धादिङ, साउन १८ l दार्खामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) वीरबहादुर गुरुङको हत्या आरोप लागेका उत्तरी धादिङको खनियाबास गाउँपालिका-४ कुरीका शान्तलाल भन्ने शुुशिल गुरुङले बुधबार आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजीयारको कार्यकक्षमा पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नका लागि नेपाली कांग्रेस सभापति रमेश धमला, पूर्व सांसद रामनाथ अधिकारी र सांसद दिलमान पाख्रिन जिल्ला प्रहरी कार्यालय पुग्नुभएको थियो । नेताहरुको रोहबरमा गुरुङले प्रहरीको अनुसन्धानमा सहयोग गर्न आत्मसमर्पण गरेको बताएका छन् ।

असइको हत्या आरोप लागेका गुरुङ भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)द्वारा संचालित बलियो घर कार्यक्रम अन्तरगत सामाजिक परिचालक पदमा कार्यरत साविकको मार्पाक गाविसमा कार्यरत थिए । गुरुङ घर गएको दिन सइको आरोपीको घरमै ढोकाको आग्लोले हानेर हत्या भएको थियो । घटनापछि फरार रहेको आरोपी गुरुङकी श्रीमती तारा थापामगरलाई प्रहरीले गएको आइतबार पक्राउ गरि हिरासतमा लिएको थियो ।

आरोपी गुरुङले आत्मसमर्पण गरेपछि प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजीयारले प्रहरीको अनुसन्धान कार्यमा सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो । गएको बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको लास शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

व्यक्तिगत मोबाइको कल डिटेल र घटनाप्रकृति तथा अनुसन्धानका आधारमा प्रहरीले थापामगर र शान्तलाल विरुद्ध मुद्दा दर्ता गरेको थियो । @Ujyaaloonline.com

LEAVE A REPLY