१० असार, बिराटनगर । दोस्रो चरणको मतदानको तिथि नजिकिनै लाग्दा १ नम्बर प्रदेशमा विभिन्न पार्टीका शीर्ष नेताहरुको ध्यान केन्द्रित भएको छ ।

विशेष गरी झापा, मोरङ र सुनसरीका ४४ वटा स्थानीय तहमा कसले आफ्नो पकड बलियो बनाउने भन्नेमा मुख्य दलका नेताहरुको होडबाजी सुरु भएको छ । एक नम्बर प्रदेशअन्तरगत तराईका यी ३ जिल्लामध्ये झापामा १५ वटा स्थानीय तह छन् भने मोरङमा १७ र सुनसरीमा १२ वटा स्थानीय तह छन् ।

यस प्रदेशमा एउटा महानगर र दुईवटा उपमहानगरसमेत भएकाले प्रमुख दलको प्रतिष्ठा जोडिएको छ । गृहजिल्ला झापामा चुनावी अभियान सकेर राजधानी फर्केका एमाले अध्यक्ष केपी ओली शनिबार मोरङमा विभिन्न सभालाई सम्वोधन गर्दैछन् ।

एमाले अध्यक्ष केपी ओलीले शनिबार मोरङको उर्लाबारी, बेलबारी र बिराटनगरका चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ भने सुनसरीको इटहरीमा पनि ओलीले सम्वोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी माओवादी नेता रामबहादुर थापा बादलले पनि मोरङ र सुनसरीका सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । प्रचण्ड पूर्व आउने भनिए पनि उसको साटो बादल आउन लागेका हुन् ।

माओवादी नेता रामहादुर थापा बादलले मोरङको बेलबारी र पथरी शनिश्चरे नगरपालिकाका चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी मोरङका अध्यक्ष गोपी अछामीले अनलाइनखबरलाई बताए ।

माओवादी नेता बादलले आजै धरान र त्यसपछि बिराटनगरका सभालाईसमेत सम्वोधन गर्ने अछामीले बताए ।

त्यसैगरी पूर्वी नेपालको चुनावी अभियानमा रहेका कांग्रेस नेता गगन थापाले आज दमकमा आयोजित चुनाबी सभालाई सम्वोधन गर्दैछन् । पूर्वमन्त्री थापा इलामबाट झापा झरेका हुन् । कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल बिराटनगरमा सक्रिय छन् । – onlinekhabar.com

LEAVE A REPLY