काठमाडौं, चैत ३१ – आगामी वैशाख ३१ हुने स्थानीय चुनावमा आपराधिक घटना हुन सक्ने भन्दै प्रहरीले गुण्डा पक्राउ अभियान नै थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले अहिलेसम्म १४ जना गुण्डा पक्राउ गरिसकेको छ ।

एक सय २२ जना गुण्डाको हिट लिस्ट तयार पारेर कारबाही थालेको परिसर र महाशाखाले धमाधम गुण्डा पक्राउ गर्न थालेपछि उनीहरुले राजधानी छाड्न थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो ।

समाजमा गर्दै आएका आपराधिक क्रियाकलापका आधारमा विभिन्न श्रेणीमा विभाजन गरेर गुण्डाको खोजी गरिएको छ । प्रहरीले सबै भन्दा ठूलो तथा बढी अपराध गर्ने गुण्डाहरुलाई ‘ए’ समूहमा राखेको छ ।

गुण्डा लिस्टको ‘ए’ मा १२ जना छन् । जसको पहिलो नम्बरमा दीपक मनाङे छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आवद्ध मनाङेले चुनावमा आपराधिक क्रियाकलापमा लागेका युवालाई समेटेर चुनाव आपराधिक घटना घटाउन सक्ने भन्दै प्रहरीले उनीमाथि निगरानी सुरु गरेको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको राप्रपा जिल्ला अध्यक्षमा चुनिएका थिए । तर उनलाई प्रहरीले नेताको हैसियतमा हैन गुण्डाको सूचिमा राखेको छ । उनीमाथि निगरानी राखेको जनाए पनि प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गरेको छैन ।

मनाङे मात्र होइन ‘ए’ समूहमा राखिएका अन्य गुण्डा नाइकेहरु समिरमान सिंह बस्नेत, मिलन गुरुङ्ग, राजेन्द्र गार्खाली, गणेश लामा, सुक बहादुर लामा, साजन महर्जन, सरोज थापा, सुजन पौडेल, विश्व क्रान्ति सिंह, तेजेन्द्र गुरुङ्ग, काजि शेर्पा पनि पक्राउ परेका छैनन् । प्रहरीले उनीहरुमाथि निगरानी गरेको बताएपनि सबै जसो गुण्डा नाइकेले राजनीतिक संरक्षण पाएका कारण पक्राउ हुन सकेका छैनन् ।

समूह ‘ए’ मा रहेका गुण्डाहरु पक्राउ गर्न नसके पनि प्रहरी ‘बि’ देखि ‘डि’ समूहसम्मका १४ जना गुण्डा नाइके पक्राउ गरिसकेको छ ।

गत चैत २२ गतेयता १४ जना गुण्डा पक्राउ गरिसकेका छन् । काभ्रेका गुण्डा नाइके योगेन्द्र तामाङ ‘वाला’ पक्राउ परे । उनी सुन लुटपाटमा संलग्न थिए । त्यस्तै दोलखाका अर्का गुण्डा कुमार तामाङ ठमेलमा एक व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका छन् । नुवाकोट मुन तामाङ बानेश्वरलाई आफ्नो जक्सन बनाएर बसेका गुण्डा हुन् । उनी पनि अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनी हात हतियार तथा खरखजना मुद्दामा जेल परेर छुटेका थिए । बानेश्वर क्षेत्रकै अर्का गुण्डा निम लामा पनि पक्राउ परेका छन् ।

त्यसैगरी ज्याक गुरुङ सहित उनका सदस्य कर्मा घले, कोर्ते गुरुङ पनि प्रहरी फन्दामा परेका छन् । कर्माको ठमेलमा रहेको फायर क्लवका केही लगानी छ । यसभन्दा पहिले ९ वर्ष जेल बसेर छुटेका गुण्डा हुन् कर्मा । कर्मा, ज्याक र कार्तेलाई प्रहरीले चैत २४ पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

अर्का गुण्डा कुमार तामाङ पनि पक्राउ परेका छन् । उनीले विभिन्न व्यवसायीलाई धम्क्याउँदै चन्दा असुल्दै गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्का गुण्डा सिसन श्रेष्ठ मिलन चेक्र समूहका हुन् । चक्रेको समूहबाट गुण्डागर्दी गर्ने सिसन महाराजगञ्ज क्षेत्रलाई आफ्नो जक्सन बनाएर व्यापारीलाई धम्क्याउँदै रकम असुल्दै आएको परिसरका एसपी प्रद्युम्न कार्कीले बताउनुभयो । उनी पनि अहिले परिसरको हिरासतमा छन् । चक्रे ग्याङकै अर्का सदस्य हुन् पुनम कार्की । उनी चक्रेसँगै सबैभन्दा नजिक रहेर काम गर्ने गुण्डाका रुपमा चुनिएको प्रहरीले जनाएको छ । झण्डै एक महिनाको निगरानी गरेपछि कार्की पक्राउ परे ।

ठमेल एरियका गुण्डा सुनिल नगरकोटी र कोले थापा मगर पनि पक्राउ परेका छन् । व्यापारीमालाइृ धम्क्याउँदै रकम असुलने गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कलंकी क्षेत्रलाई जक्सन बनाएर गुण्डागर्दी गर्ने नानिबाबु थापा पनि पक्राउ परिसकेका छन् ।

यसरी प्रहरीले झण्डै एक सातामा योगेन्द्र तामाङ, ज्याक गुरुङ, कर्मा घले, कोर्ते गुरुङ, राजेन्द्र बम, कुमार तामाङ, दीपक रोकाया, मुन तामाङ, सिसन श्रेष्ठ, सुनिल नगरकोटी, कोले थापामगर, निम लामा, पुनम कार्की, नानिबाबु थापा गरी १४ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यीनीहरु सबैको गुण्डागर्दीमा लाग्नुको एउटै उद्देश्य छोटो समयमा धेरै धन कमाउनु नै रहेको एसएसपी जोशीले बताउनुभयो । विभिन्न लुटपाट, मानव बेचविखन, टेन्डर, ठेक्का पट्टा, धम्क्याउँदै रकम असुली लगायतबाट पैसा कमाउनु उनीहरुको उद्देश्य हुन्छ । @Ujyaaloonline

LEAVE A REPLY