५ भदौ, काठमाडौं । सरकारले आजबाट इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा सरकारी र कूटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएको हो ।

बाग्मती अञ्चलमा दर्ता भएका निजी सवारीधनीले पनि आफ्नो सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड जोड्न पाउनेछन् ।

विभागले तत्काल सरकारी सवारीलाई अनिवार्य गरेपनि निजी सवारीलाई अनिवार्य गरिसकेको छैन । तर, केही समयभित्रै क्यालेण्डर बनाएर इम्बोस्ड प्लेटलाई सबै सवारीमा अनिवार्य रुपमा लागू गर्दै लैजाने तयारी भइरहेको विभागका प्रवक्ता डा. टोकराज पाण्डले  बताए ।

सुरुवातमा काठमाडौंका निजीसहित सरकारी–संस्थान र कूटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरुलाई इम्बोस्ड प्रविधिमा रुपान्तरण गर्ने तयारी छ ।

‘हामी क्यालेण्डर बनाएर यसलाई क्रमशः अनिवार्य गर्दै लैजान्छौं’ प्रवक्ता पाण्डेले भनेबाग्मती अञ्चलमा दर्ता भएका निजी सवारीले पनि अहिले स्वेच्छिक रुपमा यसलाई जोड्न सक्छन् । हामी बाग्मती बाहिर पनि जति सक्दो छिटो यसको वितरण थाल्छौं ।’

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्न सबै तयारी सकाएको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण जोडेर छाप्ने कामको सबै तयारी गरिएको छ ।

यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । अब यसअनुसार ५ वर्षभित्र २५ लाख सवारीको इम्बोस्ड प्लेट यो कम्पनीले छापेर सरकारलाई दिनेछ ।

५ वर्षभित्र देशभरका सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य छ । आफ्नो सवारीमा इम्बोस्ड प्लेट जोड्न चाहनेले यातायात कार्यालयमा गएर आफ्नो सवारीको विवरण भर्नुपर्नेछ । @onlinekhabar.com

LEAVE A REPLY