सुनसरी, चैत १९ – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उखान टुक्का झिकेर अरुलाई चिढ्याउनु भन्दा देश हितमा लाग्न सुझाव दिनुभएको छ ।

सभापति देउवाले कसैलाई विभिन्न नामको सङ्ज्ञा दिएर चिढ्याउनुभन्दा कसरी संविधानको सफल कार्यान्वयन हुन्छ भन्नेतिर ध्यान जानु जरुरी रहेकोतर्फ सबै राजनीतिक दलहरुलाई सचेततापूर्वक सोच्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘मधेसी पहाडी वा हिमाली भूगोलको विषयमा विभेदपूर्ण कुराको उखान टुक्का निकालेर मानिसलाई चिढ्याउनु भन्दा पनि कसरी देशको हित सम्भव छ भन्नेतिर लाग्नु नै उत्तम हुन्छ ।’

उहाँले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । उहाँले यसका लागि कांग्रेसले भूमिका खेलिरहेको समेत बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ले शनिबार इटहरीमा आयोजना गरेको क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा उहाँले नेपाललाई समृद्ध जनप्रतिनिधि सहितको राज्य स्थापित गराउन नेपाली कांग्रेसले सबैलाई एक ढिक्का भएर निर्वाचनमा आउन अपिल गरिरहेको बताउनुभयो ।

उहाँले संविधानको सफल कार्यान्वयन गर्दै सम्पूर्ण नेपालीलाई आत्म सम्मानसहित अधिकार सम्पन्न गराउनका लागि निर्वाचन अपरिहार्य भएकाले कसैले पनि कुनै बहानाबाजी निकालेर निर्वाचनमा भाग लिन्न भन्नु आफले आफैमाथि धोका दिनु बाहेक अरु केही सावित नहुने बताउनुभयो ।

संविधानका सफल कार्यान्वयन गर्दै तीनै तहको निर्वाचन सम्पन्न गरी देशको शासन जनताको हातमा गएपछि कसैले पनि परिवर्तित शासन प्रणालीमा भाँजो हाल्न र हल्लाउन नसक्ने अवस्थाको सिर्जना हुने भएकाले अब मधेसवादी दलहरुले पनि निर्वाचनमा जान्न भन्ने मुर्खता नगर्न आग्रह गर्नुभयो ।

@Ujyaaloonline

LEAVE A REPLY