पोखरा, १७ भदौ l पोखरेली विशेष साहित्यिक अभियान अक्षरयात्राका यात्री लोककवि अलिमियाको सम्झना गरेका छन् । अक्षरयात्राको १ सय २५ औं शृंखला अलिमियाको गाउँ मियापाटनमा लोककविको सम्झाना गरेका हुन् । महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा हुँदै आएको अक्षरयात्राको भदौको शृंखला बकर इदको समेत अवसर पारेर अलिमियाको गाउँमा भएको सन्ध्याले जनाएको छ ।
‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नाराका साथ गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियानको अलिमियाको गाउँ पोखरा वडा नम्बर १३ कुँडहर मियापाटन तथा अरण्यज्योति पुस्ताकालयको प्रांगणमा भएको हो । मियापाटन पुगेका अक्षरयात्रीले रचनामार्फत अलिमियाको सम्झना, देशको समसामयिक विषयवस्तु र प्रमिल रचनामात्रै सुनाएनन्, बकर इदको शुभकामना साटासाटसमेत गरेका छन् ।
‘गएको अक्षरयात्रा हामीले म्याग्दीको गलेश्वरमा गरेका थियौं । यो शृंखलामा अलिमियाको गाउँमा गरेका छौं,’ गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘बकर इदको अवसरसमेत पारेर लोककवि अलिमियाको सम्मान तथा सम्झना गर्दै कार्यक्रम गरेका हौं ।’
लोककवि अलिमिया वाङ्मय प्रतिष्ठानको सहकार्यमा भएको अक्षरयात्रामा लोकगायिका हरिदेवी कोइरालाले अलिमियाको सम्मानमा कोरेको गीत सुनाइन् । कोइरालाले अलिमियाले लेखेको र आफैंले गाएको ‘आकासमा बादलु टम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ गीत गाएर अलिमियाको सम्झना गरिन् ।
स्थानीय समन्वय गर्ने संस्थाका तर्फबाट अध्यक्षता गरेका अलिमिया वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले कार्यक्रममा स्वागत गर्दै अक्षरयात्राले अलिमियाको सम्मान र सम्झानामा सघाउ पु¥याएको बताए । अरण्यज्योति पुस्ताकालयका अध्यक्षम राजेन्द्र भण्डारीले यस्ता साहित्यिक अभियानले कला संस्कृतिको सम्मान तथा जर्गेना र तदस्थानीय सिर्जनाले स्थानीय मौलिकता झल्काउने र उजागर गर्ने बताउँदै शुभकामना दिए । अक्षरयात्रीले सिर्जनामा कुँडहर फाँट, मियापाटनका चौतारा र लोककवि अलिमियाले गाउने गीतलाई समेटेका थिए भने कला, साहित्य, संगीत र संस्कृतिको मौलिकतालाई जोगाउन आह्वानसमेत गरेका थिए ।
साहित्यिक पर्यटनको अवधारणालाई समेत आत्मसात गर्दै हुँदै आएको अक्षरयात्राको यो शृंखलामा झन्डै ३० जनाले रचना वाचन गरेका थिए । यो अक्षरयात्रामा डा. वसन्त गौतम, तुृलसी प्रभास, खिम लामिछाने, शिवराज गौतम, धर्मराज पौडेल, सञ्जीव पौडेल, प्राञ्जल, त्रुपक, सरस्वती श्रेष्ठ सरु, रिता अधिकारी, सविता सापकोटा, मिर्मिसा पराजुली, माया कुँवर, गीता पहारी, प्रकाश पौडेल ‘शिरिष’, दीपक त्रिपाठी, विकास मगर, ऐशान अलि, मोहन भण्डारी, प्रकाश अचार्य लगायतले रचना वाचन गरेका थिए ।
सन्ध्याका अध्यक्ष सुवेदी र वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वसन्त विनोदले गरेका थिए ।

LEAVE A REPLY