Investigative, Accurate, News Portal
गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखराका कर्मचारीहरु अनियमितता गर्न पछि हट्दैनन् भन्ने तथ्य एक पटक फेरि उजागर भएको छ । पटक-पटक एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल यातायात मजदूर संघले सचेत गराउँदा-गराउँदै र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहँदा पनि सो कार्यालयका कर्मचारीहरु नसुधि्रएर केही ड्राइभिङ इन्ष्टिच्यूटहरुसँग मिली आर्थिक लेनदेनमा संलग्न रहेको खुलासा भएको छ । गएको हप्ता मात्र सो कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतहरुले आई भएका व्यापक अनियमितता भ्रष्ट्राचार र राजश्व छलीको बारेमा सोधपुछ गरेको थियो । तर अख्तियारको छानविन टोली काठमाडौं नपुग्दै सो कार्यालयका कर्मचारीहरुले ड्राइभिङ व्यवसायीहरुसँग आर्थिक लेनदेनको सहमति गरी सवारीचालक अनुमतिपत्र वितरण गर्ने तयारी गरेको तथ्य फेला परेको छ ।
एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल यातायात मजदूर संघ जिल्ला समिति कास्कीका मजदूरहरुले पश्चिमााचल क्षेत्रीय ड्राइभिङ प्रशिक्षण एशोसिएसन पोखराको नयाँबजारस्थित कार्यालयमा छापा मार्दा गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखराका आधिकारिक कागजपत्रहरु फेला पारेका छन् । गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखरामा रहनुपर्ने ४९ थान सवारीचालक अनुमतिपत्रका आवेदन फारामहरुमा एशोसिएसनको कार्यालयमा फेला परेका छन् । फेला परेका केही फारामहरुमा सो कार्यालयका अधिकृतको सही छाप रहेका छन् जुन कागजपत्र गण्डकी अचल यातायात व्यवस्था कार्यालय पोखरामा रहनुपर्ने थियो ।
मजदूरहरुले छापा मार्ने क्रममा फेला पारेका फारामहरुमा निरोगिताको प्रमाणपत्रमा डा। तारा कोइरालाको कीर्ते सही समेत भेटिएको छ भने सवारीचालक अनुमतिपत्र प्राप्त गर्नका लागि लाग्ने दस्तुरहरु दाखिला गरेपछि मात्र आवेदकलाई दर्ता नम्बर दिनुपर्नेमा सो नगरी राजश्व दाखिला नगरीकनै दर्ता नं। दिएको फेला परेको छ ।
सवारीचालक अनुमतिपत्र लिन चाहने आवेदकले सम्बन्धित अधिकारीसमक्ष आफैं उपस्थित भएर फाराम भरी निरोगिताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने र सो आवेदन फाराम यातायात व्यवस्था कार्यालयले सुरक्षित साथ राख्नुपर्ने सवारी ऐन र नियमावलीमा उल्लेख छ । तर गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखरामा दर्ता भएका सवारीचालक अनुमतिपत्रका आवेदनहरु ड्राइभिङ एशोसिएसनको नयाँबजारस्थित कार्यालयबाट बरामद भएका छन् । बरामद गरिएका पत्रहरुमध्ये विगतमा भएको सहमति वमोजिम गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखरालाई ड्राइभिङ इन्ष्टिच्यूटहरुले दिनुपर्ने रकमको सूची पनि फेला परेको छ ।
यातायातका हाकिम धुरुधुरु रोए
ड्राइभिङ वयवसायीहरुसँग सहमति गरेर सवारीचालक अनुमतिपत्रको लागि दिइने आवेदन फाराम एशोसिएसनमा नै दर्ता गर्ने व्यवस्था गरेका गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखराका कार्यालय प्रमुख कुमारप्रसाद दाहाल यतिबेला धुरुधुरु राएका छन् । आफूहरुले ड्राइभिङ इन्ष्टिच्यूटहरुसँग गरेको सहमति एकघण्टा नहुँदै कसरी सार्वजनिक भयो भन्दै कार्यालय प्रमुख दाहालले ड्राइभिङ व्यवसायीहरुसँग गुनासो गर्दै रुने गरेको व्यवसायीहरुले बताएका छन् । यसभन्दा अघि पनि गएको बैशाख १६ गते राती सोही संगठनले गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखरामा छापा मारी अनियमित तरीकाले दर्ता हुँदै गरेका सवारीचालक अनुमतिपत्रका आवेदन फारामहरु समातेर आवशयक कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीलाई बुझाएको थियो । सोही विषयमा यातायात व्यवस्था विभागले कार्यालय प्रमुख दाहाललाई अब आइन्तदा त्यस्तो नगर्न भन्दै कडा चेतावनी पत्र थमाएको थियो ।
