काठमाडौं, वैशाख २२ l नेपाल  विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग एलइडी बल्ब किन्ने निर्णय सही भएको र यसबाट पिक आवरमा २०० मेगावाट बिजुली बचत गर्ने लक्ष्य रहेको बताएका छन्। शुक्रबार सेतोपाटीसँग कुरा गर्दै घिसिङले सरकारले भारतसँग दुई करोड एलइडी बल्ब किन्न गरेको निर्णयमा कहिँकतै पनि भ्रष्टाचारको सम्भावना नरहेको र आफूहरुले महिना दिन भित्र त्यस्ता बल्ब उपभोक्तालाई बेच्ने तयारी थालेको बताए। ‘यो एक वर्ष अघि नै दुई देशका उर्जासचिवस्तरीय बैठकमा उठेको कुरा हो, दुबै देशका सरकारी निकायले कारोबार गर्न लागेका हुन्’, घिसिङले भने, ‘नेपालको विद्युत प्राधिकरणजस्तै भारतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडले हामीलाई बल्ब दिन लागेको हो। यसमा कहाँनेर भ्रष्टाचार हुन्छ मलाई थाहा भएन।’ उनका अनुसारको  भारतको  इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड अहिले भारतभरि एलइडी बल्ब बाँडिरहेको छ।

बिजुली बचतका लागि  नेपालमा पनि त्यस्ता बल्ब सहयोगी हुने भएपछि आफूले उपभोक्तालाई दिने मूल्यमै भारतले नेपाललाई पनि दिन लागेको हो। अब आउने सुख्खा सिजनमा नेपालमा पिक आवरमा बिजुलीका अभाव हुने त्यसका लागि सुख्खा सिजन सुरु हुनुभन्दा अगाडि नै सबैतिर एलइडी बल्ब जडान गरिसक्ने गरी काम थालिएको उनले बताए। उनले सरकारले ठेक्का प्रक्रिया सुरु गर्दा पाँच/सात महिना त्यसैमा लाग्ने, कम खरिद गर्नुपर्ने भएकाले अहिले पाइरहेको मूल्यमा नपाइने र गुणस्तर पनि अहिलेको जस्तो नहुने हुँदा मन्त्रिपरिषद्बाट निर्णय गरेर प्राधिकरणले आफैं किन्न लागको बताए।

‘नेपाली बजारमा ९ वाटको एलइडी बल्बलाई साढे तीन सयदेखि चार सय रूपैयाँ पर्छ,’ घिसिङले भने, ‘हामीले भारू ६५ मा ल्याउन लागेका छौं, सबै कर जोड्दा पनि १३० रुपैयाँमा उपभोक्ताले एलएइडी बल्ब पाउँछन्।’ फिलिप्स र इन्स्टोन कम्पनी ती एलइडी बल्बले फिलामेन्ट बल्बभन्दा आधा कम बिजुली खपत गर्ने घिसिङले बताए। तीन वर्ष वारेन्टी हुने यी बल्बले विद्युत प्रणालीलाई  भरपर्दो बनाउन पनि सहयोग पुग्ने  घिसिङको तर्क छ। ‘सरकारले सैद्धान्तिक सहमति गरेको भन्ने सुनें, मकहाँ निर्णय आइपुगेको छैन,’ उनले भने, ‘स्वीकृति पाएको केही दिनमै भारतबाट बल्ब ल्याउन थाल्छौं, महिना दिनभित्र उपभोक्तालाई बेच्ने योजना छ।’

प्राधिकरणबाट बजार मूल्यभन्दा निकै सस्तोमा ग्राहकले एलइडी बल्ब पाउने भएकाले एउटै मान्छेले धेरै बल्ब किनेर बाहिर नबेचोस् भनेर सफ्टवेयर पनि बनाउन लागेको उनले जानकारी दिए। ‘हाम्रा देशभरका वितरण केन्द्रबाट बल्ब बेच्ने योजना छ’, घिसिङले भने, ‘एक ग्राहकलाई १० वटासम्म दिने हो, एउटा ठाउँ बल्ब लिएको रेकर्ड सफ्टवेयरमा आएपछि त्यही ग्राहकले अर्को वितरण केन्द्रबाट बल्ब किन्न पाउँदैन।’ उनले ग्राहकको बिजुलीको बिलमै मूल्य जोडेर बल्ब दिने विषयमा पनि छलफल भइरहेको बताए। ‘बल्ब बेच्ने मात्र भन्दा पनि यसलाई अभियान कै रुपमा लिनुपर्नेछ’, घिसिङले भने।

बिहिबारको मन्त्रिपरिषद् बैठकले भारतबाट २ करोड थान एलइडी बल्ब किन्ने निर्णय गरेको थियो। भारतको उर्जा मन्त्रालयले सन् २०१५ मा एलइडी बल्ब बेच्न सुरु गरेको थियो। मन्त्रालयअन्तर्गतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडले १२ राज्यमा अहिले एलइडी बल्ब बेचिरहेको छ।

@Setopati

LEAVE A REPLY