मंसिर २, पोखरा । कन्या क्याम्पस पोखराको २३औं साधारण सभा आज सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा भएको उक्त सभामा अध्यक्षता ग्रहण गर्दै सञ्चालक समिति अध्यक्ष योगेन्द्र प्रधानले क्याम्पसको शैक्षिक विकासमा सबै पक्षको भुमिका महत्वपूर्ण रहने विचार व्यक्त गरे । बोलीमा भन्दा काममा बिश्वास राख्ने धारण व्यक्त गर्नुहुँदै क्याम्पसमा संलग्न सबै सरोकारवालाहरुको संलग्नतामा नै आमुल परिवर्तन गर्न सकिने भएकोले सबै पक्षलाई निरन्तर सहयोगका लागि अनुरोध गरे ।
क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले बार्षिक प्रतिबेदन पेश गर्दै क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्न पहल भैरहेको बताए । हाल क्याम्पसमा कक्षा ११ देखि स्नातक र स्नातकोत्तर समेतमा गरी ७५६ छात्राहरु अध्ययन गरिरहेको जानकारी गराए । जसमध्ये २५६ छात्राहरु छात्रबृत्तिमा अध्ययन गरिरहेका छन ।
क्याम्पसको छात्राकल्याण समिति सहसंयोजक ममता शाह, प्राध्यापक संघका सभापति इन्द्रकमल मानन्धर, संस्थापक सञ्चालक समिति अध्यक्ष लेखतमान लाभाजु, निवर्तमान अध्यक्ष सुशील कुमार गोशली, क्याम्पस सञ्चालक समिति सदस्य तेजनाथ घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी छात्रबृत्तिकोष स्थापना गर्नुभएका दाता बद्रिमल्ल, दिनेश शंकर पालिखे, सहप्राध्यापक दिपेन्द्र पराजुली, उपप्राध्यापक भुमिराज बस्ताकोटी, चित्र बहादुर श्रेष्ठले क्याम्पसको शैक्षिक बिकासका लागि चाल्नुपर्ने कदमहरुका बारेमा बोलेका थिए ।
क्याम्पसले महायज्ञबाट संकलित रकमबाट प्राबिधिक शिक्षा अन्तर्गत बि.आई.एम. कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ भने गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गर्ने प्रस्तावनामा बिश्व बिद्यालय अनुदान आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ ।
कन्या क्याम्पस पोखराको २३ औं साधारण सभा (अधिबेशन)ले आगामी ३ बर्षे कार्यकालका लागि पुनः योगेन्द्र प्रधानको अध्यक्षतामा ५ सदस्यिय संचालक समिति चयन भएको छ । सदस्यहरुमा शिव मल्ल, मदन शर्मा , बामन कुमार पराजुली र गोपाल ध्वजु निर्वाचित भएका छन । क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा कन्या माध्यमिक बिद्यालयका प्रधानाध्यापक प्रेम बुढाथोकी संयोजक रहेका निर्वाचन समितिमा प्रा.डा. यादव प्रसाद शर्मा गौडेल र प्राध्यापक संघ सभापति इन्द्रकमल मानन्धरले निर्विरोध निर्वाचित हुनुभएका समिति पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेको थियो । क्याम्पसको बिधान बमोजिम पोखरा उद्योग बाणिज्य संघ, कन्या माध्यमिक बिद्यालय संस्थागत सदस्य रहने व्यवस्था छ । क्याम्पसको स्थापना मंसिर २२ गते भएतापनि यस क्षेत्रको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका कारण क्याम्पसको बार्षिकोत्सव आगामी पुष ७ गते आयोजना गरिने जानकारी गराएका थिए ।

LEAVE A REPLY