कार्यालय प्रमुख दाहाल र ड्राइभिङ व्यवसायीबीच कस्तो थियो त आजको सहमति
एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल यातायात मजदूर संघका मजदूरहरुले छापा मार्नुभन्दा एकघण्टा अघि मात्र ड्राइभिङ व्यवसायीहरुसँग आफ्नो सहमति भएको कार्यालय प्रमुख दाहालले बताउने गरेका छन् । एशोसिएसन अन्तरगत रहेका प्रत्येक ड्राइभिङका दुईदेखि तीन जना प्रशिक्षार्थीहरुलाई प्रत्येक दिन उत्तीर्ण गराउने सहमति भएको थियो । सो सहमति भईसक्दा भने रकम के कति रकम लिनेदिने भनेर सहमति भएको थिएन । गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखराकातर्फबाट विगतमा भएको सहमति वमोजिम मोटरसाइकल तथा स्कूटरको सात सय र हल्का सवारी अन्तरगत पर्ने कार जीप र डेलिभरी भ्यानको एकहजार रुपियाँ प्रति प्रशिक्षार्थी हुनुपर्ने अडान राखिएको थियो भने ड्राइभिङ व्यवसायीहरुले मोटरसाइकल तथा स्कुटरको पाँचसय रुपियाँ र हल्का सवारी साधनको सातसय रुपियाँ प्रति प्रशिक्षार्थी दिने प्रस्ताव भएको थियो । यातायात कार्यालय र ड्राइभिङ व्यवसायीबीच आगामी दिनहरुमा आर्थिक लेनदेन गर्न आ-आफ्नो प्रस्ताव रकम अगाडि सारिएपनि सहमति भए नभएको खुल्न बाँकी नै छ । तर विगतमा चितवनमा भएको सहमति वमोजिम गएको साउन ३० गते लिखित परीक्षामा अनुत्तीर्ण भएका प्रशिक्षार्थीहरुलाई फेरि फाराम भराई पूर्ण रुपमा उत्रीर्ण गराउने सहमति भएको बुझिएको छ । यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार गएको साउन ३० गते ट्राफिक प्रहरीले शीलबन्दी गरी कडाईकासाथ उत्तरपुस्तिका जाँचेपछि फेल भएका प्रशिक्षार्थीहरुलाई सोही प्रवेशपत्रमा अर्को दर्ता नम्बर दिएर भदौ २ गते फेरि लिखित परीक्षा दिएर उत्तीर्ण गराउने सहमति पनि भएको बताइएको छ ।
याताायातका कर्मचारीहरुसँग हात मिलाएर फर्के अख्तियारका अधिकृतहरु
विभिन्न साचार माध्यमहरुले गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखरामा व्यापक रुपमा अनियमितता भ्रष्ट्राचार र राजश्व छली हुने गरेको समाचार प्रकाशन तथा प्रशासरण गरेपछि आवश्यक छानविनका लागि गण्डकी अाचल यातायात व्यवस्था कार्यालय पोखरा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतहरु यातायात व्यवस्था कार्यालय पोखराका कर्मचारीहरुसँग हात मिलाएर फर्किएको समाचारस्रोतको दाबी छ । छानविनका लागि आएका अनुसन्धान अधिकृतहरु कार्यालय प्रमुख कुमारप्रसाद दाहालका साथीहरु भएकाकारण कार्यालय प्रमुखकै मोलाहिजामा सामान्य छानविन गरी काठमाडौं फर्किएको बताइएको छ । सो अख्तियार टोलीले लगतकट्टा भएरपनि चालू अवस्थामा रहेको र राजश्व छली भएको भनिएको ग१ज ५८३ नं को ट्याक्सी तथा सवारीचालक अनुमतिपत्र वितरण शाखामा रहेका केही कागजपत्रहरु मगाएर हेरी केही नगरिकनै फर्किएको कर्मचारीवृत्तमा चर्चाको विषय बनेको छ ।
अख्तियारको छानविनटोलीलाई मोहजालमा पार्न सफल भएका यातायातका कर्मचारीहरुले तत्काल अख्तियारको टेालीले सो कार्यालयमा छापा मार्न नसक्ने भएकाकारण हौसिएर यस्तो आर्थिक लेनदेनको सहमति गरेको भनाई बाहिर आएको छ ।