काठमाडौं, वैशाख १८ l निर्वाचन आयोगले मंगलबार हुने उम्मेद्वारको मनोनयनले चुनावको वातावरण झनै बढ्ने जनाएको छ । मनोनयनको पूर्वसन्ध्यामा सोमबार पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कर्मचारीहरु मनोनयन दर्ताको लागि तयार भएर बसेकाले कसैले पनि प्रश्न उठाउनै नसक्नेगरी काम गर्ने बताउनुभयो ।

चुनावको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले चुनावको लागि सबै सामाग्री सबै जिल्लामा पुर्‍याइएको जानकारी दिनुभयो । आयोगका पुर्वनिर्धारित कार्यक्रम कुनै हालतमा पनि परिवर्तन नहुने भन्दै सबै राजनीतिक दललाई मंगलबारको मनोनयन नछुटाउन उहाँले आग्रह गर्नुभयो ।

मंगलबार मनोनयन दर्ता भएदेखि नै उम्मेद्वारलाई आचारसंहिता लागु हुने भएकाले सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो । चुनाव सम्पन्न गराउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका रहेकोले स्वतन्त्र ढंगले सूचना सम्प्रषण गर्न पनि प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गर्नुभयो ।

वैशाख ३१ गते हुने चुनावका लागि मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा मनोनयन दर्ता हुने छ ।

@Ujyaaloonline

LEAVE A REPLY