काठमाडौं, वैशाख २१ – विगतका चुनावमा भन्दा अहिलको चुनावमा कम मात्रै निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दल, सञ्चारमाध्यम लगायतलाई फागुन १८ गतेदेखि आयोगले आचारसंहिता लागु गरेको थियो भने उम्मेद्वारलाई मनोनयन दर्ता गरेपछि मात्रै आचारसंहिता लागु भएकोमा अत्यन्तै थोरै उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

अहिलेसम्म आयोगमा ६७ वटा उजुरी दर्ता भएको र ती उजुरी पनि आचारसंहिताको गम्भिर उल्लंघन नभइ सामान्य घटना मात्रै भएको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकानी दिनुभयो । यो संख्या विगतका चुनावको भन्दा निकै कम भएको पनि उहाँले जानकारी दिनुभयो । आचारसंहिता पालना गर्नुपर्छ र उल्लंघन गरेर चुनावमा राम्रो छाप पर्दैन भन्ने धारणा दलहरुमा विकास भएकै कारण निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमि आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘आचारसंहिता उल्लंघन गरेर चुनाव जित्छु भन्दा पनि आचारसंहिता पालना गरेर चुनाव जित्छु भन्ने सोँच बढेकाले उल्लंघनका कम मात्रै उजुरु परेका छन् ।’

निर्वाचन आचार संहिता उल्लंघन गरेर चुनाव जितेको पाइएमा बदर हुने कानुनी व्यवस्था भएकाले पनि यसपटक दलहरु सचेत भएको आयोगको ठहर छ ।

अहिलेसम्म विभिन्न कामको अनुमतीको लागि आयोगलाई १४ सय ४२ वटा पत्र आएको र आधाजसोलाई सहमती दिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो । चुनावी क्रियाकलापको अध्ययन अनुसन्धान गर्दा पहिले भन्दा शान्त वातावरणमा चुनाव हुने लक्षण देखिएको आयोगले जनाएको छ ।

@ujyaaloonline

LEAVE A REPLY