पर्वत, असार ४ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसइईको नतिजा सार्वजनिक गरेको तीन दिन बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालय पर्वत अनविज्ञ छ ।नतिजा घोषणा भएको तीन दिन बितिसक्दा समेत कार्यालयले जिल्लाको यथार्थ विवरण दिन सकेको छैन । नतिजा सम्बन्धी बुझ्न खोज्दा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले परीक्षा फोकल पर्सन झकप्रसाद गौतमलाई जिम्मा दिएको बताउनुभयो । गौतमले भने विद्यालय निरीक्षक उद्दिमराज पौडेललाई संकलनको जिम्मा दिएर आफू उपचारका लागि अस्पतालमा रहेको बताउनुभयो ।

पौडेलले परीक्षा नियन्त्रक कार्यालयमा पटक पटक सम्पर्क गर्दा सम्बन्धीत व्यक्ति नभेटिएको र कम्प्युटर अधिकृतले कुनै प्रतिक्रिया नदिएको जानकारी दिनुभयो ।

नतिजा माग गरेपछि मात्रै इमेलमार्फत जिल्लाको रिजल्ट पठाउने व्यवस्था परीक्षा नियन्त्रण कार्यालयले गरेको हुँदा शुक्रबार माग गर्न नसकिएको र शनिबार अनुरोध गर्दा आइतबारसम्म पनि नतिजाको विवरण नआएको जिल्ला शिक्षा कार्यालय पर्वतका परीक्षा फोकल पर्सन गौतमले बताउनुभयो ।

विभिन्न विद्यालयहरुले आ–आफ्नै तवरबाट विद्यालयको नतिजा इन्टरनेट तथा अन्य प्रविधिमार्फत जानकारी पाएपनि जिल्ला शिक्षा कार्यालय पर्वत भने अनविज्ञ  रहेको छ । यसरी इन्टरनेट तथा अन्य प्रविधिबाट परिणाम थाहा पाएका विद्यालयहरु पनि जिल्ला शिक्षा कार्यालय पर्वतले आधिकारिक परिणाम नदिँदा दुविधामा परेका छन् ।

पर्वतका सामुदायिक तथा निजी विद्यालय मध्ये कुन विद्यालयबाट कति विद्यार्थीहरुले सर्वोत्कृष्ठ अंक ल्याए र जिल्लागत रुपमा अघिल्लो वर्षको तुलनामा यस वर्षको परिणाम कस्तो रहेको छ भन्ने बारे जिल्ला शिक्षा कार्यालय अहिलेसम्म जानकार छैन ।

पर्वतको वेबसाइटमा पाल्पाको विवरण

जिल्ला शिक्षा कार्यालय पर्वतको www.deoparbat.gov.np वेबसाइटमा कुनैपनि प्रकारका सामग्रीहरु अपडेट छैनन् । त्यसमा भएका केही सामग्रीहरु पनि जिल्ला शिक्षा कार्यालय पाल्पाका समावेश भएका छन् । तीन वर्ष अघि अर्थात २०१४ मा बनाइएको वेभसाइटमा अहिलेसम्म पर्वतका कुनैपनि सामग्रीहरु अपडेट नभएका हुन् ।  @ujyaaloonline

 

LEAVE A REPLY