डा. अजय रिसाल, मानसिक रोग विशेषज्ञ

‘आउनुहोस् ! ‘डिप्रेसन’को कुरा गरौं’, अचम्म लाग्यो होला, यहाँलाई । शान्ति, विकास, उत्साह–उमंग अनि खुशीयालीको कुरा नगरेर किन उदासीनता, दिक्दारी र ‘डिप्रेसन’को कुरा गर्न खोजेको भन्ने ठान्नु भयो होला । तर, यो शीर्षक कुनै मनगढन्ते कल्पना नभइकन सन् २०१७ का लागि विश्व स्वास्थ्य संगठनले तोकेको ‘विश्व स्वास्थ्य दिवस’को नारा हो । आज अप्रिल ७, ‘विश्व स्वास्थ्य दिवस’ । त्यसैले आजको दिन हामी पनि ‘डिप्रेसन’कै कुरा गरौं ।

सन् १९९० देखि २०१३ यताका विश्वव्यापी तथ्यांकहरुले ‘डिप्रेसन’ र ‘एङ्गजाइटी’ नामक दुई प्रमुख मानसिक समस्याहरु ५० प्रतिशत भन्दा बढी अनुपातले बढ्दै गरेको देखाएका छन् । जीवन असमर्थताको अनुपात हेर्दा  ‘डिप्रेसन’ अरु कुनै पनि शारीरिक या मानसिक रोगहरुमध्ये दोस्रो या तेस्रो नम्बरमा देखा परेको विश्वव्यापी अध्ययनहरुले दर्शाइरहेका छन् ।

हामीले हालसालै सम्पन्न गरेको नेपालव्यापी अध्ययनका परिणामहरु पनि तदनुरुप नै  छन् । ‘डिप्रेसन’ करीब १२ प्रतिशत १८ देखि ६५ वर्ष उमेर समूहका नेपाली वयस्कहरुमा देखिएको छ । अझै बढी डरलाग्दो तथ्यांकतर्फ मध्यनजर गर्दा ‘डिप्रेसन’ आत्महत्याको महत्वपूर्ण कारकतत्व हो, अनि आत्महत्या १५–२९ बर्षे युवाहरुको मृत्युको दोस्रो ठूलो कारण हो । यस्तो भयावह परिणाम भए तापनि ‘डिप्रेसन’लाई हुन नदिन या निको पार्न त्यत्ति गाह्रो भने छैन, मात्र त्यसको बारेमा कुराकानी गरी त्यसप्रतिको लोकलज्जा घटाउन सक्नु पर्दछ । त्यसैले रोगी, उसका परिवारजन, साथीसंगी, अन्य स्वास्थ्यकर्मी मात्र नभई स्कूल, कार्यस्थल अनि मिडियाकर्मी र फेसबुक–ट्वीटरजस्ता सामाजिक संजालमा कुराकानी बढाउनुपर्छ, चेतना जगाउनुपर्छ ।

प्रायःजसो युवा–किशोरवर्ग, गर्भवती अनि सुत्केरी आईमाई अनि ६० काटेका प्रौढजन ‘डिप्रेसन’को शिकार बन्ने खतरा बढी हुने र त्यसले परिणामहरु पनि भयावह बनाउने गर्दछ । सानै उमेरमा ‘डिप्रेसन’ हुँदा तिनको पेशा, परिवार र भविष्य सबै डामाडोल बन्नजाने, गर्भवती या पसूुती अवस्थामा रहेका महिलाहरुमा देखापर्ने ‘डिप्रेसन’ले गर्भमा रहेको या नवजात अवस्थाको शिशुको वृिद्व विकासमा असर पर्ने अनि प्रौढावस्थामा भएको ‘डिप्रेसन’ले मुटुरोग, मधुमेह जस्ता अन्य शारीरिक रोग या डिमेन्सिया जस्तो मस्तिष्कजन्य रोगको खतरा बढी हुने र तिनको निदान अनि उपचारमा पनि असजिलो बढी देखापर्ने गर्दछ ।

वास्तवमा गरीबी, बेरोजगारीजस्ता सामाजिक कारणहरु, जीवनमा आइपर्ने कठिनाइ÷तनाव जस्तैः नजिकका व्यक्तिको मृत्यु, बिछोड, व्यवसायमा देखापर्ने हानिनोक्सानी आदि पनि ‘डिप्रेसन’का कारकतत्व हुनसक्छन् । शारीरिक रोग, मद्यपान, लागूपदार्थ दुव्र्यसन आदिले पनि ‘डिप्रेसन’ हुने संभावना बढाउन सक्दछन् ।

यी सामाजिक–आर्थिक कारण बाहेक हाम्रोजस्तो मध्य तथा निम्नवर्गीय आयः भएको मुलुकमा यस्ता मानसिक समस्यालाई लुकाउने, यसको बारेमा कुरै गर्न अफ्ठ्यारो मान्ने, डाक्टरलाई भन्दा धामीझाँक्री, ज्योतिषी, ‘जान्ने’लाई यस्ता समस्या परेमा बढी विश्वास गर्ने कारणले गर्दा यस्ता रोगहरुको बढोत्तरी हुन पुगेको मान्न सकिन्छ ।

त्यसैले ‘डिप्रेसन’को बारेमा कुरा मात्रै गर्नु नै पनि हाम्रा लागि महत्वपूर्ण छ । त्यसैले हाम्रो सोचाइमा सुधार ल्याऔं । मनोस्वास्थ्यकर्मी या मनोचिकित्सकसँग परामर्श लिन अफ्ठ्यारो मान्ने समाजलाई परिवर्तन गरौं ।

ब्लडप्रेसर, चिनीरोग जस्तै ‘डिप्रेसन’ लाई पनि नियमित औषधिसेवन गरेर या स्वास्थ्यकर्मीहरुसँग निरन्तर सम्पर्कमा रहेर, पथपहरेज गरेर नियन्त्रणमा राख्न सकिन्छ । यही नै सकारात्मक या ‘पूर्ण स्वास्थ्य’ को लक्ष्य प्राप्त गर्ने दिशातिर लाग्ने प्रमुख एवं महत्वपूर्ण कडी हो ।

‘पूर्ण स्वास्थ्य’का लागि मानसिक स्वास्थ्य ठीक रहनुपर्दछ अनि त्यसका लागि ‘डिप्रेसन’ जस्ता मानसिक रोगहरुका बारेमा खुलस्त कुरा गर्ने वातावरण हामीले तयार गर्नुपर्दछ । अतः आउनुहोस् आजबाटै कुरा शुरु गरौं ‘डिप्रेसन’को बारेमा ।
मानसिक राेग विशेषज्ञ डा रिसाल काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालमा कार्यरत छन् ।

@swasthyakhabar

LEAVE A REPLY