको चुनावका लागि कास्कीमा उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ । मनोनयन दर्ता गर्ने समय एकदिन मात्रै बाँकी छँदा वाम गठबन्धनले लगभग उम्मेदवार टुंग्याईसकेको छ भने काँग्रेसले १ नम्बर क्षेत्रमा मात्रै उम्मेदवार टुंगो लगाएको छ । लामो समयको छलफल र बैठकपछि कास्कीमा वाम गठबन्धनले ९ मध्ये ८ उम्मेदवार टुंग्याएका छन् ।

प्रतिनिधीसभाका ३ सहित ६ सीट पाएको एमालेले क्षेत्र नम्बर १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी र ३ नम्बर क्षेत्रमा जगत विश्वकर्मालाई टिकट दिएको छ । दुई अधिकारी जिल्लाबाटै सर्वसम्मत सीफारिस भएका थिए । श्वकर्माको क्षेत्रमा भने भोटिङ मार्फत ३ जनाको नाम सिफारिस भएको थियो । जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम केन्द्रमा पुगेपनि सुरुदेखि नै जगतलाई अघि सारिएको एमाले श्रोतको दावी छ ।

सर्वसम्मत सिफारिसमा परेका रवीन्द्र अधिकारी यसअघिका २ वटै संविधानसभाको चुनावमा विजयी उम्मेद्वार हुन् । २०६४ मा तत्कालीन नेकपा माओबादीका उम्मेदवार रामजी बराललाई २ हजार ८ सय १० र २०७० मा काँग्रेसका उम्मेदवार शोभियतबहादुर अधिकारीलाई २ हजार २ सय १० मतले पछि पारेका थिए । अर्का उम्मेदवार खगराज अधिकारी चाहीँ पहिलो संविधानसभा चुनावमा माओबादीका उम्मेदवार देवप्रसाद गुरुङसँग पराजीत भएका ब्यक्ति हुन् । दोश्रो संविधासभा चुनावमा सांसद नभएपनि उनी स्वास्थ्य मन्त्री बनेका थिए । जगत भने समानुपातिक सांसद हुन् ।

प्रदेशतर्फ ३ सीट पाएको माओबादीले १ (क) मा दीपक कोइराला, २ ख मा राजकाजी गुरुङ र ३ क मा रामजी बराल उम्मेदवार बनेका छन् । दिपक र झलपाणी तिवारीका बिषयमा धेरै बहस चलेको थियो । तिवारीले प्रत्येक्षमा उम्मेदवार बन्न समानुपातिकबाट नाम झिकेका थिए । त्यसपछि उम्मेदवार छनौट झनै रोचक बनेको थियो । यद्यपी कोइराला जिल्ला अध्यक्ष समेत भएकाले उनको पल्ला भारी भएको श्रोत बताउँछ ।

वाम गठबन्धनमै एमालेले प्रदेशतर्फ ३ सीट पाएको थियो । एमालेले क्षेत्र नम्बर १ ख मा जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ, २ क मा अध्यक्ष कृष्ण थापाको नाम टुंगिएको छ । ३ नम्बर को ख मा भने अझैपनि टुंगिएको छैन । श्रोतका अनुसार राजीव पहारी वा देवका पहारीमध्ये एकले टिकट ल्याउने बुझिएको छ । प्रत्येक्षतर्फ पनि कम्तिमा एकजना महिला उम्मेदवार हुनुपर्ने माग बढेपछि देवकालाई टिकट दिन लागिएको एमाले श्रोत बताउँछ ।

  • प्रकाश ढकाल

LEAVE A REPLY