top menu Home Sitemap Our Team

खेलकूद

पर्वतमा पनि बञ्जीजम्प सुरु गरिने

पोखराखबर डट कम समाचारदाता
पर्वत, ८ साउन ।

पर्यटन वर्ष २०११ लाई लक्षित गदै मुलुककै अग्लो झोलुङ्गे पुलमा बञ्जीजम्प निर्माणको तयारी सुरु गरिएको छ ।  सदरमुकाम कुश्माबजार र छिमेकी गाविस कटुवाचौपारी जोड्ने गरी मोदीखोलामा निर्माण गरिएको उक्त पुलमा बञ्जीजम्पको सम्भाव्यता अध्ययन गरी तयारी सुरु गरिएको हो ।
एकसय ३५ मिटर अग्लो र ३४४ मिटर लामो पुलमा बञ्जीजम्प सञ्चालनका लागि जिल्ला परिषद्बाट पारित गरिएपछि निर्माणका लागि तयारी थालिएको हो । चार महिनाअघि पर्यटन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराई र भोटेकोशी बञ्जीजम्पका लागानीकर्ता विष्णु न्यौपानेसहितको टोलीले स्थलगत अध्ययन गरी पुलमा बञ्जीजम्प सञ्चालन गर्न उपयुक्त रहेको ठहर गरेका थिए ।
एक वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ बञ्जीजम्प निर्माणको तयारीमा लागिपरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो ।
जिल्ला विकास समितिको सहयोगमा बञ्जीजम्प निर्माणबारे स्थानीय राजनीतिक दलसँग छलफल गरी साउनभित्र उद्योगी, व्यवसायी, सञ्चारकर्मी, पुल निर्माण समितिका सदस्यहरु र जिल्ला विकास समितिका प्रतिनिधिसहितको टोली सिन्धुपाल्चोकको भोटेकोशीमा सञ्चालित बञ्जीजम्पको अबलोकनका लागि जाने तयारी भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
बञ्जीजम्प सञ्चालनमा आएपछि जिल्लाको पर्यटन विकासमा ठूलो योगदान पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।



अन्य समाचारहरु