काठमाडौं, चैत २७ । दुई उपप्रधानमन्त्रीबीचको बरियता विवाद मिलाउन नसकेपछि झण्डै एक महिनादेखि बस्न नसकेको मन्त्रिपरिषद बैठक आज बस्ने तयारी गरिएको छ ।

उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कमल थापा दुबैले प्रधानमन्त्रीपछिको पहिलो बरियतामा आफै हुनुपर्ने दावी नछाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक नै राख्न सक्नु भएको थिएन ।

तर अहिले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि उपप्रधानमन्त्री निधिले वरीयता विवादमा लचिलो हुने संकेत गरेकाले आज मनित्रपरिषद बैठक बस्ने सम्भावना रहेको हो ।

निधि र थापाबीचको बरियता विवादले चैत ३ यता मन्त्रिपरिषद बैठक नै बस्न सकेको छैन । जसका कारण नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति, स्थानीय निर्वाचनसँग जोडिएका कतिपय निर्णयहरु हुन सकेका छैनन् ।

सभापति देउवाले स्थानीय तहको निर्वाचनको समय थोरै मात्र रहेका बेला बरियताको विवादमा नअल्झन भन्दै निधिलाई सम्झाउनु भएको बताइएको छ ।

निधि भारत भ्रमणमा रहेका बेला चैत ३ गते प्रधानमन्त्री दाहालले थापालाई मन्त्रिपरिषदको दोस्रो बरियतामा राखेपछि दुई उपप्रधानमन्त्रीबीच विवाद आएको थियो ।

निर्णय नसच्चाए राजीनामा दिने निधो गर्नुभएका निधिले प्रधानमन्त्री दाहाल र सभापति देउवासँगको भेटपछि भने विवाद सुल्झाउन तयार हुनुभएको दावी गरिएको छ ।

फागुन अन्तिम साता सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारलाई अल्पमतबाट जोगाउन राप्रपा अध्यक्ष थापालाई दोस्रो बरियता दिने शर्तमा सरकारमा लगिएको दावी थापाले गर्दै आएका छन् ।दाहाल र देउवा दुबैको बचनकै कारण सरकारमा गएको थापाले बताउँदै आएका छन् ।

@Imagekhabar

LEAVE A REPLY