काठमाडौं, कात्तिक २९ l ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण दुई वटा उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

एउटा उद्योगमा आंशिक क्षति भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक द्वारिका घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगोको भुङ्रो निभ्न भने बाँकी छ । आगलागी भएको ठाउँ र आगो के मा लागेको भन्ने कुरा थाहा पाउन नसक्दा निभाउन ढिलाई भएको उहाँले बताउनभुयो ।

प्लाष्टिकमा लागेको आगो र त्यसमा भएको केमिकलका कारण आगो निभाउन समस्या भएको उहाँले बताउनुभयो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको थियो । यस्तै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल प्रयोग भइरहेको त्यहाँ खटिएका प्रहरी निरीक्षक द्वारिका घिमिरेले जानकारी दिनुभयो ।

यस्तै आगो निभाउन नागरिक उड्डयन प्राधिकरणको पनि सहयोग लिइएको छ । निजी ट्याङरबाट पनि पानी ओसार्ने र छ्याप्ने काम भइरहेको उहाँले बताउनुभयो । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौको क्षति गरेको छ । आगो निभाउन १० भन्दा बढी दमकलको प्रयोग भएको पनि प्रहरीले जनाएको छ  ।

LEAVE A REPLY