पोखरा, चैत्र १७ l शान्तिदीप अभियानद्वारा संचालित मानवीय सहयोगमा रक्तदान गरौं भन्ने उद्देश्यले स्थापित आकस्मिक रक्तदाता समूह पोखराको आठौं वार्षिकोत्सव तथा स्वागत सम्मान सम्पन्न भएको छ । कार्यक्रममा ५० पटक भन्दा बढी रक्तदान गर्ने रक्तदाताहरु, दुर्लभ रक्त समूहलाई प्रोत्साहन सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा अग्रज रक्तदाताहरु इच्छामान बुद्धाचार्य, रविनसन प्रजु, बिक्रम उदास, लक्ष्मण गुरुङ्ग, जितेन्द्रमान शाक्य, कृष्ण थापा, महिला तर्फ प्रिया थापा, टिकादेवी देवकोटा, दुर्लभ रक्तदाता युवराज थापा, त्रिलोचन लामिछाने लगायतलाई ५० भन्दा बढी रक्तदान गरेवापत सम्मान गरिएको थियो ।
२०६६ मा स्थापना भएपश्चात १३१३ प्रिन्टस् ब्लड संकलन गरिएको समूहमा २९५ सदस्यमध्ये पुरुष २ सय ४२ र महिला ५३ जना रहेको र नियमित रुपमा रक्तदानको माध्यमले आकस्मिक सेवामा महत्वपूर्ण भूमिका खेलेको व्यवस्थापक हरिश्चन्द्र शर्माले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र समूहका सदस्य एवं स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समूहले गरेको मानवीय कार्यले पोखरालाई गौरब बढाएको बताए । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले समूह मार्फत मानवीय कार्यमा पु¥याएको योगदान महत्वपूर्ण रहेकोले आम पोखरेलीले सहयोग गर्नुपर्ने बताए ।
रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष बामदेव ढुङ्गानाले रक्त संचारमा रेडक्रसले खेलेको भूमिकामा थप सह्राहनीय कार्य समूहले गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा अग्रज रक्तदाताको तर्फबाट इच्छामान बुद्धाचार्यले २०४२ मा रक्तदान गर्दा सबैले गाली गर्ने गर्दा आफूले रक्तदानको आवश्यक र महत्व पर्चा मार्फत रक्तदान गर्न प्रेरणा दिएको बताए । अग्रज रक्तदाता कृष्ण थापाले २०५५ मा आफूले रक्तदान शुरु गर्दा डरको भावना रहेता पनि चेतनासँगै संघसंस्थाले गर्ने कार्यक्रमले रक्तदान गर्न प्रेरणा मिलेको र युवा पुस्ताले १८ वर्ष उमेरदेखि अनिवार्य रुपमा रक्तदान गर्नुपर्ने बताए ।
समूहका व्यवस्थापक हरिश्चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली सांस्कृतिक समूहका अध्यक्ष मेनकाजी गुरुङ्ग, रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष धर्मराज अधिकारी, शिक्षाविद् योगेन्द्र शर्मा दाहाल, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, अधिकारकर्मी लक्ष्मी पोखरेल, सहयोगी पशुपति श्रेष्ठ, अभियानका संयोजक सुरेन्द्र श्रेष्ठ, पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरि प्रसाद पाण्डे, जयराम अधिकारी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा आकस्मिक रक्तदाताहरुलाई पिन तथा परिचय कार्ड वितरण र सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY