महोत्तरी, कात्तिक २९ । अवैध चाँदी र ‘हात्तीको पुच्छर’सहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा कैलाली, टीकापुर नगरपालिका–१ का विश्राज तिवारी र कालिकोट, तिलकनगर–९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित सिसमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार १०० सय थान हात्तीको पुच्छरजस्तो देखिने वस्तुसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ ।

चाँदी राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया र हात्तीको पुच्छरजस्तो देखिने वस्तु जिल्ला वन कार्यालय महोत्तरीमा बुझाउने तयारी गरिहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस

 

LEAVE A REPLY