वैशाख २१, २०७४- सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा काठमाडौंसहित चार महानगरमा तालमेल गर्ने सहमति गरेका छन् । दुवै पार्टीका शीर्ष नेतृत्वबीच काठमाडौं महानगरपालिका र पोखरा लेखनाथ महानगरपालिका मेयरमा कांग्रेस र ललितपुर, भरतपुर महानगरपालिका मेयरमा माओवादीले पाउने नीतिगत सहमति भएको हो ।

माओवादी केन्द्र हेडक्वार्टरका सदस्य मणि थापाले चार महानरपालिकामा दुई, दुई जना मेयरमा तालमेल गर्ने उच्च नेतृत्वमा नीतिगत सहमति भएको कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार वडा सदस्यहरुका बारेमा सम्बन्धित प्रदेश र स्थानीय तहमा दुवै पार्टी नेताहरु बसेर टुंग्याउने सहमति भएको छ । तालमेलले अन्तिम रुप लिएपछि कांग्रेसले ललितपुर, भरतपुरमा उपमेयर र माओवादी केन्द्रले काठमाडौं र पोखरामा उपमेयरको उम्मेदवारी दिने छन् ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दिएको समय वैशाख १९ गते काठमाडौं मेयरमा कांग्रेसबाट राजुराज जोशी र उपमेयरमा हरिप्रिया खड्गीले उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रबाट सर्वोत्तम ड‍ंगोलले मेयरमा र सुशीला पौडेलले उपमेयरमा उम्मेदवारी दिएकी थिइन् ।

त्यस्तै ललितपुरमा कांग्रेसबाट चिरीबाबु महर्जन र गीता सत्याल, माओवादी केन्द्रबाट दीपेश महर्जन र हसिना शाक्यको उम्मेदवारी परेको छ । चितवनको भरतपुर महानगरपालिकामा भने कांग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयरको उम्मेदवार बनाएको छ भने माओवादीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई मेयर र सुरेन्द्र तामाङलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

पोखरामा कांग्रेसको तर्फबाट प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट भने विश्वप्रकाश लामिछाने प्रमुख र गोमा ढकाल उपप्रमुखको उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY