पोखरा २१ वैशाख । बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको लागि मंगलवार उम्मेदवारी दिएकाहरु मध्ये उम्मेदवारी फिर्ता लिन चाहनेका लागि विहिवार दिउसो १ देखि ५ बजे सम्मको समय तोकिएको छ । उम्मेदवारी दिएका मध्येबाट फिर्ता लिनेका लागि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन तालिका अनुसार शुक्रवार विहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई शुक्रवारनै चुनाव चिन्ह प्रदान गरिनेछ । स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुले शुक्रवार विहान ११ देखि साझ ५ बजेसम्ममा निर्वाचन चिन्ह लिनुपर्नेछ । उम्मेदवारी दर्ताको क्रममा जो पहिले छन् उनीहरुलाई चुनाव चिन्ह रोज्ने मौका दिइने आयोगले जनाएको छ ।

कास्कीको पाँच स्थानीय तह अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा आठ सय ६५ जनाले उम्मेदवारी दर्ता गरेको छन् । दर्ता गरिएका नामबाट एक सय ६७ जनामात्रै निर्वाचित हुनेछन् ।

३३ वडामा वडाध्यक्षका लागि मात्रै दुई सय सात जनाको नाम दर्ता भएको छ। ३३ जना महिला सदस्य आवश्यक पर्ने महानगरमा एक सय ५९ जनाको दावेदारी छ भने ३३ जना दलित महिला सदस्यका लागि पनि एक सय ४४ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए। उनका अनुसार खुल्ला सदस्यमा दुई सय २६ जनाले दावेदारी प्रस्तुत गरेका छन्। दर्ता भएका नामबाट ६४ जनामात्रै खुल्ला सदस्य निर्वाचित हुनेछन्। यस्तै माछापुच्छ्रेमा एक सय ८९, रुपामा एक सय १२, मादीमा एक सय ६९ जना र अन्नपूर्णमा एक सय ९९ जनाले मनोनयन दर्ता गराएका थिए।

LEAVE A REPLY