काठमाडौं, बैशाख २१ l नेकपा एमालेले जेठ १५ अगाडि नै दोस्रो चरणको निर्वाचन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले आयोगलाई बिहीबार यो पत्र बुझाएको हो।

चार बुँदे पत्रमा पहिलो चरणको निर्वाचनको मतपरिणामा सार्वजनिक गरेर मात्रै दोस्रो चरणको निर्वाचनमा जानु उपयुक्त नहुने र एक महिनासम्म मतपेटिक राख्न पनि नमिल्ने भन्दै दोस्रो चरणको निर्वाचनका लागि जेठ ३१ उपयुक्त नहुने उल्लेख छ।

जेठ १५मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेकाले यसअघि नै मतदान हुनुपर्नेमा एमालेको जोड छ। चुनावका नाममा बजेट सार्ने वा बजेट पछि मतदान गर्ने दुवै विकल्प उपयुक्त नभएको उक्त पत्रमा उल्लेख छ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘दुई चरणको निर्वाचनका नाममा उल्लेखित संवैधानिक वाध्यात्मक व्यवस्थालाई देखाएर न त सरकारले संसद समक्ष नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतिलाई टार्न मिल्दछ,  न त बजेटका माध्यमबाट मतदातालाई प्रभावित गरेर  निर्वाचनको निष्पक्षतामाथि नै आँच पुर्‍याउन मिल्दछ। तसर्थ संविधानको उल्लेखित एवं प्रष्ट व्यवस्थालाई मध्यनजर गर्दै २०७४ साल जेष्ठ १५ गते अगावै निर्वाचन सम्पन्न गर्ने उपयुक्त व्यवस्थाका सन्दर्भमा नेपाल सरकारलाई स्पष्ट परामर्श गर्न आयोगको ध्यानाकर्षण गराउँदछौ।’

जेठ ३१मा मुस्लिम समुदायको  रमजान पर्व परेकाले पनि यो दिन मतदानका लगि अनुपयुक्त रहेको उल्लेख छ।

LEAVE A REPLY