यस वर्ष सबैभन्दा बढी प्रतिक्षामा रहेको फिल्म हो, ‘कृ’ । युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहेका कारण पनि ‘कृ’लाई प्रतिक्षीत फिल्मको रुपमा हेरिएको छ । फ्लोरमा जानुअघि भाद्र १६, छायांकनको बखत भाद्र ८ र फस्ट लुक पोस्टर सार्वजनिक गर्दा कात्तिक ३ गतेलाई फिल्म ‘कृ’को रिलिज मिति घोषणा गरिएको थियो । तर, यी तीनै मितिबाट फिल्मको रिलिज पोस्टपोन्ड भयो ।
करीब २ वर्षपछि अनमोल फिल्म ‘कृ’मार्फत पर्दामा कमब्याक गर्न लागेका कारण पनि युवा पुस्तामाझ यो फिल्मको प्रतिक्षा खुबै छ । फिल्मको फस्ट लुक पोष्टरमा देखिएको अनमोलको नयाँ लुक्सले पनि ‘कृ’प्रति दर्शकको उत्सुकता बढ्दै गएको छ । फस्ट लुक पोष्टरबाहेक फिल्मको अन्य कुनैपनि प्रचार सामाग्री सार्वजनिक भएका छैनन् । बारम्बार छायांकन लम्बिएको कारण देखाउँदै निर्माण पक्षले तीनपटक फिल्मको प्रदर्शन मिति फेरबदल गरिसकेको छ ।
कात्तिक ३ गतेबाट पनि रिलिज पोस्टपोन्ड भएपछि अब फिल्म कहिले प्रदर्शन हुन्छ भन्ने अन्योलमा छ । अझै फिल्मको छायांकन बाँकी रहेका कारण माघ र फागुनको बीचमा ‘कृ’ प्रदर्शन हुन सक्ने स्रोत बताउँछ । लामो समयदेखि अनमोलका फ्यान यो जान्न लालहित छन् कि ‘कृ’ रिलिज कहिले हुन्छ ? ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’बाट गज्जबको फ्यान फलोइंग बनाएका अनमोलले २० लाख पारिश्रमिक लिएर ‘कृ’ साइन गरेका हुन् ।
सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृ’लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् भने सह-निर्माताको रुपमा श्री पराजुली छन् । ‘कृ’मा अनमोलका अलावा नव-नायिका आदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् ।  – Filmykhabar.com 

LEAVE A REPLY