पर्वत, चैत २५ – झण्डै १३ बर्ष पहिले कर्तव्य ज्यान मुद्धामा दोषि ठहर भई जन्म कैद सजाय सुनाइएकासँग नक्कली नेपाली नागरिकता भएको पाइएको छ । पर्वतको विहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापाले सजायबाट जोगिनका लागि अदालतले सजाय सुनाएपछि जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेश गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो ।

२९ वर्षे लिटल थापालाई २०६० जेठ ४ गते बेउलीबासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७ माघ १ गते जन्म कैद सजाय सुनाएको थियो । त्यही बर्ष नै थापाले नक्कली नाम प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट मानसिंङ थापाको नाममा नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानबाट पाइएको हो ।

इलाका प्रहरी कार्यालय हुवासले थापालाई सुराकीका आधारमा १३ वर्षपछि पक्राउ गरेर पर्वत जिल्ला अदालतमा बुझाएको छ । इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको विशेष टोलिले गत बुधबार विशेष सुराकीको आधारमा प्रक्राउ गरी पर्वत जिल्ला अदालतमा पेश गरेको हो ।

आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका थापालाई प्रहरीले अदालतमा बुझाई अदालतद्वारा पर्वत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।

अभियुक्त थापासहित वेउलिवास गाविस–३ बस्ने दिल प्रताप सेन, लक्ष्मण सेन, राम बहादुर पुलामी, रेशम बहादुर थापा, दिप सानु थापा र लिटल थापा समेत ६ जनालाई अदालतले जन्मकैदको फैसला गरेको थियो । भलिवल खेलको हारजितको सामान्य विषयलाई लिई धारिलो हतियार हान्दा बेउलीबासका रोशन रानाको ज्यान गएको थियो ।

@ujyaaloOnline

LEAVE A REPLY