भैरहवा, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट शासन ल्याउने सपना नदेख्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई सुझाएका छन् ।
उनले विश्वभरि हराउँदै गएको कम्युनिष्ट शासन मुलुकमा ल्याउने निहुँमा गरिएको वाम गठबन्धनको कुनै औचित्य नभएको जिकिर गरे ।शनिबार रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा देउवाले जनतालाई दुःख दिने, तर्साउने र वाक स्वतन्त्रताको अधिकारलाई कुन्ठित पार्ने कम्युनिजमलाई कुनैपनि सर्तमा जनताले नस्वीकार्ने दाबी गरे ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले जनताको सुख–दुःखमा साथ दिने पार्टी कांग्रेसमात्र भएको उल्लेख गरे ।कांग्रेसले विकास र समृद्धिका मुद्दालाई सदैव उठाउँदै आएको उनको भनाइ थियो ।देवदह क्षेत्रको विकासका लागि सरकारले छिट्टै गुरुयोजना बनाउने जानकारीसमेत उनले दिए ।
उनले महामानव गौतमबुद्धसँग सम्बन्धित देवदह क्षेत्रको विकास लुम्बिनीसरह नै गर्ने उल्लेख गर्दै त्यसका लागि देवदह विकास कोष स्थापनाको आवश्यकता रहेको पनि औंल्याए ।कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको गठबन्धन राष्ट्रहितका लागि हुदै नसक्ने टिप्पणी गरे ।उनले कम्युष्टिहरुको गठबन्धन टिक्नेखालको नभइ मुलुकलाई अहित गर्नका लागि बनेको आरोप लगाए ।
उनले कांग्रेसलेमात्र मुलुकलाई समृद्ध बनाउनसक्ने भन्दै समस्या जन्माउने कम्युनिष्ट र समाधान गर्ने कांग्रेस भएको दाबी गरे ।मुलुकमा कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर ‘सुकिला किसान’ बनाउने अवधारणालाई कांग्रेसले अगाडि सारेको उनको भनाइ थियो ।
शनिबारै नवलपरासीको सुनवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महेशपुरमा भन्सारलाई विस्तार गर्ने, सुरजपूरा विद्युत् पावरहाउसलाई सन्चालनमा ल्याएर विद्युत् विस्तार र हुलाकीमार्गको स्तरोन्नति गर्नेसम्मका कामलाई अगाडि बढाउने बताए ।
  • imagekhabr.com

LEAVE A REPLY