काठमाडौं, मंसिर १ l आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

यसवर्ष कफीको उत्पादन ७ प्रतिशत बढेको छ । गएको वर्ष कफी रोपण वर्ष घोषणा गरेर सरकारी, निजी र सहकारी लगायतका क्षेत्रले कफीको सम्बद्र्धन प्रवद्र्धनमा जोड दिएकोले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको वर्ष कफीको उत्पादन बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा मुलुकमा ४ सय ३४ टन कफीको उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा कफीको उत्पादन बढेर ४ सय ६६ टन उत्पादन भएको थियो । त्यस्तै कफीको रोपण क्षेत्र पनि बढेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयलाई कफी रोपण वर्ष घोषणा गरी झण्डै ७ लाख गुण्स्तरीय कफीको विरुवा रोपिएको छ । नेपालले विश्व कफी क्षेत्रको सर्वोच्च संस्था ‘इन्टरनेशनल कफी अर्गनाइजेशन’ को सदस्यता समेत लिइसकेको छ । इन्टरनेशनल ट्रेड सेन्टरको सहयोग र वाणिज्य मन्त्रलयको अगुवाइमा कफीको राष्ट्रिय निर्यात रणनीति तयार भएको छ ।

कफी क्षेत्रको विकासका लागि ५ वर्षे रणनीतिक योजना तयारी भैसकेको लगायतका कारणले आगामी दिनमा कफी क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने गौतमको भनाइ छ । बोर्डका अनुसार अघिल्लो वर्षको तुलनामा कफीको आयात र निर्यात दुवै घटे पनि उत्पादन भने बढीरहेको छ । कफीको उत्पादन बढिरहेको अवस्थामा आयात निर्यात घट्नुले नेपाली कफीको बजार विस्तार हुदै देशमा नै कफीको उपभोगकर्ता बढेको बोर्डको तर्क छ । बोर्डले पछिल्लो वर्षमा नेपालमा कफीको खपत बढिरहेको जनाएको छ ।

  • unn.com.np

LEAVE A REPLY