पोखरा ७ असार । आदिवासी जनजाती महासंघ पोखरा लेखनाथ महानगरपालिकाले आयोजना गरेको उद्घोषण तालिमबाट एकैपटक साढे तीन सय जना भन्दा बढी प्रशिक्षित भएका छन् । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा गत जेठ २८ गतेदेखी असार ६ गतेसम्म भएको तालिममा ३ सय ६० जना आदिवासी जनजाति प्रशिक्षित भएका हुन् ।

तालिममा समावेश भई प्रशिक्षित भएकाहरुलाई बुधबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित सम्बन्धित वडाध्यक्ष तथा आदिवासी जनजाती महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीलगायतले प्रमाणपत्र वितरण गरे ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले तालिम उपलब्धीमूलक भएको बताउँदै यसलाई अब रोजगारीमा परिणत गर्न आग्रह गरे । उनले प्रशिक्षित मध्ये उद्घोषण कलालाई रोजगारीमा परिणत गर्नसक्ने क्षमता भएका छनौट गरेर उनीहरुलाई थप एड्भान्स तालिम गर्न आदिवासी जनजाती महासंघलाई सुझाव दिदै त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार रहेको बताए । प्रशिक्षार्थीको अनुभव सुनेपश्चात मन्तव्य दिएका उनले भने,‘२ दिने तालिमले के होला र ? भनेको त धेरै नै परिवर्तन पो हुँदो रहेछ, आदिवासी जनजाती बोल्दैनन्, बरु सहेर बस्छन् तर आफूलाई परेको समस्या खुलेर भन्न सक्दैनन् भन्ने छाप छ समाजमा, तर यो तालिम पछि त्यो आरोप चिर्न सफल हुनेमा म विश्वस्त छु ।’

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष शिवप्रसाद आचार्यले उद्घोषण तालिम, व्यक्तित्व विकास र नेतृत्व विकास सँगसँगै सीपमूलक तालिम पनि सिकाउनुपर्नेमा जोड दिए ।

वडा नम्बर २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले तालिम लिएका प्रशिक्षार्थी आफूलाई लागेका कुरा निर्धक्क भन्नसक्ने अवस्थामा पुगेकाले अब आगामी दिनमा जीवनस्तरमा पनि परिवर्तन आउनेमा आफू आशावादी रहेको बताए ।

आदिवासी जनजाती महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले तालिमले आदिवासी जनजातीका आवाज बुलन्द गर्न सघाउने विश्वास व्यक्त गरे । पोखरा लेखनाथ महानगरपालिका सामाजिक शाखा लेखनाथ प्रमुख मिना भट्टराई भण्डारीले तालिममा सहभागी प्रशिक्षार्थीहरुको बोलीमा आएको परिवर्तन देख्दा आफू निकै खुशी भएको बताउँदै तालिम फलदायी भएको बताईन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमका प्रशिक्षार्थीले गरेको प्रदर्शनबाट आफू निकै प्रभावित भएको बताउँदै यस्ता तालिम अझै धेरै ठाउँमा गर्नुपर्नेमा जोड दिए ।

साविक लेखनाथ नगरपालिकाका वडाहरुमा २ वटा वडालाई एउटा केन्द्र मानेर ९ फरक केन्द्रमा दुई दिने उद्घोषण तालिम गरिएको थियो । ९ दिनसम्म भएको तालिम भण्डारढीकमा दुईपटक, तालचोक, शिसुवा, जनताको चौतारा, गगनगौंडा, रिट्ठेपानी, सक्नेरी र ढुङ्गेपाटनमा गरिएको थियो । तालिममा रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र रेडियो अन्नपूर्णका बरिष्ठ कार्यक्रम प्रस्तोता सन्देश श्रेष्ठले सहजीकरण गरेका थिए ।

आदिवासी जनजाती महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषदका अध्यक्ष जंगबहादुरको गुरुङको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक घनश्याम पाण्डे, प्रशिक्षार्थी द्वय लक्ष्मी पुन, बुद्धिबहादुर गुरुङले बोलेका थिए भने कार्यक्रम सञ्चालन महासचिव शरदबाबु भुजेल तथा प्रशिक्षार्थी द्वय पूजा गुरुङ र मिनबहादुर गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई गुरुङ जातीको संस्कृति अनुसार भाङ्ग्रा लगाएर सम्मान गरिएको थियो भने प्रशिक्षक द्वय श्रेष्ठ र पाण्डेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

LEAVE A REPLY