पोखरा, ९ मंसिर । पोखरामा उद्योग दिवस मनाइएको छ । पोखरा लेखनाथ महानगरपालिका उद्योग शाखाको आयोजना र पोखरा उद्योग वाणिज्य संघको सहआयोजनामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय स्थानीय सरकारमा समाहित भएपछि पोखरा लेखनाथ महानगरपालिका उद्योग शाखामा रुपान्तरण भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथी विश्वशंकर पालिखेले आयातमुखी नेपालको अर्थतन्त्र नै भन्सारमा निर्भर रहेकोले औद्योगिकीकरणमार्फत देशलाई आत्मनिर्भर बनाउनु पर्ने धारणा राख्नुभयो । उद्योग व्यवसायमा बृद्धि नहुँदा रोजगारीको लागि दैनिक २हजार नेपाली विदेशिएको प्रसङ्ग झिक्दै उहाँले अब नयाँ संभावना खोज्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले उद्योग स्थापना हुँदा खाली रहेको जग्गामा अहिले मानव बस्ती बढ्दै जाँदा उद्योगलाई नै हटाउने खोज्ने प्रवृत्ति बेठीक भएको तर्क गर्नुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ महानगरपालिका उद्योग विभाग शाखाका निमित्त प्रमुख कर अधिकृत महराज ढकालले उद्योग दर्ता गरेर बस्ने अनि ऋण चाहिँदा बैंकले दर्ता नविकरण मागेपछि कार्यालय आउनेहरु प्रवृत्तिमा सुधार हुनुपर्ने बताउनुभयो । उद्योग विभागमा दर्ता भएकामध्ये ९० प्रतिशतभन्दा बढी उद्योगहरुले नविकरणको समयमा अतिरिक्त शुल्क तिर्ने गरेको उहाँको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले पनि कर शिक्षाको अभावमा धेरै उद्योगी÷व्यवसायीहरुले जरिवाना तिर्नु परेको स्वीकार गर्नुभयो ।
‘अहिले हामीले करदातालाई आफ्नो करको आफै निर्धारण गर्ने, आफैले कर विवरण राख्ने र आफैले कर तिर्ने व्यवस्था गरेका छौँ’, उहाँले भन्नुभयो,‘तर पनि उद्योगी÷व्यवसायीहरुले समय र नीति नियमको ख्याल नराख्दा समस्या आएको हो ।’
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,महिला उद्यमी रामकली खड्का,उद्यमीहरु प्रकाश भट्टराई,बलराम गौतम,काशीमाया गुरुङ,महाप्रसाद सुवेदीलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY