Investigative, Accurate, News Portal
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थितिको विवरण आइतबार सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्म विस्तृत मुद्राप्रदाय ८ दशमलव २ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय २१.१ प्रतिशतले बढेको थियो ।
कूल आन्तरिक कर्जा भने १२ दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १७ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकिङ क्षेत्रको नेपाल सरकारमाथिको खुद दावीमा कमी आउनाका साथै निजी क्षेत्रतर्फको कर्जा वृद्धिदरमा आएको कमीले गर्दा आन्तरिक कर्जा न्यून दरले बढेको बैंकले जनाएको छ ।
सो अवधिमा वाणिज्य बैंकको वित्त कम्पनी, बचत तथा ऋण सहकारी संस्था, पेन्सन फन्ड तथा बिमा कम्पनीतर्फको लगानीमा कमी आएकाले गैर-सरकारी वित्तीय संस्थातर्फको दावी १२ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा उक्त क्षेत्रतर्फको दावी ३८ दशमलव ८ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष ०६६/६७ को एघार महिनासम्ममा सरकारी ऋणपत्रको खुला बजार कारोवारबाट रू. १ सय १४ अर्ब ५ करोडको खुद तरलता प्रवाह भएको छ ।
गत जेठ महिनामा ९१- दिने टे्रजरी विल्सको भारित औसत व्याजदर ६.७७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको यसै समयमा उक्त व्याजदर ६ प्रतिशत रहेको थियो ।
यस अवधिमा वाषिर्क उपभोक्ता मुद्रास्फीति ९.६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो मुद्रास्फीति १२.३ प्रतिशत रहेको थियो । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क ११.३ प्रतिशतको उच्च दरले वृद्धि भएता पनि गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क ७.३ प्रतिशतले मात्र वृद्धि भएका कारण समग्र उपभोक्ता मुद्रास्फीति दर अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा केही कम रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा यी समूहको मूल्य सूचकाङ्कको वृद्धि क्रमशः १९.० प्रतिशत र ५.१ प्ा्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्म सरकारको राजस्व परिचालन २६.७ प्रतिशतले बढी रु. १५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो राजस्व परिचालन ३४.४ प्रतिशतले वृद्धि भई रु. १२१ अर्व २३ करोड पुगेको थियो । “कर सहभागिता बर्ष २०६६/६७” को कार्यान्वयनको प्रभाव, स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि, कर स्वयंसेवकको परिचालन, आयात वृद्धि, कर चुहावट नियन्त्रण एवं राजस्व प्रशासनमा भएको समग्र सुधारका कारण राजस्व परिचालनमा वृद्धि भएको हो ।
यसैगरी, सरकारलाई वैदेशिक नगद ऋण बापत रु.३ अर्ब ८३ करोड र वैदेशिक नगद अनुदान बापत रु. २१ अर्ब ८० करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ती शीर्षकमा क्रमशः रु. ३ अर्व ५० करोड र रु.२० अर्व ७१ करोड प्राप्त भएको थियो ।
बाहृय क्षेत्र वैदेशिक व्यापार आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्ममा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.८ प्रतिशतले घटी रु. ५५ अर्ब ३७ करोड रहन गएको छ ।
चालु आर्थिक वर्षको सुरुदेखि नै क्रमशः घट्दै गई २०६६ चैत्र मसान्तमा यस वर्षकै न्यून रु. २३५ अर्ब ७५ करोडमा झरेको कुल विदेशी विनिमय सञ्चितिमा वैशाख महिनादेखि भने क्रमशः सुधार देखिएको छ । गत जेठ मसान्तमा यस्तो सञ्चिति रु. २४७ अर्ब ४२ करोड पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य गत जेठ मसान्तको प्रति व्यारल अमेरिकी डलर ७०.४५ को तुलनामा जेठ मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई प्रति व्यारल अमेरिकी डलर ७५.१५ पुगेको छ । त्यसैगरी सुनको मूल्य गत जेठ मसान्तको प्रति आउन्स अमेरिकी डलर ९३७.२५ को तुलनामा जेठ मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १२२३.७५ पुगेको छ ।